+
+

अनुहार होइन, मन रङ्ग्याउँ !

रासस रासस
२०७५ चैत ६ गते १५:३६

“आउ प्रिय हामी मिलेर खेलौ होली

भरिदिन्छु तिम्रो म मायाको झोली

जे जे गर्नु छ आजै समय छँदै गरौँ

कसले देखेको छ र के हुन्छ भोलि ।”

 

चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् ।

 

खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा शहरका विभिन्न स्थानमा म्युजिक सिष्टमसहित बनाइएका मञ्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमाञ्चित बनाएयो । विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरञ्जन लिइरहेका छन् ।

 

विगत वर्षमा जस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ्ग हाल्ने क्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो । होलीकै क्रममा टोखामा व्यस्त भएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले दर्शकलाई भरमग्धुर हसाउन व्यस्त भए भने हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रस्तुत भई होलीका सन्देश प्रस्तुत गरे ।

होलीका लागि गजुरेलको सन्देश छः

 

“जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि

होलीको रङ्ग अहिले दल्नुस् भरे धुनुपर्छ

त्यसैले अनुहार होइन मन रङ्ग्याउनुपर्छ ।”

 

‘रेडियो अडियो’ले नयाँ बानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरञ्जन दिलायो । आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’ को  ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा..” बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए ।

वसन्तपुरमा सदाझैँ यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशी मात्र नभई विदेशीसमेत रमाएका छन् । काठमाडौँका विभिन्न स्थलबाट सवारी साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए । भक्तपुर र पाटन दरबार स्क्यावरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे ।

नायिका तथा निर्देशक दिपाश्री निरौलाले ‘नसारहित सुन्दर जीवन सम्भव छ..’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नं १ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाइन् । निरौलाले भनिन्, “लागुपदार्थ दुव्र्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नु हुँदैन भन्ने हाम्रो सन्देश हो, प्रदेश नं १ बाट यो अभियान शुरु भएको छ ।”

होलीका क्रममा जथाभावी पानी फ्याल्ने र रङ्ग दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ्ग, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ । बढी रङ्ग र माटो दल्दा वा अत्यधिक मादक पदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?