Comments Add Comment

सरकारले अधिग्रहण गरेको ललितानिवासको जग्गा धितो राखेर अर्बौं ऋण प्रवाह

२८ चैत, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । केहीले चिकित्सकको आन्दोलनले सेवाप्रवाहमा परेको असरबारे लेखेका छन् भने कुनैको नजर भद्रगोल उडानमाथि परेको छ । त्यस्तै, ललितानिवास जग्गा खरीद प्रकरण, भारतीय चुनावलगायत विषयको ‘कभरेज’ पनि आजका पत्रपत्रिकाहरुमा छ ।

कान्तिपुर दैनिकको नजर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमाथि परेको छ । समाचार अनुसार, पछिल्ला केही समययता उडान भद्रगोल बनेका छन् ।

उडान गर्न नमिल्ने सूचना (नोटाम) जारी भएको १७ मिनेटपछि समेत फ्लाई दुबईलाई उडान अनुमति दिइएको छ भने ट्याक्सी वेमा पुगेको जेटको विमानमा पाइलटले इन्धन अभाव भएको जनाउँदै पुनः पार्किङमा ल्याई तीन यात्रु थपेका छन् । पछिल्ला उडानमा यस्ता कैयन बेथितिहरु देखिएको कान्तिपुर समाचारको सार छ ।

कान्तिपुर लेख्छ– धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरु देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाइ दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षेत्री अनुसन्धानमा तानिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा विचाराधीन विषयमा परिपत्र नगर्न सरकारलाई निर्देशन दिएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । दोलखामा शुरु गरिएको पाहा पालनलाई कान्तिपुरले एंकर बनाएको छ । दोलखाको मेलुङ–५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पोखरीमा पाहा पाल्न सुरु गरेका हुन् ।

नागरिकले ललितानिवासको जग्गा धितो राखेर कर्जासमेत लिइएको लेखेको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको समाचारमा लेखिएको छ ।

नागरिकका अनुसार, ललितानिवासको तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणालगायतबाट ०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानूनी रुपमा बेचिएको जग्गा धितो स्वीकारेर करिब १ दर्जन बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका हुन् । सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरुले प्रवाह गरेको कर्जा रकम के हुने भन्ने अन्योल देखिएको छ ।

स्रोतको हवाला दिँदै नागरिकले नेपाल इन्भेष्टमेन्ट बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंकलगायतले सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थालाई ऋण प्रवाह गरेको लेखेको छ ।

अन्नपूर्णले अलि फरक विषय, सन् २०१२ देखि ब्ल्याक होलको खोजीमा रहेका वैज्ञानिकले खिचेको त्यसको तस्वीरबारे मुख्य समाचार लेखेको छ ।  आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्षलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ ।

राजधानीमा स्थानीय तहमा १५ हजार कर्मचारी अभाव भएको समाचार छ भने गोरखापत्रले सफाइमा लोकप्रिय बन्दै गएको ट्रयास च्यालेन्जबारे एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment