+
+
Shares

स्यूचाटार सहकारीले ६ वर्षसम्म पनि दिएन निक्षेप फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १७:१०

१८ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका स्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले निक्षेप फिर्ता दिन आनाकानी गरेको छ । निक्षेपकर्ताको मृत्यु भए पछि उनले रोजेको हकवालालाई निक्षेप फिर्ता नदिएर सहकारी संस्थाले आनाकानी गरेको हो ।

दीलिपबहादुर गौतम क्षेत्रीले नागार्जुन नगरपालिकामा रहेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेर खाता नं. ०००१२१ मा ३ लाख ६२ हजार रुपैयाँ जम्मा गरेका थिए ।

उक्त सहकारीमा एकल खाता खोलेर शेयरधनीसमेत रहेका क्षेत्रीको ०६९ साल २ महिना ३ गते निधन भएको थियो । बावुको निधन पछि निक्षेप फिर्ता माग्न सहकारी संस्था पुगेका क्षेत्रीका छोरा रबी क्षेत्रीलाई सहकारी संस्थाले ६ वर्षदेखि निक्षेप फिर्ता दिन आनाकानी गरेको छ ।

बावुको मृत्यु पछि काजकिरिया सकेर निक्षेप फिर्ता लिन सहकारी पुगेका रबीलाई सहकारी संस्थाले एक महिना पछि आउन भनेका थिए ।

‘म एक महिना पछि निक्षेप फिर्ता लिन सहकारी संस्था पुगे तर, तँ हकवाला होइनस् भने’, क्षत्रीले भने, ‘मेरो बुवाले बचत गर्दा इच्छाइएको व्यक्तिमा मेरो नाम लेख्नु भएको थियो, त्यसलाई काटेर अर्को एक महिलाको नाम लेखिएको रहेछ ।’

रबीले अनलाइनखबरलाई उपलब्ध गराएको कागज अनुसार रबीको नाम काटेर इच्छाइएको व्यक्तिमा रमा क्षेत्री लेखिएको छ । सहकारी संस्थाले पनि उक्त कागजमा इच्छाइएको व्यक्तिको नाम केरमेट गरेर अर्को नाम लेखिएको स्वीकार गरेको छ ।

संस्थाका अध्यक्ष साधुराम गौतमले केरमेट गरेको स्वीकार गर्दै भनेका छन्, ‘इच्छाइएको व्यक्तिको नाममा पहिले रबी कै थियो थियो, पछि रबीको बुवा दीलिपबहादुरकै आग्रहमा अर्को नाम लेखिएको हो ।’

अर्कै महिलाको नाम इच्छाइएको भन्दै सहकारीले दाबी गरे पछि रबी विगत लामो समयदेखि सहकारी विभागदेखि शिंहदरबारसमेत धाइरहेका छन् । तर, उनले न त निक्षेप फिर्ता लिन पाए न सहकारी संस्थाले ति महिलालाई निक्षेप फिर्ता दियो ।

सहकारी संस्थाले गत मंसिरमा हकदावीका लागि १५ दिने सार्वजनिक सूचना निकाले थियो । हकदावीको १५ दिने सूचना पछि रबीले प्रमाणसहित हकदावी पेश गरे पनि सहकारी संस्थाले दिन मानेन ।

यस अघि हब कसको पुग्ने भन्ने विषयमा अलमल भएका कारण निर्णय गर्न नसकिएको अध्यक्ष गौतमले बताएका छन् । केहिदिन अघि भने सहकारी सञ्चालक समितिले रमा क्षेत्रीलाई निक्षेप रकम फिर्ता दिने निर्णय भएको उनले बताए ।

के का आधारमा निर्णय गर्नु भएको हो त भन्ने प्रश्नमा अध्यक्ष गौतमले इमेलमार्फत हकदावी निवेदन परेको र यसबारे हकदावी गर्ने रबी क्षेत्रीलाईसमेत जानकारी गराइसकिएको बताए ।

संस्थाको सञ्चालक समितिले रमा क्षेत्री नाम गरेकी महिलालाई निक्षेप फिर्ता दिने निर्णय गरे पनि फिर्ता दिन भने समस्या रहेको संस्थाकै प्रवन्धक रामेश्वर केसीले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सञ्चालक समितिले नै निर्णय गरेको छ तर रमा क्षेत्रीको पर्याप्त प्रमाण पुग्न सक्ने देखिदैन, यसकारण निक्षेप फिर्ता अहिले नै हुन सक्ने सम्भावना छैन ।’

आफूलाई नदिने निक्षेप फिर्ता नदिने नियतले यस्तो निर्णय भएको रबीले बताएका छन् । हकदावीको आवेदन पर्दा हालसम्म पनि भुक्तानी नदिनुले नै सहकारीको नियत प्रष्ट भएको उनको दावी छ ।

‘यो निर्णय ठिक छैन, सहकारीले हकदावीको सूचना निकालेको यत्रो दिन भइसक्यो, तर किन दिएन ?’ रबीले भने, ‘मलाई नै दिनुपर्छ भन्ने छैन, तर प्रमाण पुगेको भए त जसलाई दिए पनि भयो नि ।’ रबीले आफूलाई सहकारी संस्थाले जालझेल गरेर अन्याय गरेको बताएका छन् ।

उता सहकारी संस्थाले हकदावी दुई वटा हकदावी परेको बहानामा निक्षेप नै बन्धक बनाउन खोजेको छ । यस विषयमा प्रधानममन्त्री तथा मन्त्रिपरिषदका कार्यालय अन्तर्गतको हेल्लो सरकारले पनि विशेष चासो देखाएको छ । हेल्लो सरकारका प्रमुख प्रद्युम्न उपाध्यायले यस विषयमा फलोअप भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?