Comments Add Comment

बिजुली बस किन्दा नै बदमासी

२९ चैत, काठमाडौं । ठूलो तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरको बिजुली बस सर्वसाधारणले चढ्न नपाउँदै फिर्ता भयो ।

बस चीनमा बनेको कि भारतमा भन्ने विषयमा सरकार र आपूर्तिकर्ता व्यवसायीबीच ठूलै विवाद भयो । अन्ततः सरकारले केही समय सडकमा गुडाउन भनेर साझालाई दिएको बस ग्यारेजबाट नै आपूर्तिकर्तालाई फिर्ता गर्‍यो ।

तर, बस कहाँ बनेको विवाद मात्र होइन, कमसल समेत भएको खुलेको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनअनुसार सरकारले ११ विद्युतीय कार ११ र ५ बस आपूर्ति गर्न १२ लाख अमेरिकी डलर लागत अनुमान गरी बोलपत्र आह्वान भएको थियो ।

चिनियाँ कम्पनी बीवाईडी साइमेक्सले अमेरिकी डलर १८ लाख ५६ हजारमा आपूर्ति गर्ने प्रस्ताव पनि पेश गरेको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वार्ता गरी १२ लाख डलरमा सम्झौता गरेको पाइएको छ ।

लागत अनुमानको तुलनामा ५५ प्रतिशत बढीको प्रस्ताव प्राप्त भएकोमा अवस्थामा ऐन व्यवस्थाअनुसार लागत अनुमान संशोधन गरेर नयाँ टेन्डर नगरी सोझै वार्तामार्फत दररेट तय गरी सम्झौता गरेको भेटिएको महालेखाले जनाएको छ ।

सार्वजनिक खरिद ऐन नियममा बोलपत्रको माध्यमद्वारा सामान खरिद गर्दा वार्ताद्वारा दररेट घटबढ गर्ने व्यवस्था छैन । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ मा सारभूत रुपमा प्रभावग्राही नभएमा बोलपत्र अस्वीकृत वा खरिद कारबाही रद्द गर्न सक्ने व्यवस्था छ ।

नियम मिचेरै ल्याएको बस पनि गतिलो परेनन् । मापदण्डअनुसार चीनमै बनेका बसहरु नआएसम्म रकम भुक्तानी नदिने भन्दै सरकारले आपूर्तिकर्ता कम्पनीलाई गुणस्तरीय बस ल्याउन भनेको छ ।

एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा किनिएका बसमा १७ वटा गम्भीर त्रुटी र बदमासी भेटिएका छन् । सम्झौताअनुसार कम्पनीले चीनमा बनेका स्तरीय बस ल्याउनुपर्ने हो तर, बसमा प्रयोग भएका समाग्री भारतीय कम्पनीका भेटिएको छ ।

२० सिट क्षमताका ५ वटा बसको परीक्षण गर्दा विभिन्न प्राविधिक त्रुटीहरु भेटिएका छन् । बस परीक्षणका लागि मात्रै उत्पादन भएको ठहर मन्त्रालयले गठन गरेको अध्ययन समितिले गरेको छ । ‘के–६ विद्युतीय बस’ साइमेक्सले नेपाल ल्याएको थियो तर सम्झौतामा ‘सी–६’ बस ल्याउने उल्लेख थियो ।

बसको तौल पनि सम्झौताअनुसार नभएको पाइएको छ । ७ हजार ४ सय ६५ केजी हुनुपर्नेमा सो भन्दा कम तौलका बस भित्र्याइएको छ ।

बसको उत्पादन मिति स्पष्ट छैन भने गाडीको बत्ती, सिट बेल्ट, स्वीचबोर्डको गुणस्तर कमजोर भेटिएको छ । यस्तै सिटहरुको फेब्रिकेशन कमजोर छ भने अपांगलाई चढाउने लिफ्ट पनि कमजोर गुणस्तरको पाइएको छ ।

गाडीको फिनिसिङ पनि राम्रो नभएको, सिट कभर परीक्षणकै क्रममै उत्रिएको तथा बसमा भारतीय कम्पनीमा बनेका कमजोर खालका सिसाहरू भेटिएको छ ।

बसको सस्पेन्सन (लचकता) पनि कमजोर पाइएको छ भने ढोकाले राम्रोसँग काम गरेको थिएन । गाडीको स्पीडोमिटरले पनि तथ्यगत रूपमा सही सूचना नदिएको ठहर मन्त्रालयले गरेको छ । ह्विल चियर लिफ्ट तत्कालै मर्मत गर्नुपर्ने अवस्थामा देखिएको थियो भने उत्पादकको परीक्षण रिपोर्ट पनि कम्पनीले सरकारलाई उपलब्ध गराएको छैन ।

बसमा आगो निभाउन राखिएका यन्त्र भारतीय कम्पनीका थिए । बसको मर्मतका लागि आवश्यक न्युनतम मर्मत उपकारण पनि कम्पनीले दिएको छैन । बसको पांग्राका नटहरु खिया लागेको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment