Comments Add Comment

उपत्यकामा फुटपाथ पसल तथा पार्किङ हटाइने

२३ चैत, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।

महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन २१ गतेदेखि नै अभियान सञ्चालन गरिएको जानकारी दिए । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना अगाडि सारेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने बताए । ‘सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण आएसँगै जाम घट्ने विश्वास हामीले लिएका छौँ, उनले भने ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment