Comments Add Comment

आरुघाटमा घरगोठको लगत संकलनमा अवरोध

पहिले मुआब्जा तोक्न माग

२४ चैत, गोरखा । मुआब्जा नतोकेको विरोधमा बुुढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजारका वासिन्दाले घरगोठ, फलफूल र बोटबिरुवाको लगत लिन आएको टोलीलाई अवरोध गरेको छ ।

तथ्याङ्क संकलनका लागि आरुघाट पुगेको बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइको टोलीलाई स्थानीयले फर्काइदिएका हुन् ।

स्थानीय वासिन्दाले सबैभन्दा पहिले जग्गाको मुआब्जा निर्धारण गर्न माग गरेका थिए । ‘लगत संकलनका लागि छलफल गर्न आउनुभएको थियो,’ बुढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन्नाथ खनालले भने, ‘पहिले जमिनको मुआब्जा निर्धारण गर्नुस् अनि घरगोठको लगत संकलन गर्न दिन्छौं भनेपछि उहाँहरु फर्किनुभयो ।’

अन्य क्षेत्रको मुआब्जा निर्धारण भएर वितरण भए पनि गोरखातर्फ आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । मुआब्जा निर्धारणको माग गर्दै स्थानीयले आन्दोलन पनि गर्दै आएका छन् । ‘पहिले मुआब्जा निर्धारण गरेर लगत संकलन गर्नुपर्नेमा आयोजनाले उल्टो काम गरिरहेको छ, अरु ठाउँको तीन बर्षअघि मुआब्जा निर्धारण भएर वितरण भइरहेको छ हाम्रो अहिलेसम्म निर्धारण गरेको छैन,’ खनालले भने ।

इकाइले फागुन २३ गतेबाट घर, गोठ र बोटविरुवाको लगत संकलन सुरु गरेको थियो । डुवान क्षेत्रमा पर्ने अन्य केही ठाउँका वासिन्दाले पनि पहिले घर, गोठ र बोटविरुवाको दररेट निर्धारण गरेर मात्र लगत संकलन गर्नुपर्ने भन्दै लगत संकलनमा अवरोध गरेका छन् । इकाइ प्रमुख कृष्ण कार्कीले केही ठाउँमा लगत संकलन सकिएको र केही ठाउँमा आधा भएको दावी गरे । बैशाख महिना भित्र लगत संकलनको काम सक्ने लक्ष्य आयोजनाको छ ।

लगत संकलनका लागि शहरी बिकास तथा भवन कार्यालय, कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयका प्राविधिकहरु खटिएका छन् । प्रत्येक कार्यालयबाट ४÷४ जना गरी कुल १२ जना प्राविधिक खटाइएको एकाइ प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment