
२६ चैत, बुटवल । अर्घाखाँचीमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।
पछिल्लोपटक मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नंं १२ डिभर्नाकी ३० वर्षीया बिष्णुमाया श्रेष्ठ हुन् । श्रेष्ठको युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो ।
सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गर्दा लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेबाँझ भन्नेस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य र ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना तथा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।
पछिल्लोपटक मृत्यु भएकी विष्णुमाया प्रिन्सकी आमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
जिपमा १८ जना यात्रु थिए । घाइतेहरुमध्ये ८ जनालाई थप उपचारको लागि रिफर गरेको र अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते सोनु शाहीले चालक र सहचालक युवतीसँग जिस्किँदै गर्दा दुर्घटना भएको बताएकी छन् । प्रहरीले भने उकालोमा ब्रेक फेल भएर जिप सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिक्रिया 4