Comments Add Comment

शिलबन्दी गरिएको कपडा ब्लेडले काटेर प्रश्नपत्र चोरी !

१५ चैत, काठमाडौं । लगातार दुई दिन एसईईको प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई आग्रह गरेको छ ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो रात नै आउट भएको थियो । लगातार प्रश्नपत्र आउट भएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र अनुसन्धानका लागि सीआईबीलाई भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

मन्त्री पाखरेलले शुक्रबार सुरक्षा निकाय समेतलाई राखेर आकस्मिक बैठक गरेका थिए । उक्त बैठकमा कसरी प्रश्नपत्र बाहिरियो होला भनेर विश्लेषण समेत भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आठवटै जिम्मामा सुरक्षा निकायलाई सोध्दा शिलबन्दी नखोलिएको पाएको भन्दै संघीय सरकारमाथि प्रदेशलाई बदनाम गर्न खोजेको आरोप लगाएका थिए ।

तर, शिक्षा मन्त्रालयमा भएको छलफलमा सुरक्षा अधिकारीहरुले ब्लेडले प्रश्नपत्र शिलबन्दी गर्न प्रयोग भएको कपडा काटेर प्रश्नपत्र चोरी भएको हुनसक्ने आशंका गरेका छन् ।

बाहिरिएको प्रश्नपत्रसँगै ब्लेड पनि देखिन्छ । प्रश्नपत्र चोरी गर्ने क्रममा हतारमा फोटो खिच्दा ब्डेल पनि आएको हुनसक्छ । तर, यो अनुसन्धानका लागि महत्वपूर्ण सुराक बनेको छ ।

परीक्षा नियन्त्रण बोर्डका अधिकारीहरुका अनुसार एसईईको प्रश्नपत्रहरु शिल गरेर प्रहरीको कडा निगरानीमा राख्ने गरी परीक्षा केन्द्र प्रमुखहरुलाई १५ दिन अगाडि नै पठाइएको थियो ।

परीक्षा सुरु हुनु केहीबेर अगाडि मात्र सम्बन्धित विषयको पोका खोलेर प्रश्नपत्र निकालिन्छ । तर, आउट भएको प्रश्नपत्रसँगै देखिएको ब्लेडले प्रश्नपत्र पोको बानाउन प्रयोग भएको कपडा काटेर प्रश्नपत्र निकालिएको र फोटो खिचेर सबैतिर बाँडिएको संकेत गरेको छ ।

मन्त्री पोखरेलले अनलाइनखबरसँग भने, ‘बाँकी प्रश्नपत्र सुरक्षित छ कि छैन भनेर हेर्न चार घन्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न पनि भनेको छु । यसपछि थप केही खुल्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment