Comments Add Comment

राम्रो कथामा नराम्रो फिल्म बनाएर केही निर्देशकले चिट गरेका छन्ः अनुप

अनुपको अगाडि हामी छायामा पर्दैनौः बर्षा र माला

शनिबार दिउँसो २ बजेतिर काठमाण्डौको एक क्याफेमा पुग्दा नायक अनुप विक्रम शाही केही थकित देखिएका थिए । उनले दिउँसोबाट नै भिडियो इन्टरभ्यू दिइरहेकाले पनि उनको बोली थाकेको थियो । अनलाइनखबरसँग कुराकानी सुरु गर्दै गर्दा उनले ६ वटा भिडियो इन्टरभ्यू त भ्याइसकेको बताए ।

नायिका बर्षा सिवकोटी र माला लिम्बुको साथमा निर्देशक भिषण राइलाई एकसाथ राखेर मिडिया कुराकानीमा लागिरहेका अनुप बोल्नमा धेरै सिपालु भएको भान प्रष्टै हुन्थ्यो । सायद, कुनै समयमा उनीमाथि लाख लगानी गर्न नसक्ने निर्माता अहिले करोड लगानी गरिरहेका छन् । उनको बोलीमा परिवर्तन आउनुको एउटा कारण यो पनि थियो होला ।

अब बिषयमा प्रवेश गरौ, अनुप मुसुक्क हाँस्दै इशारा गर्छन् । ‘पुरानो बुलेट’ उनले सुरुवातमा नगर्ने मुडमा रहेछन् । तर, पछि चलचित्रको कथावस्तु पढेपछि उनी यो चलचित्र गर्नका लागि तयार भएका हुन् । अनुप भन्छन्–‘मैले यो चलचित्र त सुरुवातमा नगर्ने नै निर्णय गरेको थिएँ । तर, पछि निर्देशकले कथा सुनाएपछि मन पर्यो र गरेँ । म दर्शकहरुलाई केही स्वाद पस्कन चाहन्थेँ, यसैले पनि यो चलचित्रले मलाई तान्यो ।’

छेउमै रहेका निर्देशक भिषण राई सुनिए–‘हामीलाई एकजना ह्यान्डसम, शारीरिक रुपमा पनि फिट देखिने नायक चाहिएको थियो । अनुपजीमा त्यो सबै विशेषता देखेपछि नै हामीले उहाँलाई छनोट गरेका हौ ।’

नायिका बर्षा सिवाकोटी चलचित्रमा सोझी यूवतीको भूमिकामा छिन् । एउटा यूवाले मायामा तिरस्कार गर्दा पनि उनी प्रेममा भुतुक्कै छिन् । बर्षा भन्छिन्–‘माया गरेपछि मनदेखि गरिन्छ । यसैले पनि केटाको गालीमा पनि माया छ ।’

चलचित्र ‘वन वे’मा नायिकाको रुपमा प्रवेश गर्दा माला लिम्बुलाई राम्रोसँग नेपाली बोल्न आउदैनथ्यो । तर, अहिले मालाको बोली धेरै सुध्रिएको छ, समस्या पुरा रुपमा हल भने भएको छैन । माला लामो हाँसो हाँस्दै भन्छिन्–‘मलाई त पुरानो बुलेटको मुख्य भूमिकामा नै काम गर्न मन थियो नी । के गर्नु नेपालमा नायिकालाई केन्द्रमा राखेर चलचित्र नै बन्दैन ।’

मालाले यो चलचित्रमा आफू एक महिला व्यापारीको भूमिकामा देखिएको बताउँदै भनिन्–‘कामको सिलसिलामा म गाउँ पुग्छु । गाउँमा अनुपसँग भेट हुन्छ र कथा अगाडि बढ्छ ।’ यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको र दर्शकले पुरा रुपमा मनोरञ्जन लिने उनको भनाई थियो ।

मालाको कुरा सकिएपछि हाम्रो प्रश्न अनुपलाई थियो, के तपाइको भूमिकाबाट दर्शक सन्तुष्ट होलान् ? अनुप भन्छन्–‘म शतप्रतिशत त भन्न सक्दिनँ । तर, ८० प्रतिशत दर्शक सन्तुष्ट हुनुहुन्छ भन्नेमा ढुक्क छु ।’ अनुपले त चलचित्रमा काम गर्दाको तितो अनुभव पनि सुनाए । उनले भने–‘मलाई केही निर्माता–निर्देशकले चिट गरेका छन् । कथा सुनाउँदा भयंकर सुनाउने, तर चलचित्रमा त्यसको थोरै प्रतिशत पनि नउठाउने । यसले गर्दा म अहिले कथामा काम गर्दा सजग भएको छु । यो चलचित्रमा मैले जुन कथा सुनेको थिएँ, त्यो नै उतारिएको छ ।’

अब, पालो बर्षाको । नायिका बर्षा सिवाकोटी अनुप केन्द्रमा रहेको र आफूहरु उनीसँग ठोक्किन आउने पात्रको रुपमा रहेको बताउँछिन् । तर, उनले चलचित्र हेरिसकेपछि आफ्नो भूमिकालाई दर्शकले संझिने पनि बताइन् । नायिका माला लिम्बु चैत्र १ गतेबाट चल्ने चलचित्रमा दर्शकका लागि चाहिने सबैकुरा भएको दाबी गर्छिन् ।

पूर्वको परिवेशमा बनेको कथामा दर्शकले मौकिलता पाउने निर्देशक राइको भनाई छ । हङकङमा र पथरीमा गरिएको च्यारेटी शोबाट आफू अत्यन्तै उत्साहित भएको राइले सुनाए । पूर्वेली डनको भूमिकामा काम गर्दाको अनुभव सुनाउँदै अनुपले भने–‘मेरा लागि यो भाषा नौलो थियो । तर, मैले चलचित्रमा आफूले सक्ने मिहिनेत गरेँ ।’

कुराकानीको अन्तिममा अनुप फेरि सुनिए–‘हरेक बर्गका दर्शकले यो चलचित्र हेर्दा मनोरञ्जनको साथै सन्देश पनि लिनुहुन्छ । चलचित्र राम्रो वा नराम्रो हुन्छ । ‘पुरानो बुलेट’ राम्रो चलचित्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment