+
+

५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा

रासस रासस
२०७५ चैत ६ गते १२:१६

६ चैत, जाजरकोट । ५१ वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ ।

०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला वन डिभिजन, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत् शिविर गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदाता नामावलीमा समावेश गरेको छ ।

शिविरमा यहाँका धेरै स्थानीयवासीले नागरिकता प्रमाणपत्र लिए भने फोटोसहितको मतदाता नामावली र उद्योग दर्ता गराएका छन् ।

नेपाली नागरिकताको प्रमाणपत्र लिनेमा अधिकांश वृद्धवृद्धा बढी रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले राससलाई जानकारी दिनुभयो । चार दिन सञ्चालन भएको शिविरमा एक हजार १३० ले नेपाली नागरिकता प्रमाणपत्र बनाएका छन् ।

नागरिकता लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएको पाइएको छ । त्यस्तै एक हजार ३४८ ले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

नागरिकताको प्रमाणपत्र लिन यहाँका स्थानीयवासीले आफन्तहरु बोेकेर ल्याएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनका अनुसार बारेकोटका अधिकांश वृद्धवृद्धा, युवायुवती नागरिकता नहुँदा बर्सेनि सरकारी सेवा र मतदान सेवाबाट वञ्चित हुँदै आएका छन् ।

दुर्गम भएकाले बारेकोटमा जिल्लास्थित प्रमुख सरकारी टोली २०२४ देखि अहिलेसम्म कोही नपुगेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिए ।

भौगोलिकरूपमा विकट मानिएका जिल्लाका गाउँगाउँबाट सदरमुकाम आउन अधिकांश ठाउँबाट कम्तीमा तीन दिन लाग्ने गर्दछ । त्यसमा वृद्धवृद्धालाई सदरमुकाम बोकेर ल्याउन सबैभन्दा ठूलो समस्या हुने गरेको छ । जिल्लाका सबै ठाउँ सडक सञ्जालसँग नजोडिएका कारण यहाँका दूरदराजका स्थानीयवासी सजिलै सदरमुकाम आएर फर्कने अवस्था नभएको हो ।

जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम खलङ्गा आउन त झन् निकै समस्या भएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकामा सरकारी सेवा पाउन ठूलै चुनौती मोल्नु पर्दछ ।

दुर्गम गाउँमा सरकारी सेवा प्रभाव, पहुँच र आवश्यकताको अनुगमनसमेत गरेको जिल्लाको उच्च सरकारी टोलीले बारेकोटमा ठूलो समस्या भएको औँल्याएको छ । सडक सञ्जालसँग बारेकोट नजोडिनु, सरकारी सेवा प्रभावकारी गाउँगाउँमा पुग्न नसक्नु, अहिलेसम्म गाउँपालिकाको कार्यालय गाउँमा सञ्चालन हुन नसक्नु, बैंक स्थापना भए पनि कारोबार जिल्ला सदरमुकामबाटै हुनु, टेलिफोन सेवा नहुनु, जडीबुटी संरक्षण गर्न नसक्नु यहाँका मुख्य समस्या हुन् ।

बारेकोटमा आयोडिनयुक्त नुनदेखि औषधि लिनका लागि दैनिक समस्या भएको पाइएको छ । विकास निर्माणका काम छिटोछरितो गर्न सडक नपुग्नु यहाँको मुख्य समस्या रहेको सरकारी टोलीको निष्कर्ष छ । घोडा, खच्चड र आफैँले पिठ्यूँमा भारी बोकेर दैनिक जीवनयापन गर्ने यहाँका स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउन राज्यले भारी लगानी गर्नुपर्ने देखिन्छ । जुम्ला जाने सडकसमेत यही बाटो भएर जाने गर्दछ ।

भौगलिकरूपमा विकट रहेको यो ठाउँबाट सरकारी उच्च स्थानमा तत्कालीन पञ्चायतकालमा दीपबहादुर सिंह मन्त्री हुँदा यहाँ आइपुगे पनि त्यसपछि अहिलेसम्म कोही पनि उच्च स्थानमा पुगेका थिएनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?