Comments Add Comment

शनिबार आक्रामक, अरु दिन फिल्मको व्यापार ‘ठन्डाराम’

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘साइँली’को शनिबारको व्यापार सुखद थियो । शनिबार काठमाण्डौका मल्टिप्लेक्सहरुमा चलचित्रले पाएको शोज हेर्दा सोल्ड आउट र फिलिङ फास्टमा देखिएका थिए । यसैले पनि यो चलचित्रले राम्रो व्याापर गर्ने अनुमान गरियो ।

शुक्रबार चलचित्रले ओपनिङ कलेक्शन राम्रो गरेन । चलचित्रले क्यूएफएक्समा मात्र १९ शोज पाउँदा दर्शकको उपस्थिती खासै देखिएको थिएन । तर, शनिबारको बिदामा चलचित्रले राम्रै फाइदा लिएको थियो । आइतबारबाट फेरि चलचित्रको व्यापार पुरै खस्किएको छ ।

नेपाली चलचित्रको व्यापार हेर्दा अहिले शनिबार केही आक्रामक हुने र त्यसपछि खस्किने देखिएको छ । शुक्रबार चलचित्रको व्यापार कमजोर देखिएको छ । शनिबार प्रचार ठिकै भएका चलचित्रले दर्शक राम्रै बटुलेका छन् । तर, आइतबारदेखि भने चलचित्रको व्यापार ठन्डाराम देखिएको छ ।

फागूण १७ गते रिलिज भएको चलचित्र ‘क्याप्टेन’मा पनि यही समस्या देखिएको थियो । शुक्रबार फितलो ओपनिङ गरेको चलचित्र हेर्न शनिबार सिंगल र मल्टिप्लेक्समा दर्शक उर्लिए । आइतबारदेखि फेरि सुस्ताएको चलचित्रको व्यापार शिवरात्रीको बिदामा फेरि उकासियो ।

चलचित्रले दर्शक हलसम्म तान्न फेरि दोश्रो हप्ताको शनिबार कुर्नुपर्यो । नेपाली चलचित्र हेर्न अहिले शनिबार र बिदा बाहेक अरु दिनमा दर्शकको उपस्थिती निकै नै कमजोर देखिन थालेको छ । शुक्रबार र शनिबार स्टार र क्रेजको आधारमा पनि चलचित्रले कमाई राम्रो गर्नुपर्ने हो । तर, शुक्रबार नै दर्शक भड्किएका छन् ।

नेपालमै बलिउड चलचित्रको व्यापार हेर्ने हो भने शुक्रबार, शनिबार, आइतबारको ग्राफमा खासै फरक पर्दैन । तर, नेपाली चलचित्रको व्यापार खस्किनुको पछाडि दर्शकले नेपाली चलचित्रलाई पत्याउन छाड्नु हो ।

समिक्षकले निकै राम्रो भनेका चलचित्रले पनि आइतबारदेखि दर्शक तान्न सकेको पाइदैन । यसकोकारण, नेपाली चलचित्रप्रति दर्शकको विश्वास कम हुनु हो । ‘बुलबुल, साइँली’लाई समिक्षकले निकै नै राम्रो भनेपनि दर्शकले भने त्यसमाथि पनि विश्वास गर्न नसकेको अवस्था हो ।

शनिबारको एक दिने व्यापारले मात्र चलचित्रको लगानी सुनिश्चित हुँदैन । यसका लागि चलचित्रले एक साता राम्रै कमाई गर्नुपर्छ । तर, नेपाली चलचित्रको व्यापारको ग्राफ हेर्दा दयनिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment