
२७ फागुन, काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडवडी विमान खरिद प्रकरणको छानबिनको प्रगति बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको दोस्रो पत्रको जवाफ नआएको बताएको छ ।
सोमबार समिति बैठकमा सत्तारुढ नेकपाका सांसद सूर्यप्रसाद पाठकले ‘वाइडवडीमा के भइरहेको छ ? समितिलाई जानकारी छ ?’ भन्दै प्रश्न गरेका थिए । लेखा समितिले नै विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।
यस सम्बन्धमा प्रश्न उठेपछि समिति सभापति भरतकुमार शाहले अख्तियारलाई लेखिएको दोस्रो पत्रको जवाफ नआएको भन्दै पहिलो पत्रको जवाफ पढेर सुनाए । उक्त पत्रअनुसार नेपाल वायु सेवा निगमको दुई वटा एयरवस ३००–२०० खरिदमा भएको भनिएको अनियमितता छानबिनका लागि निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा अख्तियारले ३ जनाको समुह गठन गरी अनुसन्धान गरिरहेको छ ।
‘त्यसमा संलग्न कर्मचारी तथा पदाधीकारीहरुसँग सोधपुछ/वयान प्रारम्भ गर्न लागिएको भन्ने पत्र आएको छ,’ समिति सभापति शाहले भने, ‘यसपछि के भइरहेको छ भनेर अर्को पत्र पठाएका थियौं । त्यसको जवाफ पाएका छैनौं ।’ सभापति शाहले दोस्रो पत्र अख्तियारलाई कहिले लेखेको हो भन्ने जानकारी भने दिएनन ।
अख्तियारले समितिलाई लेखेको पहिलो पत्रमा अनुसन्धान प्रक्रियालाई तिव्रता दिइएको उल्लेख छ । उक्त पत्रमा अनुसन्धान अधिकृतहरुले वाइडबडी एयरवस खरिद सम्बन्धमा भएको निर्णय र सोसंग सम्बन्धित काजजात लिई, थप कागजात लिन सम्बन्धित निकायमा पत्राचार गरेको र प्राप्त कागजातको अध्ययन/विश्लेषण गरेको जानकारी दिइएको छ ।
अख्तियारले कागजात अध्ययनको क्रममा थप विषयवस्तुमाथि प्रष्ट हुनुपर्ने भएकाले पुनः कागजात उपलब्ध गराउन पत्राचार गरी अनुसन्धानको कार्यलाई तिव्रता दिएको पनि बताएको छ ।
प्रतिक्रिया 4