Comments Add Comment

नारायणी अस्पतालको बोर्ड फेरियो, सेवा र जनशक्ति उस्तै

२९ फागुन, वीरगञ्ज । टर्सरी अस्पतालमा रुपान्तरणको प्रक्रियामा अघि बढेको नारायणी अस्पतालको बोर्ड फेरिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको बोर्ड मात्रै रहेको अस्पतालमा बुधबार बिहान नारायणी अस्पताल लेखिएको बोर्ड लगाइएको हो ।

स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दावी गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवले अस्पतालमा स्थापना गरिएको नयाँ बोर्डको उद्घाटन गरे । सांसद यादवले नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल भइरहेको जानकारी दिए ।

संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्षसमेत रहेका सांसद यादवले संघ सरकारको रकमबाटै अस्पतालको भवन निर्माणको काम सुरु गर्न लागिएको बताए ।

तीन दिनदेखि इन्जिनियरहरुले नारायणी अस्पतालको भवन निर्माण हुने ठाउँको माटो परीक्षण गरिरहेको जानकारी उनले दिए ।

कागजमा स्तरोन्नती भयो, जनशक्ति र सेवामा सुधार छैन

बोर्ड लाग्दासम्म अस्पतालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा कुनै परिवर्तन भएको छैन । नारायाणी उपक्षेत्रीय अस्पताल रहँदा कै सेवा सुविधा र चिकित्सकहरु यथावत नै छन् ।

नारायणी अस्पतालले छाती, इन्डोक्राईनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स-रे , भिडियो एक्स-रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवासमेत दिँदै आएको छ । तर, टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग छैन ।

अस्पतालमा हाल छात्ती रोग विशेषज्ञ २ जना, इन्डोक्राईनोलोजिष्ट एकजना, ग्याष्ट्रियोलोजीमा १, सर्जरीमा ८, अर्थोमा स्पाईन सर्जन १, गाइनो वार्डमा ८ जना, हाडजोर्नी विभागमा ६ जना, छाला रोग विशेषज्ञ २ जना, फेमिली फिजियसन (एमडीजीपी) २ जना, बाल रोग विशेषज्ञ ४ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा यसअघि मानसिक रोग विभागमा ११ औं र ९ औं गरी दुई वटा दरबन्दी थियो । तर, ११ औं तहको दरबन्दी खारेज गरिएको छ । ९ औं तह मात्रै कायम छ । जसका कारण अस्पतालमा कार्यरत चिकित्सक काजमा काम गर्न बाध्य छन् । अस्पतालमा नाक कान घाँटी विभाग छ तर चिकित्सक नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा अझै जनशक्ति आवश्यक रहेको मेडिकल सुपरीटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिए । ‘स्तरोन्नतीपछि अब अस्पतालमा धमाधम पूर्वाधार निर्माणको काम सुरु हुन्छ । सँगसँगै जनशक्तिका लागि पनि पहल गर्नुपर्छ,’ उनले भने, ‘अस्पतालमा कम्तिमा न्युरो, नेप्रोलोजी, प्लाष्टिक एण्ड वर्न सर्जरी, कार्डियो फोरेसिभ एण्ड भेस्कुलर सर्जरी लगायतका सुविधा दिन सक्नुपर्छ ।’

नेपाल सरकारको मन्त्री परिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, कोशी अञ्चल अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

नागरिकको आधारभूत स्वास्थ्य सेवाका साथै विशेषज्ञ सेवाहरुको सहज पहुँचका लागि ती अस्पतालहरुलाई संघीय सरकार अन्र्तगत राखी व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाँच वटै अस्पतालहरुको मापदण्डमा एकरुपता गर्दै जनशक्ति तथा स्रोत व्यवस्थापन, पूर्वाधार विकासमा ध्यान दिने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ ।

जग्गा सिफारिसको प्रक्रिया चल्दै

अस्पतालको स्तरोन्नतीका लागि केन्द्र सरकारले २० विघा जमीन खोजेपछि वीरगञ्ज महानगरपालिकाले १४ विगाहा जग्गा खोजेको छ ।

वीरगञ्ज महानगरपालिकाले वडा नं २१ (साविक लिपनीविर्ता गाविस वडा नं २) परवानीपुर त्रिभुवन राजमार्ग भन्दा पश्चिम तर्फ कित्ता नं २, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १७, १८, १९, २१, २२, २७, ३७, ३९, ४१ र ४३ गरी ०५-१९-९ र वीरगञ्ज महानगरपालिका वडा नं २१ -साविक लिपनीविर्ता गाविस १) परवानीपुर त्रिभुवन राजमार्ग देखि पूर्व तर्फ ताजपुर टोलको कि.न. ८१, १६९ र १७० को ०२-१९-० गरी ०८-१८-९ र लिपनी विर्तामै बाँकी गरी १४ विगाहा जग्गा मेडिकल कलेजका लागि सिफारिसको प्रक्रिया अघि बढेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जग्गा सिफारिसका लागि प्रशासनले समन्वय गरिरहेको जानकारी दिए । अस्पतालको व्यवस्थपकीय र भौतिक पूर्वाधारमा सुधारका लागि पहल भइरहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment