७ चैत, काठमाडौं । मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा विद्यार्थीहरुबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने भएको छ । बिहीबार शिक्षा मन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले बढी शुल्कको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, विद्यार्थी संगठनहरुलगायत सरोकारवाको उपस्थितिमा मन्त्रालयमा बसेको बैठकमा कलेज सञ्चालकले शुल्क फिर्ता गर्ने सहमति गरेको बैठकमा सहभागी अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
रकम फिर्ता गरेको वा नगरेकोबारे विश्वविद्यालयका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि र कलेज सञ्चालकका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गर्ने छन् । पछिल्लो समय पोखराको गण्डकी मेडिकल कलेज र ललितपुर ग्वार्कोको किस्ट मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिएको घटना सार्वजनिक भएको छ ।
सरकारले एमबीबीएसका विद्यार्थीसँग काठमाडौं बाहिरका मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने नियम बनाए पनि गण्डकी मेडिकल कलेजले १० देखि १५ लाखसम्म बढी शुल्क लिएको छ । विद्यार्थीहरुले गण्डकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दासमेत दायर गरेका छन् ।
विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन डा. जगदीश अग्रवालको कार्यालयमा ताला लगाएका थिए ।
रकम फिर्ता हुने भएपछि विद्यार्थीहरुले लगाएको ताला पनि खोलिने भएको छ । कलेजका सञ्चालकविरुद्धको मुद्दा भने फिर्ता लिने सहमति भने नभएको लामिछानेले बताए ।
बैठकमा गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको शैक्षिक कार्यक्रम अनियममित नहुने गरी परीक्षाका निम्ति विशेष व्यवस्था गरी नियमित परीक्षार्थीको रुपमा परीक्षा लिने सहमति पनि भएको छ । त्यस्तै विद्यार्थीलाई शान्ति सुरक्षामा असजिलो महसुस भएमा त्यसको ग्यारेण्टी सरकारले लिने पनि सहमति भएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4