Comments Add Comment

गुराँस गाउँपालिकामा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम

२१ चैत, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकाले आगामी तीन वर्षभित्र सबै वडा र टोलमा विद्युत विस्तार गरिसक्ने योजना अगाडि सारेको छ ।

गाउँ कार्यपालिकाको बैठकले तीन वर्षभित्र विद्युत विस्तार गरिसक्ने गरी योजना बनाएको हो । कार्यपालिकाले वडानम्बर ५ का अध्यक्ष सुरेन्द्र महतराको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।

विद्युत सेवाबाट गाउँपालिका पछाडि रहेको भन्दै गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले यसको समाधानको लागि गाउँपालिकाले नेपाल विद्युत प्राधीकरणसँग साझेदारी गर्न लागेको बताए ।

प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तरगत गाउँपालिकाले प्रस्तावना पनि पेश गरिसकेको उनले बताए । उनले विगतमा जिल्लाबाट दिइने बजेटमा गुराँस गाउँपालिलाई उपेक्षा भएको भन्दै अब त्यस्तो नहुने बताए ।

गाउँपालिका विद्युतीकरणका संयोजकसमेत रहेका वडानम्बर ५ का अध्यक्ष सुरेन्द्र महताराले सामुदायिक विद्युतीकरणको कार्यक्रमबाट आफूहरुको प्रस्ताव पास भए ३० करोडको कार्यक्रम विद्युतमा संचालन हुने बताए ।

उनका अनुसार यो कार्यक्रम स्वीकृत भए गाउँपालिकाको १० प्रतिशत र नेपाल विद्युत प्राधीकरणको ९० प्रतिशत बजेट हुनेछ । उनले आफूहरुको लक्ष्य कुनैपनि हालतमा पूरा गर्ने गरी गाउँपालिकाको समग्र टिम लागेको बताए ।

गुराँस गाउँपालिका हुँदै जिल्ला सदरमुकामसम्म विद्युतिकरण भएको छ । तर, गाउँपालिकाका ९० प्रतिशत जनताले भने अहिलेसम्म विद्युत उपभोग गर्न पाएका छैनन् । यसअघि गाउँपालिकाका केही टोलहरुमा आफ्नै बजेटमा विद्युत विस्तार भएको छ ।

ग्रामीण क्षेत्रमा मागअनुरुप विद्युत सेवाको पहुँच विस्तार गर्ने उद्धेश्यलेले नेपाल सरकारले सन् २००३ सालदेखि नेपाल विद्युत प्राधीकरणमार्फत सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसकार्यक्रम अन्तर्गत, नेपाल सरकारले कुल विद्युतीकरण लागतमा ९० प्रतिशत योगदान गर्दछ भने सामुदायिक ग्रामीण विद्युतीकरण संस्था वा निकायले बाँकी १० प्रतिशत योगदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment