Comments Add Comment

देवघाट छरछरेमा अर्ग्यानिक स्वाद, सांस्कृतिक उत्सव

२ चैत, देवघाट । रुखको फेदमुनि तान खिप्दै ७५ वर्षीया टुरीमाया मगर उनको पछ्यौरी बुनिरहेकी छन् । अर्को रुखको छेलमुन्तिर वनका गिठाको परिकार बिक्रीका लागि राखिएको छ ।

छेवैमा चितकुमारी गुरुङ कादाको सेलरोटी पकाउँदै छिन् । आँखैअगाडि झ्वाइयँ पारेर निकालिएको तात्तातो कोदोको सेलरोटी नौलो मान्दै खाइरहेका छन्, तन्नेरीहरु । अर्को एक कुनामा हिरा गुरुङ तरुल उसिनिरहेकी छन् । त्यहीँ नजिकै पाकिरहेको छ, मासको बटुक । अर्को छेउमा केशु गुरुङ, कृस्ती मगरहरुले भट्माससँग स्थानीय परिकार बाँढिरहेका छन् । पाहुनाहरु मिठो मानेर खाइरहेका छन्, लोकल कुखुराको मासु र तात्तातो सुप ।

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ र २ को सिमाना छरछरे झरनासँगै देखिएको दृश्य हो यो ।

बञ्चरे भीरमुन्तिर गाउँकै अर्गानिक परिकार पस्किएर कालीगण्डकी तिरमा शुक्रबार र शनिबार मेला लाग्यो । देवघाटका यो दुई वडा अझै मोटरबाटोले जोडिसकेको छैन तर, छरछरे पर्यटन महोत्सवले गाउँलेलाई जोडेको छ ।

दुई वडालाई मात्रै होइन, देवघाट धामदेखि मुक्तिनाथसम्मै जोड्ने गरी शालिग्राम करिडोर निर्माण भइरहेको छ । त्यही करिडोरमा पर्ने छरछरे छहरानेर गाउँलेहरु जम्मा भए र पस्किए गाउँको अर्गानिक स्वाद । दुई वडाको बीचमा ठूलो बञ्चरे भीर छ, जसका कारण सडकमार्गले अझै जोडिन पाएको छैन दुई वडा । तर सरकारले छुट्याएको बजेटले बञ्चरे भीरलाई फालेर छिटै दुवै वडा जोडिने आशामा गाउँलेले उत्सव मनाए, नाचे, गाए, रमाए । आफ्नै घर आँगनमा पाक्ने अर्गानिक परिकार खाए र खुसी मनाए ।

शालिग्राम करिडोरलाई प्रदेश सरकारले १ करोड र देवघाट गाउँपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।

ठूलो चट्टानसहित बञ्चरे भीरको अवरोधका कारण अब करिडोर जोडिन जम्मा डेढ किलोमिटरमात्रै बाँकी छ ।

धेरै वर्षअघिदेखि मुगलिन चितवन सडकमा आँखै अगाडि गाडी हुइँकिएको देवघाटको यो क्षेत्रले देख्यो । तर, गाडी चड्ने सुविधा उनीहरुको सपनाको बाधक थियो त्रिशुली नदी । केही समयअघिमात्र देवघाट र दासढुंगा जोड्ने पुल बनेपछि अहिले वडा नम्बर १ सम्म गाडी गडेको छ । अब वडा नं. २ मा बाटो पुग्न बाँकी छ ।

अहिले गाउँलेहरुले छरछरे पर्यटन विकास समिति गठन गरेका छन् । त्यही समितिले छरछरे पर्यटन महोत्सव नाम दिएर गाउँको अर्गानिक स्वाद पस्किएको हो ।

ट्वाक्क अमिलो, पिरो चट्नीसहितको स्थानीय परिकार देख्दा मुख नरसाउने सायदै थिए । सहरका सबैजसो मेला, महोत्सव एकै खालको र दिक्क लाग्दो बन्दै गइरहेका बेला छरछरे महोत्सवले अर्गानिक स्वादमात्रै पस्किएन, गाउँमा पर्यटक लोभ्याउने आशासहित छरछरे छहरामा क्यानोनिङको सफल परीक्षण पनि भएको छ ।

क्यानोनिङ सफल भएपछि गाउँमा पञ्चेबाजा घन्कियो, तन्नेरीहरु जातीय पोषाकमा छमछमी नाचे । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आफैंले क्यानोनिङ परीक्षण गराउने समूह लिएर पुगेका थिए । अर्थमन्त्री गुरुङ, गाउँपालिका अध्यक्ष दुर्गा थापा, पर्यटन विकास समित अध्यक्ष थमबहादुरमग, क्यानोनिङ परीक्षण टोलीलाई स्थानीयले बाजा बजाएर स्वागत गरे ।

स्थानीयले अर्थमन्त्रीसामू आफ्ना समस्या सुनाएका छन् । अर्थमन्त्री गुरुङले शालिग्राम करिडोरको निरीक्षण गदै यो वर्षभित्रै सडक छिचोलिने बताए । उनले सांस्कृतिक सभ्यता, मौलिकता र ऐतिहासिकता जोगाइराख्न आग्रह गरे ।अरुको देखासिकी नगरेर आफ्नो इतिहास  परम्परालाई जोगाउन सके गाउँ समृद्ध बन्ने अर्थमन्त्री गुरुङको भनाइ थयो । देवघाट क्षेत्रमा नयाँ मठमन्दिर बनाउने नाममा पुरानो एतिहासिक महत्वलाई बिर्सने र मास्ने काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment