Comments Add Comment

सन्दीपलाई दीपेन्द्रको सन्देश : अझै होसियार भएर खेल

२९ चैत, काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्सले आफ्नो सातौ खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध राति ८ बजेर १५ मिनेटमा खेल्दैछ । नेपालीहरुको चासो चाहिँ एउटै छ, सन्दीप लामिछाने प्लेइङ ११ मा पर्लान् कि नपर्लान् ?

सन्दीप पछिल्लो चार खेलमा दिल्लीको टिममा नियमित पर्दै आएका छन् । तर, पछिल्लो दुई खेलमा उनको प्रदर्शन सन्तोषजनक हुन सकेन । यद्यपि, खेलेको चार खेलमा पाँच विकेट लिन सफल भएकाले उनलाई असफल ठहर्‍याइहाल्न भने मिल्दैन ।

नेपालमा क्रिकेट फ्यानहरुले जस्तै क्रिकेट खेलाडीहरुले पनि आईपीएलमा सन्दिपको खेल पछ्याइरहेका छन् । जसमध्ये एक हुन् दीपेन्द्र सिंह ऐरी । दीपेन्द्र सिनियर टिमका भरपर्दा सदस्य हुन् भने उनले सन्दीपसँग यू–१९ क्रिकेट टिमबाट पनि सँगै क्रिकेट खेलेका थिए । आईपीएलमा सन्दीपको प्रदर्शनलाई राम्रोसँग नियालेका दीपेन्द्र के सोचिरहेका होलान् ?

उनी भन्छन्, ‘सन्दीपले पाएको अवसरलाई क्यास गर्नुपर्छ । अझै होसियार भएर विकेट राम्रो बुझेर बलिङ गर्नुपर्छ ।’

त्यसो त, जारी आईपीएलमा स्पिनर खासै जम्न सकिरहेका छैनन् । रासिद खान, युजभेन्द्र चाहार जस्ता विश्वस्तरीय बलरको प्रदर्शन पनि उति दमदार छैन । यस्तो अवस्थामा सन्दीपको प्रदर्शनलाई कमजोर मान्न मिल्दैन । तर, पनि उनलाई टिममा आफ्नो स्थान सुरक्षित राख्न भने त्यति सजिलो छैन । किनकी दिल्लीसँग उनीबाहेक अमित मिश्र, अक्षर पटेलजस्ता स्पिनर पनि छन् ।

दीपेन्द्र भन्छन्, ‘सन्दीपलाई टिममा पर्न त्यति सजिलो चाहिँ छैन । विदेशी खेलाडी मात्रै हैन दिल्लीको टिममा भारतीय खेलाडी पनि राम्रा छन् । टिममा पर्नका लागि पनि मिश्र र सन्दीपको प्रतिस्पर्धा हुन्छ । मिश्रलाई बेन्चमा राखेर दिल्लीले सन्दीपलाई खेलाइरहेको छ ।’

दीपेन्द्रको विश्लेषणमा सन्दीप दिल्लीका लागि नियमित खेल्न सक्छन् ।

‘सम्भावना देख्छु म । किनभने दिल्लीको टिममा ब्याटिङ राम्रो छ । भारतीय ब्याट्सम्यान पनि राम्रा छन् । त्यसकारणले गर्दा मेरो विचारमा सन्दीपले आगामी खेल पनि निरन्तर खेल्छ जस्तो लाग्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment