Comments Add Comment

नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहने एडीबीको प्रक्षेपण

२० चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ ।

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।

नेपालका लागि एडीबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्प पछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्‍याएको छ ।’

वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको विश्लेषण छ । ‘यी चुनौतीहरुलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना छ’ एडीबीका आवासीय निर्देशक मुख्तोरले भने ।

कृषि क्षेत्रको वृद्धि ४.५ प्रतिशत पुग्न सक्ने उनको अनुमान छ । जुन गत आर्थिक वर्षमा २.८ प्रतिशत थियो । यो आँकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान छ । थोक तथा खुद्राव्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सलगायतकासेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा उल्लेख छ ।

भारतमा मुद्रास्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने भएकाले मुुद«ास्फीति भने ४.२ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुग्ने अनुमान छ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको छ । पहिलो ६ महिनामा बजेट बचतमा छ । पुँजीगतखर्च बढेपनि यसको कार्यान्वयन भने २२.५ प्रतिशतमात्र छ । यसले फेरि पनि आयोजनाहरुको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हावी हुनेछ’ प्रतिवेदनमा भनिएको छ ।

बढ्दो व्यापार तथा चालु खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेको एडीबीको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्याङ्कले चालु खाता घाटा १.५ बिलियन अमेरिकी डलर पुगेको देखाउँछ जबकी अघिल्लो वर्षको सोहीअवधिको चालु खाता घाटा १.४ बिलियन अमेरिकी डलर थियो ।

विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिररहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ९.३ प्रतिशत पुग्ने अनुमान छ । जुन गत वर्ष ८.२ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment