Comments Add Comment

गाउँमा पनि डिजिटल बैंकिङ

२४ चैत, विराटनगर । मोरङ बैजनाथपुरकी निर्मला सरदार बचत गर्ने पैसा लिएर छिमेकी बिना सरदारको पसलसम्म पुगिन् । रकम बुझाइन् । दुई मिनेटपछि मोबाइलमा एसएमएस आयो- तपाईंको खातामा १० हजार रुपैयाँ जम्मा भएको छ ।

मोरङ झोराहाटकी बिस्नीदेवी सरदारले बैंकलाई बुझाउनुपर्ने किस्ता जम्मा गराइन् । त्यसको सन्देश पनि मोबाइलमा तुरुन्त आयो ।

जीवन विकास समाजले सञ्चालन गरेको लघुवित्त कार्यक्रमका सदस्य हुन् विस्ना र निर्मला । यस्ता सदस्यहरुलाई समाजले ‘डिजिटल सदस्य’ नाम दिएको छ ।

मोबाइल एप्लिकेसनमार्फत नै बचत गर्न, किस्ता तिर्न वा कुनै सामान किन्न सकिने भएपछि बैंक धाइरहनु पर्ने वा नगद बोकेर हिँड्नुपर्ने झन्झट छैन । समाजको डिजिटल सदस्यकहाँ जम्मा गराएको रकम स्वतः ई-मनीमा रुपान्तरण हुने प्रविधि विकास गरिएपछि ग्रामिण क्षेत्रका बासिन्दालाई सहज भएको छ ।

बिना र बिस्नीदेवी हिजो आज मोबाइलबाटै कारोबार गर्छन् । गाउँमै मोबाइल बैंकिङ सुरु भएको छ । पैसा बोकेर हिँड्नु नपरेपछि हराउने, चोरी हुने डर पनि छैन ।

बिस्नी भन्छिन्, ‘सुरुमा आफैंलाई होइन कि जस्तो लाग्छ । तर, हामी गाउँले प्रविधिसँग पनि जोडिएका छौं ।’

पसलमा सामान खरिद गर्दासमेत मोबाइलबाटै रकम तिर्ने व्यवस्था भएपछि ग्रामीण महिलालाई अझ सहज भएको छ । डिजिटल सदस्यको पसलमा जाँदा नगद नभए पनि सामान खरिद गर्न मिल्छ ।

जीवन विकास समाजले सञ्चालन गरेको लघुवित्त कार्यक्रमअन्तर्गत समेटिएका सदस्यलाई मोबाइलबाटै सेवा दिने व्यवस्था गर्दा ग्रामीण महिलासमेत मोबाइल बैंकिङको पहुँचमा पुगेका हुन् ।

डिजिटल सदस्य निर्मला सरदार भन्छिन्, ‘मोबाइल बैंकको सुविधाले पैसा बोक्ने झन्झट छैन । मोबाइलमै बचत हेर्न सकिन्छ । किस्ता रकम बुझाएको विवरण पनि आउँछ ।’

संस्थाको झोराहाट शाखा प्रमुख मैया राईले भनिन्, ‘संस्थाले नै बनाएको मोबाइल एप्समार्फत सेवा सुरु गरिएको छ । बचतकर्ताले रकम जम्मा गरेको रकम शाखा कार्यालयको खातामा सोझै जम्मा हुन्छ र झिके कट्टा हुन्छ ।’

मोबाइल एप्लीकेसनमार्फत दिइने सेवाबाट सेवाग्राहीले आफ्नो एकाउन्टको ब्यालेन्स चेक गर्ने, पैसा झिक्ने र राख्ने काम गर्न सक्ने संस्थाका सूचना व्यवस्थापन विभाग प्रमुख रमेश रायले बताए ।

डिजिटल सदस्य कहाँ बुझाएर वचत गरेको पैसालाई सिस्टमले ई-मनीमा रुपान्तरण गरिदिन्छ । सदस्यले आफूलाई दिएको पिन नम्बर राखेपछि कारोबार हुन्छ ।

आफ्नो बचतको जानकारी, बैंकको किस्ता तिर्नुपर्ने रकम अनि समयबारे पनि थाहा हुन्छ । राय भन्छन्, ‘हामी मर्चेन्ट पेमेन्टको योजनामा छौं । यो प्रविधि आए बिजुलीको शुल्क, मोबाइलमा ब्यालेन्स ट्रान्सफरदेखि ई-बैंकिङअन्तर्गत हुने धेरै काम गर्न सकिन्छ ।’

क्यासलेस कारोबार बढाउन एप्लीकेसनलाई अहिलेसम्ममा संस्थाका १८ हजारभन्दा बढी सदस्यहरुले प्रयोग गरिरहेका छन् । स्मार्टफोन प्रयोग गर्ने ग्राहकहरुले एप्लीकेसन चलाउन सक्छन् ।

समाजका शाखाहरु पेपरलेस भइसकेका छन् । लघुवित्त कार्यक्रमको केन्द्र बैठकमा गई पासबुक भर्ने झन्झटको पनि अब अन्त्य हुने रायले सुनाए ।

जीवन विकासले आफैं निर्माण गरेको अर्को एप्सले कागजको पासबुकलाई विस्थापित गर्दैछ । सबै काम मोबाइलबाटै हुँदैछ ।

एप्लीकेसनको प्रयोगले प्रयोगकर्ताहरुलाई सूचनाप्रविधिसँग नजिक बनाउने काम गरेको छ । क्यासलेस कारोबार गर्ने परिपाटी विश्वमा बढ्दै गइरहेकाले गाउँ गाउँमा सूचना प्रविधिको विषयमा बुझाएर बानी पार्न सक्रिय भएको संस्थाका कर्मचारीहरु बताउँछन् ।

जीवन विकास समाजले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर, सिन्धुलीलगायत देशभरमा ७० भन्दा बढी शाखाहरुमार्फत दुई भन्दा लाख बढी सदस्यहरुलाई वित्तीय तथा सामाजिक सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment