Comments Add Comment

कोटेश्वर–कलङ्की सडकको त्रुटिमा सामान्य सुधार

२६ फागुन, ललितपुर । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।

चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए ।

आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्रा क्रसिङ निर्माण, डिभाइडर राख्न चाँडै सुरु गरिने उनले बताए । ‘सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो’  उनले भने ।

श्रेष्ठका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको उनले बताए ।

विभिन्न स्थानमा सडकमा रङ लगाउनेलगायत काम गरिने बताइएको छ । चीनमा सडक चिह्नले मात्रै डिभाइडरको काम गर्ने भए पनि नेपालमा त्यसले मात्रै लेन अनुशासन कायम नहुने हुँदा समस्या भएको महाशाखाका प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘यहाँ पर्खाल लगाउने वा भौतिक अवरोध चाहिन्छ भन्ने हाम्रो मान्यता छ ।’

चक्रपथकै दोस्रो खण्डका रुपमा कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माणका लागि विस्तृत परियोजना अध्ययन (डीपीआर) को काम भइरहेको पनि उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : विस्तारित चक्रपथ : भब्य सडकमा त्रुटि नै त्रुटि (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment