Comments Add Comment

भारतीय चुनाव: चर्चामा प्रियंका

भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दलहरु र विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो– भारतीय काँग्रेसले आफ्नो पार्टीको नियन्त्रण आफ्नै बंश र परिवारभित्रै राख्यो ।

उक्त राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्यो, पार्टीको ‘हाइकमाण्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ । त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार ।

सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय काँग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामाकरण नै गरिदिएका थिए । त्यस समय भारतीय काँग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए । यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी थियो । अहिले पनि यो क्रम जारी छ, जुन भारतीय जनता पार्टीमा मात्र सीमित छैन । त्यसमा पनि अहिले फेरि आलोचनाका लागि अर्की पात्र थपिएकी छिन्–प्रियंका गान्धी ।

प्रियंका भारतको पहिलो तथा आजसम्मको एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीकी नातिनी हुन् । उनी राजिव गान्धीकी छोरी । राजिव गान्धी भारतका पूर्व प्रधानमन्त्री । प्रियंकालाई पार्टीमा यसै वर्षको सुरुमा भित्र्याइएको हो ।

पार्टीको महासचिवकै रुपमा भित्र्याइएकी उनलाई हालको आम निर्वाचनमा कांग्रेश पार्टीको मुख्य प्रचारकको रुपमा जिम्मेवारी दिइएको छ विगतका वर्षहरुदेखि भारतीय काँग्रेस पार्टीलाई लाग्ने गरेको आरोपबाट अहिले पनि सो पार्टी अछुतो रहन सकेको छैन । अहिले पनि भारतमा निर्वाचनको चर्चा सुरु भएको र त्यसको केन्द्र भागमा भारतीय काँग्रेस पार्टीको परिवारवाद छ ।

यसअघि आफू पार्टी अध्यक्ष भएर छोरा राहुललाई उपाध्यक्षमा ल्याएको आरोप सोनियालाई लाग्ने गरेको हो र अहिले पनि त्यसमा थपिएको एक विषय हो प्रियंकाको पार्टी प्रवेश । यतिखेर पनि निर्वाचनको प्रचार अभियान र भाषणहरुमा विपक्षीहरुले काँग्रेस पार्टीलाई परिवारवादकै आरोप लगाएका छन् र केन्द्रभागमा परेकी छिन् प्रियंका । भारतका कैयौँ बुद्धिजिबीहरुले लोकतान्त्रिक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रीत हुनु अस्विभाविक हो भनेका छन् । उनीहरुले भारतको प्रजातान्त्रिक आन्दोलनमा गान्धी परिवार एउटा खम्बा हो त भन्छन् तर पनि यसैका नाममा सदा सर्वदा पार्टी उनीहरुकै वरिपरि हुनुपर्छ भन्ने मान्यता चाहिँ गलत हो भन्छन् । यसै सैद्धान्तिक पक्षसँग जोडेर अहिले भारतीय जानकारहरुले प्रियंकाको प्रवेशलाई आलोचनाको विषय बनाएका छन् । उनको विरोध भन्दा पनि गान्धी परिवारले भारतीय काँग्रेसमा वर्चस्व राखेको विषयको आलोचना भएको पाइन्छ ।

भारतमा अगामी मे ११ बाट अप्रिल १९ सम्म आमनिर्वाचन हुन गइरहेको छ । सो निर्वाचन सात चरणको हुने गत मार्च १० मा निर्वाचन आयोगले घोषणा गरेको थियो । सन् २०१४ को निर्वाचनबाट सत्तामा आएको भारतीय जनता पार्टीको यस आम निर्वाचनको परिणाम पनि आफ्नो हातका आउने दाबी छदै नै छ । तर केही महिना अगाडि भएको विधान सभाको निर्वाचनमा विजेपीले बेहोर्नु परेको हारको कारण बिजेपी फेरी सत्तामा आउनका लागि सतप्रतिशत ढुक्क हुन सक्ने अवस्था भने देखिँदैन ।

विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राजनीतिक नेतृत्व १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरु पहिलो प्रधानमन्त्री हुनुभयो । विगत ५ वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट गर्नुभएको नेतृत्व लिने छैठौं व्यक्ति बन्नु भएको छ । उहाँले केही महिना अगाडि आफ्नी बहिनी प्रियंकालाई महासचिव दिएपछि आलोचना भएको थियो । राहुलकी आमा सोनिया सन् १९९८ देखि २० वर्ष काँग्रेसको अध्यक्ष बन्नु भएकोमा नै बढी आलोचना भएको थियो । आलोचना विपक्षी र सो पार्टी भित्र पनि नहुने होइन । पार्टीभित्र पनि अरुलाई अवसर नदिइएको भनी आलोचना हुने गर्दछ ।

तर सो परिवारले गुमाएका अवसरहरुबारे पनि भारतीय समाजले चर्चा गर्नु जरूरी छ । उनीहरुका परिवारका सदस्यहरु जस्तै स्वतन्त्रता संग्रामका समयमा महात्मा गान्धीको साथमा जवाहरलाल नेहरुलगायतका भारतीय नेताको पनि उल्लेख्य योगदान रहेको थियो । गान्धी परिवारका इन्दिरा गान्धी तथा राजिव गान्धीको प्रधानमन्त्री भएकै समयमा भएका हत्या गान्धी परिवारले भारतीय राजनीतिमा लागेकै कारण भएका थिए । गान्धी परिवारको भारतीय राजनीतिमा गरेको त्याग विरलै अन्य परिवारबाट भएका छन् । त्यसको मूल्याङ्कन कतिपय भारतीयले नगर्ने गरेको गान्धी परिवारको गुनासो रहने गरेको छ ।

गत फेब्रुअरीको पहिलो हप्ता काँग्रेस पार्टीको महासचिवको कार्यभार सम्हालेकी प्रियंकालाई उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी दिइएको थियो । महासचिव बनेसँगै प्रियंकाले सक्रिय राजनीतिमा पाइला चालेकी हुन् । तर यसअघि पनि उनी कांग्रेसमा पर्दा पछाडि बसेर काम गरिरहेकी थिइन् । सन् २०१८ मा भएको गुजरात विधानसभा निर्वाचनमा प्रियंकाले राम्रो चुनावी व्यवस्थापन गरेको कांग्रेस नेताहरुको दाबी रहेको छ । सानासाना कुरामा उनले ध्यान दिने उनको बानीले चुनाबमा प्रचार राम्रो भएको थियो । प्रचारको पनि त्यति भोगी नभएकी उनको सन् २०१८ को चुनावी अभियानका बेलामा आफ्नो तस्वीर कतै पनि नआओस् भनी सावधानी अपनाएकी थिइन् । व्यक्तिहरुको ध्यान कांग्रेस अध्यक्ष राहुल गान्धीमै केन्द्रित होस् भन्ने उनको चाहना रहेको थियो । उनको यो चुस्त व्यवस्थापन कलाको भित्रभित्रै विश्लेषण गरेको काँग्रेस नेतृत्वले प्रियंकालाई पार्टीको पदाधिकारीमा सिफारिश गर्ने सोँच उ समयमै बनाएको थियो । तर पनि पार्टी पंक्तिमा बसेर काम गर्ने इच्छा उनले त्यस समय भने नदेखाएको धेरैको तर्क छ ।

कतिपयको विश्लेषण छ– रुप, रङ, लवाई खुवाई, व्यवहार, शैली इन्दिरा गान्धीको जस्तै छ त्यसैले उनी भारतको उच्च नेता बन्छिन् । कांग्रेसको प्रमुख प्रचारकको रुपमा रहेकी प्रियंकाको नम्रताले पनि हाल भारतमा धेरै व्यक्तिको मन छोएको बताइन्छ । भारतलाई माया गर्ने व्यक्तिहरुमा प्रियंकाको साधारण व्यक्तित्वले प्रभाव पारेको छ भनिन्छ ।

सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन् । दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको विवाह भयो । सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीको निर्वाचन प्रचारकको रुपमा काम गरेकी थिइन् । राहुल काँग्रेसको अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुलको सक्रियताका कारण पनि उनी पर्दा पछाडि बसेर काम गरेको बताइन्छ ।

अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो । कांग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि उठेको हो । तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन् । किनभने प्रियंकाले राजनीतिमा पाइला राख्दा नै दिदीभाईको बीचमा आम नागरिकले तुलना गर्न थाल्ने सोनियाको बुझाइ थियो । यसले गर्दा पार्टीमा गुटबन्दी हुन सक्ने पनि उनको अनुमान थियो ।

तर त्यस अनुमानलाई लत्याउँदै सोनिया गान्धीले अहिले प्रियंकालाई सक्रिय राजनीतिमा प्रवेश गर्ने अनुमति दिएकी हुन् । काँग्रेसको आलोचना विगतमा जस्तै छ, उही परिवारवाद । तर पनि एकपछि अर्कोगरी सदा परिवारवादको आरोप लाग्ने गरेकै गान्धी परिवारबाट निस्किएका नयाँ नयाँ सदस्यहरुका कारण आशा पनि थपिँदै छ । यही आशाको केन्द्रमा पछिल्लो समयमा राहुल र प्रियंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment