Comments Add Comment

पहिलोपटक खिचियो ब्ल्याक होलको तस्वीर

२७ चैत, काठमाडौं । भूगर्भशास्त्रीहरुले पहिलोपटक ब्ल्याक होलको तस्वीर लिएका छन््, जुन सुदुर ग्यालेक्सीमा अवस्थित छ । ४० अर्ब किलोमिटरमा फैलिएको तथा पृथ्वीभन्दा ३० लाख गुणा ठूलो ब्ल्याक होललाई वैज्ञानिकहरुले ‘मोन्स्टर’ को संज्ञा दिँदै आएका छन् ।

विश्वका विभिन्न स्थानमा राखिएका आठ टेलिस्कोपको टेनवर्कबाट ५० करोड खर्ब किलोमिटर टाढा रहेको ब्ल्याक होलको तस्वीर खिचिएको हो । यसको विस्तृत विवरण आज एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित छ ।

यस अनुसन्धानमा संलग्न नेदरल्यान्डका प्रोफेसर हेइनो फाल्केले एम ८७ आकाशगंगामा ब्ल्याक होल भेटिएको बीबीसीलाई बताए । ‘हामीले जे देख्यौं त्यो सम्पूर्ण सौर्यमण्डलभन्दा ठूलो छ,’ उनलउे भने ।

यसको घनत्व सूर्यभन्दा साढे ६ अर्ब धेरै रहेको उनले बताए । ‘हामीले सोचेको मध्ये यो एउटा ठूलो ब्ल्याक होल हो । यसलाई ब्रम्हान्डका ब्ल्याकहोलहरुको च्याम्पियन भने पनि हुन्छ,’ फाल्केले भने ।

के हो ब्ल्याक होल ?

ब्ल्याक होल भनेको अन्तरिक्षमा रहेको कालो प्वाल हो जुन सानो वा ठूलो हुन्छ । ब्ल्याक होलमा यति धेरै गुरुत्वाकर्षण हुन्छ कि प्रकाशको उज्यालो पनि बाहिर जान सक्दैन ।

पृथ्वीमा हुने एक मिलिग्राम तौल त्यस ब्ल्याक होलमा एक करोड किलो वा त्यो भन्दा पनि धेरै हुन सक्छ । अधिक गुरूत्व शक्तिले गर्दा त्यसभित्र हरेक चिजहरू खुम्चिएर खाँदिएर रहेका हुन्छन् । एउटा भान्छा कोठाको जति क्षेत्रमा पुरै पृथ्वी अटाउन पनि सक्छ ।

प्रकाश बाहिर आउन नसक्ने भएको हुनाले त्यसको रंग पनि थाहा हुँदैन । त्यसैले त्यो खुल्ला आँखाले देख्न सकिँदैन । वैज्ञानिकहरूको विशेष उपकरणको माध्यमबाट मात्रै ब्ल्याक होलको पत्ता लगाउन सकिन्छ । ब्ल्याक होलका नजिकै रहेका अन्य ताराहरूको अचम्मको हलचल नियालेर वैज्ञानिकहरूले ब्ल्याकहोलको स्थान पत्ता लगाउन सक्छन् ।

ब्ल्याक होल सानो पनि हुन्छ र ठूलो पनि । वैज्ञानिकहरूको भनाइअनुसार ब्ल्याकहोल सानोमा एउटा सुक्ष्म परमाणुको रूपमा मात्रै पनि हुनसक्छ तर, त्यसभित्र रहेको घनत्व भने पुरै सरगरमाथाभन्दा पनि ठूलो हुनसक्छ । ब्ल्याक होलभित्र सजिलै २० वटा सुर्य अटाउन सक्छन् ।

कसरी बनेको हुन्छ ?

वैज्ञानिकहरूको भनाइ अनुसार ब्रम्हाण्डको स्थापना हुँदा नै साना–ठूला ब्ल्याक होलाहरू बनेका हुन् । ताराहरू नष्ट भएर त्यस तारा बराबरको आकारमा ब्ल्याक होलको निर्माण भएको विश्वास गरिन्छ । ठूला ब्ल्याक होल चाहिँ अलग–अलग ग्यालेक्सीहरू छुट्टिने क्रममा विभिन्न ठुला ताराहरूका गुरूत्व शक्तिहरूबाट बनेको हुनसक्ने अनुमान छ ।

सबैभन्दा ठूलो ब्लाक होललाई ‘सुपरम्यासिभ’ भनिन्छ । यस्ता ब्ल्याकहोलहरूमा दस लाख सूर्य अटाउन सक्ने क्षमता हुन्छ । यस्ता ब्ल्याक होलहरूले आफ्नो वरपर जेजे हुन्छ सबै निलिदिन्छ । वैज्ञानिकहरूले पत्ता लगाएका अनुसार प्रत्येक ग्यालेक्सीको बिचमा एउटा सुपरम्यासिभ ब्ल्याक होल रहेको हुन्छ । हाम्रो ग्यालेक्सी मिल्की वेको विचमा रहेका ब्ल्याक होलको नाम (सागिटारियस) क्बनष्ततबचष्गक हो । जसको क्षमता ४० लाख सुर्य वरावरको छ र यसले पृथ्वीजस्ता लाखौं ग्रह अथवा ताराहरूलाई सजिलै भित्र निल्न सक्छ ।

के ब्ल्याक होलले पृथ्वीलाई नष्ट गर्छ ?

ब्ल्याक होलले ग्रह र ताराहरू नष्ट पार्छ तर त्यसले ग्रह र ताराहरू कता छ भनि खोजी गर्दै नष्ट गर्दै हिँड्ने गर्दैन । कुनै पनि ग्रह अथवा ताराहरू आफ्नो बाटोमा हिँड्ने क्रममा ब्ल्याक होलमा पर्ने हो । पृथ्वीको घुम्ने रेखाहरूमा ब्ल्याक होल छैन । र पृथ्वीले कुनै ब्ल्याक होललाई परिक्रमा पनि गर्दैन ।

हाम्रो ग्यालेक्सीमा ठुल्ठुला ब्ल्याक होल भए पनि ती पृथ्वीभन्दा धेरै टाढा छन् । अझै केही लाख वर्ष पृथ्वीको भेट कुनै पनि ब्ल्याक होलसँग नहुने वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकहरूले अन्तरिक्षमा ब्ल्याक होलको अध्ययनका लागि विभिन्न किसिमका यानहरू पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment