Comments Add Comment

दुई रुपैयाँको सिक्का खसाल्नुस्, एक गिलास पानी पिउनुस् !

२२ फागुन, काठमाडौं । स्कुलबाट छोरा डोर्‍याउँदै घर हिँडेका मंगलबजारका अनिल शाक्य पुल्चोक पुगेपछि ललितपुर महानगरपालिकाका प्राङ्गणतिर मोडिए ।

‘वाटर एटीएम’मा दुई रुपैयाँको सिक्का खसालेर एक गिलास पानी पिएपछि उनी दंग परे । ‘हिजो अस्तिदेखि देखिरहेका थियौं, के रहेछ भनेर हेर्न आएको’ अनिलले भने, ‘यसरी पानी पिउन पाउँदा खुसी लाग्यो । राम्रो टेक्नोलोजी रहेछ ।’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेशनल मिलेर नेपालमा पहिलो पटक ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइएको हो, जसको उद्घाटन गर्न मंगलबार खानेपानीमन्त्री विना मगर आफैं पुगेकी थिइन् ।

बैंकको एटीएम मेसिनमा कार्ड हालेर पैसा झिके जस्तै यहाँ सिक्का हालेर पानी निकालेर पिउन पाइन्छ । त्यसैले यसलाई वाटर एटीएम भनिएको हो ।

विकसित देशहरुको तुलानामा प्रविधिमा निकै पछाडि रहेको हाम्रो जस्तो मुलुकमा यो खालको अभ्यास उपयोगी हुने जावलाखेलकी प्रजिता खड्काको बुझाइ छ । साथै पानीको शुद्धता र गुणस्तरमा सम्झौता नगर्न नहुने सञ्चालकलाई सुझाव दिइन् ।

बुधबार वाटर एटीएममा जति मानिसहरु भेटिए, उनीहरु प्यास मेटाउन रहर जति थियो, त्यो भन्दा धेरै मेसिनप्रति चासो थियो । उनी पैसा खसालेर कसरी पानी आउँछ भन्ने नियालिरहेका थिए । ‘वाटर एटीएम’बाट पानी पिउन शनिबारसम्म पैसा लाग्दैन । त्यहाँ खसाल्ने सिक्का सञ्चालक आफैंले दिएको छ ।

आइतबारबाट भने सःशुल्क हुनेछ ।

दुई रुपैयाँमा एक कप पानी

अब गर्मी लागेसँगै खानेपानीको माग बढ्दै जानेछ । बाटोमा हिँड्दा प्यास लागे मिनरल वाटरको बोटल किन्नुको विकल्प छैन । सामान्यतः एकदेखि डेढ लिटरसम्मका मिनरल वाटर बजारमा उपलब्ध छन्, जसको मूल्य २० देखि ४० रुपैयाँ पर्छ ।

सिंगो बोतलको पानी एकै पटक पिउन गाह्रो । बाँकी बोकेर हिड्न झन्जट मान्नेहरु पनि छन् । यही अवस्थालाई मध्येनजर गर्दै ‘वाटर एटीएम’को अवधारणा ल्याइएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव बिक्रम राणाले अनलाइखबरलाई जानकारी दिए ।

यो वाटर एटीएमबाट दुई रुपैयाँमा दुई सय एमएल र १० रुपैयाँमा एक लिटर खानेपानी उपलब्ध हुनेछ । पानी पिउनका लागि कागजको कप त्यहीं राखिएको छ । देब्रे हातले समातेको कप पानी खस्ने ठाउँमा राखी दुई रुपैयाँको सिक्का मेसिनमा खसालेपछि स्वचलितरुपमा दुई सय एमएल पानी खस्छ ।

सिक्का नभएका सर्वसाधारणलाई वाटर एटीएममा कार्यरत कर्मचारीले नै खुद्रा पैसा गर्न समेत सघाउने सुपिङका प्रवन्ध निर्देशक प्रकाश शर्माले बताए ।

एक लिटर चाहिएमा १० रुपैयाँ बुझाएर ‘आरएस आईडी कार्ड’ प्रयोग गरी बोतलमा पानी भर्न सकिन्छ ।

बोतल भने आफैंले लैजानुपर्नेछ ।

यसले कसरी काम गर्छ ?

ललितपुर महानगरपालिकाको कम्प्याउण्ड छेउ राखिएको ‘वाटर एटीएम’ को खास नाम भेण्डिङ मेसिन हो । स्वचलित हुने भएकाले शाब्दिक रुपमा अटोमेटिक टेलर वाटर (एटीडब्लू) पनि भन्न सकिन्छ । तर, प्रचलनमा रहेको शब्दले नामाकरण गर्दा चाँडो बुझाउन सकिन्छ भन्ने अभिप्रायले यसलाई ‘वाटर एटीएम’ नाम दिइएको सुपिङका प्रवन्ध निर्देशक शर्मा बताउँछन् ।

उनका अनुसार बोर्डको योजना अनुसार झण्डै ६ महिना लगाएर यो ‘वाटर एटीएम’ तयार पारिएको हो ।

यसको बाहिरी आवरणका सामग्री भारतबाट ल्याइएको हो भने पानी शुद्धिकरणदेखि स्वचलित गराउन प्रयोग भएका उपकरण विभिन्न देशबाट ल्याएर यहीँ जडान गरिएको हो ।

मेसिनमा प्युरिफिकेसन मेसिन पनि जडित छ । बाहिरै डिजिटल डिस्प्ले समेत राखिएको पीएच मिटरले पानीको शुद्धता देखाउँछ । सामान्यतः पिउन योग्य पानीको पीएच ७ आसपास हुन्छ । पीएच ७ भन्दामूनि भएमा त्यो पानीमा अम्लाको मात्रा र ७ भन्दामाथि भएमा क्षारको मात्रा रहेको बुझिन्छ ।

बुधबार दिउँसो अनलाइनखबरकर्मी पुग्दा उक्त वाटर एटीएमको पानीको पीएच ७.४१ थियो ।

सार्वजनिक उपभोगमा आउनु पूर्व नै उक्त वाटर एटीएमबाट निस्किने पानी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘मानिसले पिउने पानीमा खेलबाड हुनुहुँदैन भनेर हामीले मेसिनबाट निस्किने पानीको शुद्धता र गुणस्तर परीक्षणमा विशेष ध्यान दियौं, पिउन योग्य रहेको पक्का भएपछि मात्रै सार्वजनिक प्रयोगमा ल्याएका छौं’, उनले भने ।

वाटर एटीएमको आडैमा १५ सय लिटरको ट्यांकी राखिएको छ । मेसिनमा पानी कम हुने बित्तिकै त्यो टयांकबाट स्वचलितरुपमा पानी पास हुनेछ । ट्यांकीमा पनि पानी सकिएमा त्यसको विकल्प जगेडामा छ । ललितपुर महानगरपालिकाको कम्याउण्डभित्रै ५ हजार लिटरको ट्यांकी राखिएको पाइएको छ ।

तीन महिना परीक्षण

मंगलरबारदेखि सञ्चालनमा आएको वाटर एटीएमलाई बोर्डले परीक्षणका रुपमा सञ्चालनमा आएको छ । उपभोक्ता, सर्वसाधारणबाट आउने प्रतिक्रियाका आधारमा यसको भविष्य निर्धारण हुने बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

तीन महिनाको परीक्षणमा सर्वसाधारणको राम्रो प्रतिक्रिया आए अन्यत्र पनि वाटर एटीएम स्थापना गरिने बताउँछन् ।

तीन महिनासम्म निर्माण कम्पनी सुपिङले नै यसको सञ्चालन, आवश्यक संभार गर्नेछ । बोर्डले सुपिङलाई अहिले तीन महिनासम्मका लागि मासिक २० हजार रुपैयाँ दिने सहमति रहेको कार्यकारी निर्देशक राणाले जानकारी दिए ।

वाटर एटीएम सञ्चालनका लागि सुपिङले एक जना कर्मचारी पनि राखेको छ भने बिजुली ललितपुर महानगरपालिकाबाट जोडिएको छ । शुरुको एक ट्यांकी पानी बोर्डले निःशुल्क दिएपनि अब भने खपतको लगत राखिनेछ । मेसिनमा जडित सीमले आफैं पानीको खपत, संकलित रकमको विवरण बोर्ड र सुपिङलाई पठाउँछ ।

मुनाफा हुने देखिए बोर्डले छुट्टै खाता खोलेर यस्ता वाटर एटीएमबाट बाट रकम संकलन गर्नेछ ।

संकलित मुनाफाको अक्षय कोष बनाएर यसलाई दिर्घकालिन बनाउने योजना रहेको कार्यकारी निर्देशक राणाले बताए । उनका अनुसार तिहार अगाडि नै यो मेसिन जडान गर्ने तयारी थियो तर, निर्माणमा समय लाग्दा ढिलाई भएको उनले बताए । यो ‘वाटर एटीएम’ निर्माणमा बोर्डले कर बाहेक ९ लाख ८५ खर्चेको छ ।

बोर्डले बोलपत्रमार्फत नै सुपिङलाई छनोट गरेर वाटर एटीएम बनाउने जिम्मा दिएको थियो ।

मासिक खर्च र संकलित रकमको तुलना गरी भावी कार्ययोजना बनाइने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए ।

कतिपयले दुई सय एमएल पानीलाई दुई रुपैयाँ महंगो भएको तर्क गरेका छन् । तर, सुपिङ इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश शर्मा मूल्यबारे पुनरावलोकन गर्न सकिने बताउँछन् । ‘हामीले १ रुपैयाँ ९० पैसा खर्चेर कागजको गिलासमा पानी पिउने व्यवस्था गरेका छौं, जो एक पटक आएर पानी पिएर जानु हुन्छ अनि हामीले घाटाको व्यापार गर्न लागेको थाहा पाउनु हुनेछ’, उनले भनेका छन् ।

तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment