
३ चैत, बर्दिवास । महोत्तरीको बर्दिवासमा हुने दोस्रो बर्दिवास महोत्सवमा प्रमुख अतिथि कसलाई बनाउने भन्ने बिषयमा विवाद देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका नेतालाई प्रमुख अतिथि बनाउनुपर्ने दबाब दिएपछि विवाद भएको हो ।
आयोजक बर्दिबास उद्योग वाणिज्य संघले चैत ८ देखि १८ गतेसम्म हुने महोत्सव प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट उद्घाटन गर्ने निर्णय गरेको छ । त्यसअनुसार मुख्यमन्त्रीलाई निमन्त्रणा पनि पठाएको अध्यक्ष प्रहलाद क्षेत्रीले बताए ।
यद्यपी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले महोत्सवमा मुख्यमन्त्री सहभागी हुने वा नहुने औपचारिक जानकारी गराएको छैन ।
यता जिल्लाका नेकपा नेताहरुले भने आफ्नो पार्टीका नेतालाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै दबाव दिएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नगरी प्रमुख अतिथि तोकिएको भन्दै उद्योग वाणिज्य संघको विरोध जनाएका छन् । उनीहरुले नेकपा नेताहरु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल वा स्थानीय तहमा निर्वाचित नेकपा प्रतिनिधिबाट महोत्सव उद्घाटन गराउनुपर्ने अडान राखेका छन् ।
नेकपाले प्रमुख अतिथि परिर्वतन गर्न वा महोत्सव सार्न आयोजकलाई दवाव दिएको छ । नेकपाकै अडानका कारण आइतबार बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।
संघका अध्यक्ष प्रहलाद क्षेत्रीले महोत्सव सम्पूर्ण बर्दिवासबासीको प्रतिष्ठाको बिषय भएको भन्दै प्रमुख अतिथि फेर्ने वा महोत्सव सार्ने विषयले राजनितिक रुपमा राम्रो सन्देश नजाने बताए । ‘प्रमुख अतिथिको लागि (नेकपाबाट) प्रस्ताव आएको छ, संघको बैठक बसेर आधिकारिक धारणा तय गर्छौं’ उनले भने ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले राजनितिक सहमतिबाटै प्रमुख अतिथिको विवाद समाधान गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4