+
+
Shares

८ लाखलाई हैजाविरुद्ध खोप

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ असोजदेखि बारा र पर्सामा चलिरहेको हैजाविरुद्धको खोप अभियानमा ८ लाखभन्दा बढीले खोप लगाएका छन्।
  • खोप अभियानले पर्साका सबै १४ र बाराका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई लक्षित गरेको छ।
  • खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ र हैजा नियन्त्रणका लागि सरसफाइ र स्वच्छता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्।

४ कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो।

१० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ। यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो।

फाइल तस्वीर।

विज्ञका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारीता ८२ प्रतिशत देखिएको छ। यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालिले खानु हुँदैन।

ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा खोप दिन हुँदैन। तर निको भएपछि खोप दिनुपर्छ।

विगतमा खोप खुवाउँदा वा खोपमा भएको कुनै तत्वको कारणले रियाक्सन भएको भए स्वास्थ्यकर्मीको वा चिकित्सकको परामर्शपछि मात्र खोप दिन सकिन्छ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र, मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ।

हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ। महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार खोप उपचारको विकल्प होइन, तर प्रकोप नियन्त्रणमा सहयोगी भूमिका मात्रै खेल्नेछ।

तर, हैजा नियन्त्रणका लागि सरसफाइ नै पहिलो उपाय हो। हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैलाचालयमा मात्रै दिसा-पिसाब गर्ने, साबुनपानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपाउनुपर्ने उनी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?