Comments Add Comment

४ देशको मुद्रासहित एकै परिवारका ५ नेपाली विमानस्थलबाट पक्राउ

२३ चैत, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ नेपालीलाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए । काठमाडौं महानगरपालिका–७ मित्रपार्कका उनीहरु थाई एयरको फलाइट नं. टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै थिए ।

‘विदेशी मुद्रा लिएर विदेश जान लागेको सूचनाको आधारमा चेकजाँच गर्दा ठूलो परिमाणमा ४ देशका मुद्रा भेटिएपछि एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएका छौं’, भण्डारीले एकै परिवारका नाबालकसहित ५ जना पक्राउ परेको पुष्टि गर्दै अनलाइखनखबरसँग भने ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ ।

श्रेष्ठ त्रिभुवन विमानस्थलभित्रका व्यवसायी भएको बताइएको छ ।

पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी सुरक्षा कार्यालयले गरे पनि नाबालकको हकमा के गर्ने भन्ने कानूनी जटिलता उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment