Comments Add Comment

‘गाउँमा होमस्टे खोलेका छौं, टुरिस्ट पठाइदेऊ’

रामकोटबासीलाई 'पहाड खौरिने विकास' चाहिएन !

२५ फागुन, रामकोट (बन्दीपुर) । पश्चिमी वायुको प्रभावका कारण बुधवार र बिहीवार तनहुँको दुर्गम गाउँ रामकोटमा लगातार पानी पर्‍यो । बिहीसरा र उनको टोलीले एक महिनादेखि गरेको तयारी कुबेलामा परेको बैमानी झरीले बिगारिदियो ।

गाउँभरि हिलो र पानीको गजगजी थियो । त्यहीबेला देशका पर्यटन मन्त्री, चर्चित व्यवसायी र उड्ययन प्राविधिकहरु बोकेको जहाज पूर्वतिर दुर्घटना भएको खबर उड्दै गाउँमा पुगेपछि मौसमझैँ गाउँलेको चेहेरामा पनि चरम उदासी छायो ।

पर्यटनकै कारण गाउँको मुहार परिवर्तन गर्ने विश्वासमा ‘होम स्टे’ को औपचारिक प्रारम्भको तयारी गरिरहेका बेला अचानक परेको पानी र पर्यटनमन्त्रीसहितको हेलिकोप्टर दुर्घटनाले कार्यक्रम नै बिथोलिने भय बलियो बन्यो ।

‘बिहीबार जन्मेपछि भाग्य बलियो कहाँ हुन्छ र ?’ रामकोट सामुदायिक होम स्टेकी अध्यक्ष बिहीसरा आले बिरहलाग्दो श्वरमा बोलिन्, ‘ईश्वरले पनि गरिबकै भाग्यमा प्रहार गर्छन् । यस्तो बेलामा काठमाडौंबाट यो दुर्गम गाउँमा को आउला र ?’

काठमाडौंबाट ५० जना जति लेखक-कविहरुको टोली बिहीसराले नेतृत्व गरेको होम स्टेको निरीक्षण र आथित्य ग्रहण गर्न रामकोट पुग्ने कार्यक्रम थियो । गाउँमा सागसब्जी, ओड्ने ओच्छ्याउने र भाँडाकुँडा थुपारिएका थिए । नाचगानका टोली तयार थिए । गाउँमा कुन समूहले कस्तो नृत्य देखाउने, त्यसको तयारी पनि हुँदैथियो । यसका लागि उनीहरुले तीन महिने होसस्टे व्यवस्थापनको तालिम लिइसकेका थिए ।

पर्यटन बोर्डले पहिलोपटक उनीहरुका लागि ठूलो समूहमा पाहुना पठाइदिँदै थियो । यस्तो बेलामा झरीसँगै आतेसलाग्दो दुर्घटनाको खबरले एकाएक बिहीसरा र उनका साथीहरु मुर्झाउनु स्वाभाविक पनि थियो ।

बन्दीपुर वरपर १० गाउँमा होमस्टे सुरु भएको छ र सबैको नेतृत्व महिलाले नै गरिरहेका छन्

धन्न, त्यत्रो दुर्घटना र लगातारको वर्षाले कार्यक्रम बिथोलिएन । शुक्रबार बिहान ८ बजे पर्यटकको टोली थानकोटतिर आइपुगेको खबर सुकमायाको फोनले दियो ।

१७ वर्षे सुकमाया स्मार्ट फोन बोक्ने गाउँकी एक मात्र किशोरी हुन् । उनैले पाहुनाका लागि कौडा र चुड्का नृत्यकी जिम्मेवारी लिएकी छन् । पाहुना आउने पक्का भएसँगै शुकमाया नृत्यका लागि युवती जम्मा गर्न गाउँ झर्दा सोमकला थापा सुकेका दाउरा जुटाउन थालिन् ।

आइतेनी आमा रक्सी पार्न लागिन् । मंगलीको समूह भने तरकारी काट्न थाल्यो । गाउँमा बिहानैदेखि झलमल्ल घाम लाग्दा झण्डै चार सय किलोमिटर लामो हिमश्रृंखला रामकोटबाट छर्लङ्गै देखिए । गाउँको हाँसोसँगै हिमाल टल्केका दृष्यले पश्चिम पहाडको सौन्दर्य दोब्बर भयो ।

गाउँका महिलामध्ये धेरैको नाम आइतबारबाट सुरु हुन्छ र शुक्रबारमा अन्त्य हुन्छ । जुन बार सन्तान जन्मियो, आफ्ना छोराछोरीको नाम त्यही बारबाट नाम राख्ने चलनका कारण गाउँभरि आइतमाया, सोमकली, मंगली, बुधनी, विहीसरा, शुकेनी र शनिचरीहरु भेटिन्छन् ।

‘बैदेशिक रोजगारीका कारण गाउँमा बयस्क पुरुषहरु निकै कम छन् । भएकाहरुले पनि होमस्टेको जिम्मेवारी लिएका छैनन् । पाहुनाको सम्पूर्ण जिम्मेवारी महिला समूहको हातमा छ ।’ आठ बर्षदेखि बन्दिरपुरमा पर्यटन व्यवसाय गरिरहेका आशुतोष प्रधानले भने, ‘बन्दीपुर वरपर १० गाउँमा होमस्टे सुरु भएको छ । र, सबैको नेतृत्व महिलाले नै गरिरहेका छन् । ‘विद्यालय जाने साना बच्चाहरुको नाम एकैखाले भएको भन्दै आजभोलि विद्यालयले नाम परिवर्तन गरिदिन थालेको छ । नाम परिवर्तन गर्दा कतिपय मगर बिद्यार्थीको नाम उनीहरुको संस्कृतिभन्दा विपरीत सुनिने एनिस र अम्बुज भएको भेटिन्छ । तैपनि उनीहरु किञ्चित चिन्तित छैनन् । गाउँमा उनीहरुलाई पुरानै शैलीमा आइतमान र सोमबीरे भनेर बोलाइन्छ । रामकोट पुगेर स्थानीय मानिसको नाम सुनेपछि लाग्छ, जतिसुकै कुदे पनि मानिसले भेट्ने भनेको यिनै सात दिन हुन् ।

काठमाडौंबाट कवि-लेखकहरुको समूह रामकोट पुग्दा स्थानीय महिलाहरु पाहुनालाई सेतो टीका र उनेको माला लिएर स्वागत गर्न तयार थिए । मगर पहिरनमा सजिएका सुकमायाको समूहले पाहुनालाई झ्याली पिटेर माला लगाइदिए । मंगलीको समूहले सगुनका रुपमा एक गिलास स्थानीय रक्सी र एक कोसा केरा दिए । स्थानीय नृत्यको तयारी हुँदै गर्दा गाउँनै मगमगाउने गरी विभिन्न किसिमका परिकार पाकिरहेका थिए ।

‘होमस्टेका लागि यो हाम्रो पहिलो प्रयास हो । के कस्तो भयो, मनमा नराखी भनिदिनू होला ।’ घरको पिँढीमा गुन्द्री ओच्छ्याएर गाउँले परिकार खुवाएपछि बिहीसराले भनिन्, ‘आफ्नै गाउँमा फर्केको अनुभव होस् भन्ने सोचेर हामीले यो शैली अपनाएका हौं । हामीले तालिममा सिकेको कुरा पनि यही हो ।’

सडकविरोधी जनप्रतिनिधि र गाउँले

रामकोटअघि ठिङ्ग डङ्कने नामको डाँडो ‘थम्सअप’ शैलीमा उभिएको छ । यहि डाँडोले दुई किलोमिटर टाढा रहेको विकसित बन्दीपुरबाट रामकोटलाई एक्ल्याएको छ । गाउँमा एकनासे परम्परागत घर र मगर जीवनशैलीलाई आधुनिक हुन यही डाँडोले रोकेको देखिन्छ । पाँच किलोमिटर ढाटा रहेको भिडभाड डुम्रे बजार र काठमाडौं हुँदै पोखरा हुँइकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन । गाउँका आधुनिक युवाहरु घुमाउरो बाटो हुँदै मोटरसाइकल भित्र्याउन थालेका छन् । तै पनि धेरैजसो गाउँले, गाउँपालिका अध्यक्ष र वडाका प्रतिनिधिहरु गाउँमा आधुनिक सडक सञ्जाल ल्याउने विपक्षमा छन् । करिब सय घरधुरी मगर मात्रै रहेको अनौठो यो गाउँमा चिल्लो सडक छिर्दा गाउँको अस्तित्व बिग्रने चिन्ता अधिकांशको मनमा देखिन्छ ।

‘हो अलिकति दुःख कम हुन्छ तर थोरै सुखका लागि डङ्कने डाँडोको फेदैफेद सडक ल्याउने कुरामा म चाहीँ विपक्षमा छु ।’ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा भन्छन्, ‘जुन दिन रामकोटमा सजिलो सडक आइपुग्छ, बन्दीपुरबाट पैदल यात्रा गर्दै रामकोट हेर्न आउने पर्यटक अन्तैजान थाल्छन् । त्यसो भयो भने न त यहाँको होमस्टे चल्छ, न मगर संस्कृति नै बाँकी रहन्छ ।’

गाउँका पाका मगरहरु भन्छन्- पहाड खौरिएर बाटो बनाउँदा जंगल मासिए, यिनीहरुको सराप लाग्छ । हामी बन्दीपुरबाट हिँड्ने बाटो मात्र बनाउँछौं, सडक बनाउन दिन्नौं

अध्यक्ष थापाको कुरामा रामकोटबाटै वडाध्यक्ष पद जितेका हस्तबहादुर जीसी पनि समर्थन गर्छन्, ‘घुमाउरो भए पनि डुम्रेबाट गाउँसम्म आइपुग्ने कच्ची बाटो जोडिएको छ । डङ्कने डाँडोबाट सडक ल्याउँदा बाटो छोटो हुन्छ, अन्नपानी सस्तो हुन्छ । तर, गाउँलेहरु सडक ल्याउने पक्षमा छैनन् ।’ जीसी भन्छन्, ‘अन्ततिर गाउँमा सडक चाहियो भनेर मारामार गर्छन्, हाम्रोमा सडक चाहिएन, बरु त्यो बजेट पर्यटक बढ्ने उपायमा लगाइदेऊ भन्छन् ।’

विशेष गरी महिलाहरुबाट यस्तो माग आएपछि गाउँपालिका र पर्यटन बोर्डको सहयोगमा रामकोटका महिलाहरुले होमस्टेको तालिम लिने अवसर पाएका हुन् । परम्परागत घर, मगर संस्कृति र ग्रामीण चालचलनका कारण सरकारले पनि पर्यटकीय गतिविधि बढाउन गाउँलाई सहयोग गर्न थालेको छ । बन्दीपुरबाट पैदल यात्रा गर्दै रामकोट पुग्ने विदेशी पर्यटकहरु रामकोटमा बास बस्न थालेका छन् । पर्यटकको माग आउन थालेपछि नै यहाँ होमस्टे सुरु भएको हो ।

‘बन्दीपुरमा वर्षको करिब दुईलाख पर्यटक आउन थालेका छन् ।’ पर्यटन व्यवसायी आशुतोष प्रधान भन्छन्, ‘तीमध्ये २० प्रतिशत पर्यटक विसाल फाँटबाट देखिने हिमाल हेर्न पैदल यात्रा गर्दै रामकोटसम्म आउन थालेका छन् । यसले गाउँको मुहार परिवर्तन हुन थालेको छ ।’

कुनैबेला अहेबका रुपमा गाउँ गाउँ डुलेर स्वास्थ सेवा पुर्‍याएका पूर्णसिंह थापा मगर अहिले त्यही सेवाका कारण गाविस अध्यक्षमा निर्वाचित भएका हुन् । उनी डुब्रेका चर्चित व्यवसायी पनि हुन् । अस्पताल, आवासीय विद्यालय, होटेल र कृषिमार्फत स्थानीयलाई राम्रो रोजगारी दिएका कारण उनी लोकप्रिय पनि छन् । यही कारण रामकोटमा बाटो नल्याउने उनको उद्घोषलाई स्थानीयले समर्थन गरेको बुझ्न गाह्रो छैन ।

‘पाँच वर्षअघिसम्म रामकोटमा छाडा सुँगुरका कारण रोग र फोहोरको उपद्रो थियो । बाहिरका मानिस गाउँमा एक क्षण पनि उभिन सक्ने अवस्था थिएन । तर, जसै बन्दीपुर आएका पर्यटकहरु पद यात्राका क्रममा रामकोट पुग्न थाले, स्थानीयबासीलाई सफा हुनुपर्ने दबाब पनि बढ्न थाल्यो ।’ अध्यक्ष थापा भन्छन्, ‘हामीले पनि लगातार स्वास्थ र शिक्षामा जोड दिऔं । एउटा डाँडा वारी बन्दीपुर देशकै नमूना सहरमा विकास हुँदा डङ्कने डाँडाको पारी एउटा सुन्दर गाउँ फोहोरको आहालमा डुब्नु र पर्यटकले नाक थुन्दै त्यहाँका हिमाल हेर्न बाध्य हुनु हाम्रा लागि पनि लाजमर्ने कुरा थियो ।’

बन्दीपुर र डुब्रे वरपरका व्यवसायी र स्थानीय शिक्षकहरुको पहलमा गाउँको बंगुरको ब्यवस्थापन र सफाइ अभियान चलाएपछि रामकोट अहिले त्यो क्षेत्रकै आकर्षक गाउँमा परिवर्तन भएको हो । करिब चार सय किलोमिटर लामो हिमश्रृंखला देखिने भएका कारण विदेशी पर्यटक बाक्लै आउन थाले । यिनै पर्यटकहरुले काठमाडौं र स्थानीय व्यवसायीलाई गाउँमा सफा होमस्टे चलाउन आग्रह गर्न थालेपछि बन्दीपुरेहरुको पनि आँखा खुल्यो ।

अहिले रामकोट मात्रै होइन, त्यस वरपरका १० गाउँमा होमस्टे सञ्चालन हुन थालेका छन् । होमस्टे सँगै बन्दीपुरबाट रामकोट आउने बाटोलाई सडकमार्ग होइन, पर्यटकीय पदमार्ग बनाउने निर्णय गरिएको छ ।

सबैभन्दा रमाइलो कुरा सडक मार्ग बनाउनु हुन्न भन्नेमा होमस्टेकी प्रमुख बिहिसराको समूहले नै स्वागत गरेका छन् । गाउँको सरसफाइको जिम्मा लिएकी आइतमायालाई साथ दिँदै गाउँका पाका मगरहरु भन्छन्, ‘पहाड खौरिएर बाटो बनाउँदा जंगल मासिए, यिनीहरुको सराप लाग्छ । हामी बन्दीपुरबाट हिँड्ने बाटो मात्र बनाउँछौं, सडक बनाउन दिन्नौं ।’

रामकोटको भविश्य बन्दीपुरको हातमा

बन्दीपुर

रामकोट जतिसुकै सुन्दर भए पनि यसको भविश्य बन्दीपुरमा कति पर्यटक आउँछन् भन्ने कुराले निर्क्यौल गर्छ । त्यतिमात्र होइन, बन्दीपुरका व्यवसायीहरुले त्यस वरपर चलेका १० होमस्टे मध्ये कति पर्यटकलाई रामकोट पठाउँछन्, त्यस आधारमा यो गाउँको आर्थिक विकास हुने देखिन्छ । यसमा बन्दीपुरका व्यवसायी कति सचेत छन् त ?

‘हामी कहाँ आउने पर्यटकमध्ये सबैलाई वरपरका १० गाउँका विशेषता बताउँछौँ, त्यसमध्ये पर्यटकले छानेका गाउँमा होम स्टेका लागि पठाउनु हाम्रो बाध्यता हो । तै पनि रामकोटबाट जुन किसिमको हिमश्रृंखला देखिन्छ, त्यति बन्दीपुरबाट पनि नदेखिने भएका कारण पर्यटकको फ्लो बढ्छ भन्ने विश्वास छ ।’ आशुतोष प्रधान भन्छन्, ‘त्यसमाथि गाउँले संस्कृति, यहाँका घर र वातावरणले पनि यो मगर बस्तीमा पर्यटकको आकर्षण देखिन्छ । सर्त एउटै छ, गाउँ कति सफा र कति व्यवस्थित हुन्छ ।’

पछिल्लो समय बन्दीपुरमा आन्तरिक र वाह्य पर्यटकको ओइरो लाग्न थालेको छ । पोखरा जाने पर्यटक बाटोमा पर्ने बन्दीपुर हेर्न मात्रै होइन, एक रात बस्न पनि जान बन्दीपुर जान थालेका छन् । पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गरेर त्यसलाई नेपालमा मिलाएपछि चार नेवार परिवार भक्तपुर छाडेर दुई सय वर्षअघि व्यवसायको अवसर खोज्दै बन्दीपुर आएको थियो ।

नेपालको पर्यटकीय सहरहरुमा पोखरा र भक्तपुरपछि बन्दीपुरको नाम आउन थालेको छ । आर्थिक हैसियत, सौन्दर्य र चेतनाका कारण बन्दीपुरलाई अहिले नेपालकै नमूना गाविस मानिन्छ

कोलकताबाट चितवनको भारतीय सीमा ठोरी हुँदै बन्दीपुरसम्म सामान ल्याउने र त्यसलाई पश्चिम पहाडी गाउँ-सहरसम्म पुर्‍याउने केन्द्र भएका कारण यो विकसित भयो । राणा शासनकालसम्म आइपुग्दा यो तनहुँको सदरमुकाम र एउटा विकसित सहर भएको थियो । भक्तपुरे नेवार भएका कारण बन्दीपुरलाई उनीहरुले सानो भक्तपुरकै रुपमा विकसित गरेका थिए ।

यद्यपि सानो डाँडोमा विकसित भएको यो सानो भक्तपुरे शैलीको सहरले आधुनिक जनघनत्व थेग्न सकेन । त्यसमाथि नयाँ बनेको काठमाडौं-पोखरा राजमार्गले यो सहरलाई नछोएपछि यहाँको सदरमुकाम सार्ने दबाब पर्‍यो । यही दबाबका कारण ०२५ सालमा सडकले छोएको दमौलीमा सदरमुकाम सारियो । यहाँका धेरै नेवार परिवार व्यवसायको अवसर खोज्दै चितवन, काठमाडौं र सदरमुकाम दमौली सरे । केहीले भने पुरानो शैलीको बन्दीपुरलाई बचाउँदै पर्यटकीय गतिविधि बढाउन थाले ।

०६० सालपछि भने यो सहर पूर्णरुपमा पर्यटकीय सहरको रुपमा विकसित भएको छ । अहिले नेपालको पर्यटकीय सहरहरुमा पोखरा र भक्तपुरपछि बन्दीपुरको नाम आउन थालेको छ । आर्थिक हैसियत, सौन्दर्य र चेतनाका कारण बन्दीपुरलाई अहिले नेपालकै नमूना गाविस मानिन्छ ।

बन्दीपुरको आकर्षण बढ्दै जाँदा यो क्षेत्र वरपर रहेका सयौं वर्ष पुराना मगर गाउँहरुमा पनि पर्यटकको आँखा पर्न थालेको हो । त्यसमध्ये रामकोटमा आइतवारदेखि शनिबारसम्म जन्मिएका सोझा मगरहरु अन्य पेशा व्यवसाय भन्दा पर्यटकको मुख ताकेर बस्न थालेका छन् ।

बन्दीपुरमा सन् ०२१ देखि ३ लाख पर्यटक ल्याउने लक्ष थियो । यसका लागि दिवंगत पर्यटनमन्त्री रबीन्द्र अधिकारी बन्दीपुर पुगेर स्थानीय पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । किनभने ०२० सालदेखि देशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा पर्यटन मन्त्री लागिरहेका थिए ।

पोखराबाट फर्किने पर्यटकलाई एक दिन भए पनि बन्दीपुरमा रोक्न सकिने विश्वास मन्त्री अधिकारीको थियो । यही आशामा स्थानीयहरुले बन्दीपुर वरपर १० गाउँमा होमस्टेको विकास गरेका थिए । अचानक मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा देहान्त भएपछि बन्दीपुरका पर्यटन व्यवसायी चिन्तित देखिएका छन् ।

यसले नेपालको आकाश असुरक्षित भएको सन्देश मात्रै गएको छैन, स्तरीय पर्यटक कसरी बढाउन सकिन्छ भनेर चिन्तित हुने व्यक्तिहकरुको पनि देहान्त भएको छ । रामकोटका सोझा स्थानीयवासीलाई यसको पत्तो भएको जस्तो देखिँदैन । किनभने, डङ्कने थुम्कोले पूर्वको उज्यालो मात्र होइन, काठमाडौं र बन्दीपुरको सूचना पनि बर्षौदेखि छेक्दै आएको छ ।

तैपनि आजभोलि रामकोटमा झलमल्ल घाम लागेको छ र लामो हिमश्रृखला छर्लङ्ग देखिएको छ । रामकोटबासीको सपना पूरा होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment