+
+
Shares

दिल्लीको नाटकीय हारले सन्दीपको उत्कृष्ट बलिङ ओझेलमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते ११:०४

१९ चैत, काठमाडौं । क्रिकेट अनिश्चतताको खेल हो भन्ने गरिन्छ । तर, यतिसम्मको अनिश्चिचता पनि सायद कल्पना गरिएको हुँदैन । आईपीएलको इतिहासमै एउटा नाटकीय हार व्यहोर्ने क्रममा दिल्ली क्यापिटल्सले फगत ६ रनका लागि पछिल्लो सात विकेट गुमायो ।

खेल चार ओभर बाँकी हुँदासम्म दिल्लीको जित औपचारिकता मात्र बाँकी रहेको देखिन्थ्यो । एउटा फ्ल्याट पीचमा २१ बलमा २३ रन चाहिने र हातमा ७ विकेट सुरक्षित । मैदानमा दुई अन्तर्राष्ट्रिय स्तरका ब्याट्सम्यान । तैपनि, दिल्लीले १४ रनको पराजय सम्भव तुल्यायो ।

अन्तिम चार ओभरमा मोहम्मद सामी र साम कुरानले खेल नाटकीय ढंगले दिल्लीको पक्षमा मोडिदिएका थिए । यस क्रममा ईंग्ल्यान्डका अलराउन्डर कुरानले ह्याट्रिक विकेटसमेत लिन सफल भए । अन्तिम विकेटका रुपमा सन्दीप लामिछानेलाई बोल्ड गरेसँगै उनको ह्याट्रिक पूरा भएको थियो र पञ्जाबले अविस्मरणीय जित दर्ता गर्‍यो ।

दिल्लीको हारले नेपाली स्पिनर सन्दीप लामिछानेले गरेको उत्कृष्ट बलिङलाई ओझेलमा पारिदिएको छ । बलरलाई कुनै सहयोग नरहेको फ्ल्याट पिचमा पनि सन्दीपले कसिलो बलिङ गर्दै महत्त्वपूर्ण समयमा दुई ठूला विकेट हात पारेका थिए । उनी दोस्रो म्याचमा पनि दिल्लीका सर्वाधिक कम खर्चिला बलर सावित भए । ४ ओभरमा बलिङ गरेका सन्दीपले २७ रन खर्चिएका थिए । यदि दिल्लीले जितेको भए उनी म्यान अफ द म्याचको हकदार बन्न सक्थे ।

चण्डीगढको रंगशालामा पहिलो इनिङको औसत टोटल नै एक सय ८३ रन हो । अर्थात् यहाँको पिच ब्याट्सम्यानलाई स्वर्ग नै मानिन्छ । यस्तो पिचमा सामान्यतया टस जित्नेले ब्याटिङ रोज्छन् । तर, दिल्लीका कप्तान श्रीयस अयरले बलिङ रोजे । उनले सायद आफ्ना बलरहरुमाथि भरोसा गरेका थिए ।

कप्तानको निर्णयलाई सही सावित गर्दै दिल्लीका बलरहरुले राम्रो सुरुवात गरे । क्रिस मोरिसले केएल राहुललाई १५ रनमा र सन्दीपले साम कुरानलाई २० रनमा आउट गरे भने मयंक अग्रवाल रनआउट भए । ५८ रनमा ३ विकेट गुमाएपछि दबावमा आएको पञ्जाबलाई सरफराज खान र डेभिड मिलरले सम्हाले । उनीहरुको आक्रामक साझेदारीले पञ्जावलाई ठूलो स्कोरतर्फ डोर्‍याउने खतरा देखिएको थियो, तर सन्दीपले सरफराजलाई क्याच आउट गराएपछि पञ्जाब फेरि ब्याक फुटमा आयो । जसोतसो पञ्जाबले एक सय ६६ रनको स्कोर खडा गर्‍यो  । दिल्लीका लागि मोरिसले तीन, सन्दीपले २ र कंगिसो रवाडाले २ विकेट लिएका थिए ।

फर्ममा रहेका दिल्लीका ब्याट्सम्यानहरुका लागि एक सय ६७ रनको लक्ष्य सामान्य ठानिएको थियो । तर, अन्तिम क्षणमा कथाले अर्कै मोड लियो । दिल्लीका रिसभ पन्त लगातार दोस्रो छक्का हान्न खोज्दा २९ रनको स्कोरमा आउट भएपछि विकेट पतनको श्रृंखला सुरु भयो । उनीलगत्तै कोलिन इन्ग्राम पनि ३८ रन बनाएर बाटो लागे । त्यसपछि क्रमशः क्रिस मोरिस ०, हनुमान बिहारी २, हर्षल पटेल ०, कंगिसो रबाडा ०, अभेष खान ४ र सन्दिप लामिछाने ० रनमा आउट भए । दिल्लीले १४ रनको अप्रत्याशित हार व्यहोर्‍यो  ।

हिजोको खेलको नतिजालाई लिएर भारतीय क्रिकेट फ्यानहरुले सामाजिक सञ्जालमा थरीथरी बहस गरिरहेका छन् । दिल्लीका फ्यानहरुले म्याच फिक्सिङको आशंका समेत गरेका छन् ।

‘यो इन्डियन प्रिमियर लिग होइन, इन्डियन फिक्सिङ लिग हो,’ ओमार शाहले लेखेका छन्, ‘अन्यथा १७ बलमा ७ विकेट असम्भव हुन्छ,’ हामद आजमले लेखेका छन् ।

यसैगरी प्रशान्त सुक्लाले लेखेका छन्, ‘आईपीएल दर्शकका लागि होइन, बुकीहरुका लागि हो । यहाँ हरेक म्याचको नतिजा पहिल्यै निर्धारित हुन्छ । दर्शकहरु उल्लु बनिरहेका छन् ।’

विजय सरावगी लेख्छन्, ‘आईपीएललाई विश्वकै रोमाञ्चक लिग प्रमाणित गर्नका लागि यस्तो असम्भव स्क्रिप्ट लेखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?