Comments Add Comment

सुनमा कोटा प्रणाली खारेज गर्न व्यवसायीको माग

१७ चैत, बुटवल । सुन आपूर्तिमा लगाइदै आएको परिमाणात्मक बन्देज र कोटा प्रणाली खारेज गर्न व्यवसायीले माग गरेका छन् ।

सुनको आपूर्तिमा रहेको परिमाणात्मक बन्देजका कारण विकृति बढेको भन्दै ब्यवसायीलाई पनि प्रतिस्पर्धात्मक आपुर्तिको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सुनमा लगाईंदै आएको कोटा प्रणालीलाई खारेज गरी ओपन जनरल लाइसेन्स (ओजीएल) प्रणालीबाट सुनको आयात खुला गर्न माग गरेको हो ।

महासंघले सुनचाँदीको कारोबारलाई नियमन गर्ने स्पष्ट ऐन कानुनको अभाव रहेको भन्दै ऐन कानुन बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा दैनिक सरदर ३० देखि ३५ किलोग्राम सुनको माग भए पनि आपूर्ति भने २० किलोग्राम मात्र हुने गरेकाले अभाव हुंदा विकृतिहरु जन्मिएको महासंघको तर्क छ ।

महासंघका अध्यक्ष मोहन सुनारले सुनचाँदी व्यवसायमा देशभर २२ हजार भन्दाबढी ब्यवसायी आवद्ध रहेका, करिब तीन लाख जनाले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाएका, राजश्वमा बार्षिक ८ अर्बको योगदान गरिरहेको ब्यवसाय नियमन गर्ने कानून नरहेको बताए । कानून नहुँदा सुनचाँदीका गहना खरिदबिक्री र कारोबारमा अन्यौल बढेको उनले गुनासो गरे ।

स्पष्ट ऐन कानूनको अभावमा सुनचाँदी र गहनाहरु देशभित्र ओसारपसार गर्दा पक्राउ पर्ने र राजश्व अनुसन्धान विभागमा बुझाउने गर्दा ब्यवसायी अप्ठेरोमा परेकाले बिल बिजक भएका गरगहनाहरुलाई ओसारपसार गर्न दिनुपर्ने उपाध्यक्ष माणिकरत्न शाक्यले माग गरे ।

सुनचाँदी व्यवसायमा ७५ प्रतिशत कारिगढ भारत पश्चिम बंगालका रहेको उल्लेख गर्दै उपाध्यक्ष शाक्यले सरकारले स्वदेशमै कालिगढ उत्पादनका लागि आवश्यक तालिम दिन सातै प्रदेशमा तालिम केन्द्रहरुको स्थापना गर्न माग गरे ।

एकजना कालिगढले मासिक सरदर ३० हजारदेखि ४० हजार रुपैयाँ आम्दानी गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाह बताउँछन् । यस हिसाबले वर्षेनी करोडौं रकम भारत गएको छ ।

सुरक्षाको दृष्टिले संवेदनशील व्यवसाय भएको र बिभिन्न स्थानहरुमा चोरी, लुटपाट एवं सांघातिक आक्रमणका घटनाहरु भइरहेकोले आवश्यक शान्ति सुरक्षाको ब्यवस्था गर्न पनि महासंघले सरकारसंग माग गरेको छ ।

नेपालबाट सुनचाँदीका गरगहना निर्यातको लागि सरल नीतिगत ब्यवस्थासंगै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको लागि हल मार्किङ ब्यवस्था छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन पनि महासंघले माग गरेको छ ।

महासंघले नेपालमा उत्खनन् भएका बहुमूल्य तथा अर्ध बहुमुल्य पत्थरको कटिङ र प्रोसेसिङको लागि उच्च प्रविधियुक्त उद्योग एवं यसको निर्यातको लागि गुणस्तर प्रमाणीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला स्थापना गर्न पनि सरकारसंग माग गरेको छ ।

झिटीगुन्टा भारीको प्रावधान अनुसार सुन ल्याउदा र बैंकले सुन ल्याउँदा लाग्ने भन्सार समान गर्न पनि व्यवसायीले माग गरेका छन् । महासंघको छैठौं वार्षिक साधारणसभा रुपन्देहीको मणिग्राममा सोमबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment