Comments Add Comment

फिल्म समीक्षाः मैदानबाहिर बहकिएको ‘क्याप्टेन’

शिव मुखिया

९० मिनेटको फुटबल खेल र औसत दुई घण्टाको फिल्मबीच थुप्रै समानता हुन्छन् । द्वन्द्व हुन्छ, रोमाञ्चकता हुन्छ, उत्कर्ष हुन्छ दुबैमा ।

फुटबलको जादु, जसले रमितेलाई क्षणमै रोमाञ्चित बनाउँछ, क्षणमै बिस्मित तुल्याउँछ । क्षणमै उमंगित बनाउँछ, फेरी क्षणमै हतास पनि । यही कारण त प्याराफिटमा कोही पनि शान्तसँग, धैर्यतापूर्वक बस्न सक्दैनन् । भावनात्मक उथलपुथलले उनीहरुलाई कहिले ताली पड्काउन उक्साउँछ त, कहिले विस्मयको सुस्केरा हाल्न वाध्य पार्छ ।

अब फिल्म र फुटबललाई एउटै प्लेटर्फममा उभ्याइयो भने के होला ?

यसको अनुमानित जवाफ हो, दर्शकले मनोरञ्जनको डबल डोज पाउनेछन् । यद्यपि, फिल्म एक नाटकिय प्रारुप हो । यसलाई स्वभाविक, पत्यारिलो एवं प्राकृतिक बनाएपछि मात्र दर्शक र पर्दाबीच दुरी घट्छ । तब, पर्दाको सप्तरंगी दृश्यसँग दर्शकको आँखा समाहित हुन्छ । यदि त्यसो भइदिएन भने पर्दामा चलायमान दृश्यहरु फगत नौटंकी लाग्न थाल्छ ।

अब लागौं, ‘क्याप्टेन’तर्फ । अनमोल केसी स्टारर यो फिल्म शुक्रवारदेखि प्रदर्शनमा आएको छ । निसन्देह, फिल्मको मूलकथा फुटबल हो ।

नेपालमा फुटबल नखेलेका तन्नेरी पुस्ता कमै होलान् । गाउँदेखि शहरसम्म, रंगशालादेखि गल्लीसम्म फुटबलको विछट्टै क्रेज छ । यही क्रेजलाई प्यारापिटबाट सिनेमा हलको कुर्सीसम्म किन नतान्ने ? यसै पनि स्पोर्टस् जनराको फिल्म हामीकहाँ दुर्लभ छ । त्यसैले नेपालको सन्दर्भमा ‘क्याप्टेन’ लाई नयाँ प्रयोग मान्न सकिन्छ । निर्माता भुवन केसी र निर्देशक दिवाकर भट्टराईले नयाँ क्षेत्रमा दाउ लगाएका जोखिम मोलेका छन् । यसमा उनीहरु कति सफल छन् त ?

कस्तो छ कथा ?

एक पिता (सरोज खनाल)को अधकल्चो सपना छ, देशको झन्डा ओडेर फुटबल मैदानमा भिड्ने । तर, उनको जीवनमा यो आकांक्षा पुरा हुने छाँट छैन । अन्ततः उनी आफ्नो सपना किशोर छोरोको थाप्लोमा बोकाएर  विदेशिन्छन् ।

छोरो इशान खड्का (अनमोल केसी) हुर्कदैछन् र रैथाने फुटबल मैदानमा जादुयी खेल देखाउन माहिर हुँदैछन् । फुटबलप्रतिको रुची, लगाव, मेहनत र अभ्यास हेर्दा उनका पाइतालाले सफल फुटबल बन्ने दौड सुरु गरिसकेको छ । स्थानिय प्रतियोगिताहरुबाट अपराजित यात्रा गर्दै उनी अघि बढ्दैछन् । तर, यो बेतोडको दौडमा त्यसबेला ठेस लाग्छ, जब वैदेशिक रोजगारीमा गएका पिता अशक्त बनेर र्फकन्छन् ।

अब घरका एकमात्र सन्तान इशानको थाप्लोमा ‘सफल फुटबलर बन्ने’ सपनाले भन्दा पारिवारिक दायित्व बोक्ने जिम्मेवारीले थिच्न थाल्छ । उनी फुटबल मैदान छाडेर रोजगारी खोज्नतर्फ लाग्छन् ।

यहाँसम्म आइपुग्दा इशानलाई गाउँकै दौतरी श्रेय (उपासना सिंह ठकुरी)ले साथ र सहयोग गरेकी छिन् । आमाबुवाले खोजिदिएका धनाढ्य एनआरएन केटा छाडेर उनी इशानको सामिप्य चाहिरहेकी छिन् ।

कहिले सिमेन्टको भारी बोक्ने, कहिले शहरका भित्तामा पोस्टर टाँस्दै हिँड्ने, कहिले खुइलिएको भित्तामा रंग लगाउँदै हिँड्ने इशान संयोगले एक फुटबल क्लबका प्रशिक्षक (प्रशान्त ताम्राकार)को नजरमा पर्छन् । उनको यात्रा पुन फुटबल मैदानतर्फ मोडिन्छ । उनी क्लब स्तरिय फुटबलमा पनि उस्तै जादु देखाउन थाल्छन् । उनी विज्ञापनमा मोडलिङ गर्छन्, पैसा आर्जन गर्छन् । यता थलिएका पिता तंग्रिन थाल्छन् । उनकी हितैषी श्रेय नर्स बनेर इशानकै पिताको स्याहारसुसारमा लागेकी छिन् । सबै कुरा ठिकठाक हुन थाल्छ । तर, खुसी र सफलताको यो ग्राफ इशानको जीवनमा फेरि धरमर हुन्छ ।

किनभने उनको जीवनमा अरु दुई पात्र थपिन्छन् । प्रेमीको रुपमा चारु (प्रियंका एमभी) र दुश्मनको रुपमा अमित श्रेष्ठ । इशानसँग अब फुटबलर बनेर रोगी पिताको ओंठमा मुस्कान फर्काउने भावनात्मक दबाब मात्र छैन, प्रेम र दुश्मनको युद्ध पनि जित्नुछ । यो मोडबाट उनी कसरी अगाडि बढ्छन् ? त्यो जान्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।

के छ हेर्नलायक ?

भुवन नेपाली फिल्मका पुराना खेलाडी हुन् । अहिले नेपाली फिल्म उद्योगका स्ट्राइकर चाहिँ उनका छोरा अनमोल हुन् । यी बाबुछोराले यसअघि ‘डि्रम्स’ मा सफल सहकार्य गरेका थिए । त्यसैले क्याप्टेनबाट पनि दर्शकले ठूलै आशा राखेका छन् ।

फुटबलमा लगाव राख्ने तमाम तन्नेरीले आफ्नो कथा पर्दामा देख्न सक्छन् । कन्टेन्ट वा विषयको हिसाबले नौलो लाग्छ फिल्म । स्पोर्टस् जनराको भएर पनि फिल्मले एकोहोरो रुपमा खेलकुद मात्र पस्कदैन, मनोरञ्जनका अतिरिक्त मसला पर्याप्त मिसाइएको छ । कमेडी, एक्सन, लभ-रोमान्स सबै छन् ।

फिल्म अनमोलको भए पनि एक हिसाबले यो मल्टीस्टार फिल्म हो, जहाँ सरोज खनाल, सुनिल थापा, सूर्यमाला शर्मा, बुद्धि तामाङ, राजाराम पौडेल, विल्सन विक्रम राई, प्रशान्त ताम्रकार जस्ता प्रख्यात कलाकारको ठूलो जत्था छ ।

के छन् कमजोरी ?

स्पोर्टस् जनराको फिल्म, फुटबल खेल मूलकथा, ‘क्याप्टेन’ नाम । तर, २ घण्टा १५ मिनेट गुजारिरहँदा दर्शकलाई ‘क्याप्टेन’ ले मैदानभित्र एकोहोर्‍याउन सक्दैन ।

विषयगत, प्राविधिक, रचना-शिल्पमा धेरै कमजोरी भेटिन्छन् । फुटबलले युवा ढुकढुकीमा जुन किसिमको रोमाञ्चकता पैदा गर्नुपर्ने हो, त्यो गहिराइसम्म फिल्म पुगेको छैन । मसलाको रुपमा समावेश गरिएका लभ-रोमान्स, एक्सन र कमेडीले मुलकथालाई अलमलमा पारिदिएको भान हुन्छ । अर्को शब्दमा क्याप्टेन मैदानबाहिरै बढि बरालिएको छ ।

खासमा ‘क्याप्टेन’ एउटा फुटबलरको सपना, संघर्ष र सफलताको सिलसिलावद्ध यात्रा छाडेर एक नवजवानले राष्ट्रिय टिमबाट फुटबल खेल्नका लागि गरेको प्रयत्नको कथा हो । अनमोलको प्रवेश जादुयी खेलाडीको रुपमा हुन्छ, जो मैदानमा संघर्ष मात्र होइन, स्टन्ट पनि देखाउने गर्छ । मुल पात्रप्रति संवेदना जगाउनका लागि घरको दुरावस्था र पिताको रोगलाई चित्रण गरिएको छ । नायकको रोमान्टिक छवीलाई कायम राख्न दुई वैंशालु युवतीलाई उपस्थित गराइएको छ । तर, फुटबलरमा हुनुपर्ने जोस, लगाव, उत्साहको अभाव छ ।

फुटबलर बन्ने क्रममा एउटा फुच्चे के-कस्ता मोडबाट गुज्रदै अगाडि बढ्छ र रंगशालाको सुकिलो मैदानमा खुट्टा टेक्दा ऊ कति उमंगित हुन्छ भन्ने राम्ररी चित्रण गर्न सकिएको छैन । फिल्मका पात्रहरु ‘लाउड’ छन् । लयात्मक वाक्य बोल्छन् । तर, आफ्नो चरित्र र परिस्थिती अनुसार उनीहरुको अभिनय जम्न सकेको छैन ।

प्राविधिक गल्ती प्रशस्तै छन् । पाश्र्व ध्वनी झर्कोलाग्दो छ । डविङमा त्रुटी छ । कथा उत्कर्षतिर पुग्दै गर्दा देखिनेे भिएफएक्सबाट तयार गरिएको स्टेडियमको दृश्य टिठलाग्दो छ ।

किन हेर्ने ?

अनमोल केसी यस्ता नायक हुन् जो आफ्नो चरित्रलाई न्याय दिलाउनका लागि भरपुर मिहिनेत गर्छन् । थोरै फिल्म खेलेर पनि उनले सुपरस्टारको दर्जा पाएका छन् । अनमोलका फ्यानहरुले पक्कै पनि यो फिल्म छुटाउने छैनन् ।

त्यसैगरी फुटबलमा रुची राख्नेहरुलाई पनि क्याप्टेनले आकषिर्त गर्ने छ । यद्यपि, फिल्मले उनीहरुको धित मर्नेमा शका गर्न सकिन्छ । फिल्मको गीत-संगीत अर्को बलियो पक्ष हो जसले दर्शकलाई हलसम्म तान्न सक्छ । फिल्मका दुई गीत हिट भइसकेका छन् ।

निर्देशक दिवाकर भट्टराइको मिहिनेत फिल्ममा प्रशस्त झल्किन्छ । उनले यसअघि पनि आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । यद्यपि, विषयगत र प्राविधिक रुपमा उनले आफूलाई अझै माझ्न आवश्यक छ । दुई नवनायिका उपासना सिंह ठकुरी र पि्रयंका एमभीले फिल्ममा ग्ल्यामर पस्केका छन् ।

फिल्म- क्याप्टेन

निर्देशक- दिवाकर भट्टराई

कलाकार- अनमोल केसी, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, उपसना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल आदि

जनरा- खेल

अवधी- २ घण्टा १५ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment