Comments Add Comment

यी सेलिब्रेटीः जोसँग छ आमा हुनुको खास अनुभव

कसरी हुर्काउने बालबच्चा ?

पूर्व मिस नेपाल माल्भिका सुब्बाले एक छोरा हुर्काइरहेकी छिन्  । छोराको नाम हो, जाहिर रियो सुब्बा श्रेष्ठ । एकातिर उनी आमाको भूमिकामा छिन्, अर्कोतिर आफ्नो करियरलाई पनि अगाडि बढाइरहेकी छिन् । कतिपय महिला के सोच्छन् भने, ‘विवाह गरेपछि मेरो करियर सकिन्छ । मेरो इच्छा र आकंक्षालाई खुम्चाउनुपर्छ ।’

तर, विवाह गरेर आमा भइसकेपछि पनि आफ्नो इच्छा, आकंक्षा त्याग्नुपर्दैन । माल्भिका उदाहरण हुन् । उनले आफ्नो करियरलाई जति कुशलतापूर्वक अगाडि बढाइरहेकी छिन्, उत्तिकै पूर्णता आमाको रुपमा दिइरहेकी छिन् ।

उनी प्रफेक्ट आमा हुन्, जसले ८ महिनासम्म छोरालाई आफ्नो दुध चुसाएर हुर्काइन् । त्यसपछि सेरेलेक्स, लिटो र जाउलोमा अभ्यस्त बनाइन् । कुन उमेरमा कस्तो पोषण चाहिन्छ, त्यसका लागि कस्तो खाना ख्वाउनुपर्छ, कसरी ख्वाउनुपर्छ ? माल्भिकासँग खास अनुभव छ ।

बच्चा जन्मिएको चार महिनासम्म माल्भिका पूर्णत आमाको भूमिकामा रहिन् । हरक्षण बच्चालाई दुध चुसाउने, सुताउने, स्यहार सुसार गर्ने काममा खटिइन् । त्यसपछिको समय भने बच्चालाई उनको हजुरआमाको काखमा छाडियो । अब माल्भिकाले आफ्नो लागि केही समय पाइन् । आफुलाई मेन्टेन गर्ने, पब्लिक रिलेसन बढाउने, काम गर्ने सबै-सबै । यसबीचमा पनि साँझ बिहान बच्चाका खातिर पूर्ण रुपले आफुलाई समर्पित गरिन् ।

माल्भिकाबाट के सिक्न सकिन्छ भने, बच्चाको आमा भएर पनि आफुलाई उस्तै रुपमा प्रस्तुत गर्न सकिन्छ, जो त्यसअघि गरिन्थ्यो । उसैगरी आफ्ना रहर र इच्छाहरु पुरा गर्न सकिन्छ । उसैगरी आफ्नो करियरलाई हाँक्न सकिन्छ । माल्भिकाले अहिले जो गरिरहेकी छिन् ।

एक प्रसंगमा अनलाइनखबरसँग माल्भिकाले भनेकी थिइन्, ‘म आफ्नो छोरालाई छोराकै खेलौना, लुगाफाटो दिनुपर्छ भन्ने पक्षमा छैन । छोरालाई छोरा जस्तै बनाएर हुर्काउनुपर्छ भन्ने लाग्दैन । छोरीको खेल्नेकुरा पनि खेल्न दिन्छु । छोरीले लगाउने लुगा पनि लगाउन दिन्छु । छोरीले गर्ने काम पनि गर्न दिन्छु । छोरा र छोरीमा म कुनै भेद राख्दिन ।’

उनी छोरालाई ‘फेमेनिस्ट’ बनाउन चाहन्छन् । छोरीले झै घरमा काम गर्न, छोरीले झै खेल्न, छोरीले झै व्यवहार गर्न प्रेरित गर्छिन् ।

बच्चालाई हुर्काउने कला

माल्भिकाले आमाको रुपमा आफुलाई कुशलतापूर्वक पेश गरेकी छिन् । छोरालाई ख्वाउने, सुताउने, सिकाउने, पढाउने सबै कुरामा उनले खास ध्यान दिएकी छिन् ।

छोरालाई उनले सानै उमेरदेखि पोषणयुक्त र स्वस्थ्यकर खानेकुरामा अभ्यस्त गराएकी छिन् । मौसमी फलफूल ख्वाउँछिन् । उसिनेको खानेकुरामा जोड दिएकी छिन् । चिनी, मसला आदि कुरामा लोभ्याएकी छैनन् ।

बच्चाको सुत्ने र उठ्ने तालिका पनि नियमित गराएकी छिन् । बच्चालाई राती चाडै सुताउँछिन् । बिहान चाडै उठाउँछिन् । राती सुत्नुअघि मसाज गरिदिने र कथा भन्ने गरेकी छिन् ।

माल्भिकाले बच्चालाई घरभित्र वा कोठामा मात्र राख्दिनन् । सुकिलो मुकिलो बनाएर राख्नुपर्छ भन्ने पनि लाग्दैन । बालबच्चालाई खुला रुपमा खेल्न दिने, माटोको सम्पर्कमा जान दिने, बोट विरुवा, झारपात छुन र खेलाउन दिने गर्छिन् । यसले बच्चाको प्रतिरक्षा प्रणाली बलियो हुन्छ भन्ने उनलाई लाग्छ ।

स्वस्थ्य खानपान, स्वस्थ्य दिनचर्यासँगै बच्चालाई राम्रो संस्कार पनि दिनुपर्छ । माल्भिकालाई यस्तै लाग्छ । उनले छोरालाई पूजापाठ गर्न, चाडपर्वहरुमा सरिक हुन सिकाएकी छिन् ।

सञ्चिता लुइटेलले कसरी हुकाईन् दुई सन्तान ? 

अभिनेत्री संचिता लुईटेल र अभिनेता निखिल उप्रेतीका दुई सन्तान छन्, आर्थव र सान्वी ।

संचिताले एक बर्षको अन्तरमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । यी बालबच्चालाई कसरी ख्याल गर्ने, कसरी पढाउने, कसरी खेलाउने भन्ने कुरामा संचिता निकै सर्तक र सचेत छिन् ।

संचिता आफ्ना बालबच्चाका लागि आफु पनि बालबच्चा जस्तै हुनुपरेको अनुभव सुनाउँछिन् । बच्चाहरु टेलिभिजनमा कार्टुन हेर्छन्, चकलेट खान रुचाउँछन्, खेलौनाहरु छरपस्ट पारेर खेल्न मन गर्छन्, बर्थ डे सेलिब्रेट गर्न रहर गर्छन्  । आफ्ना बच्चा रमाउने र खुसी हुने यी सबै गतिविधिका सञ्चिता आफै अग्रसर हुन्छिन् र उनी पनि बच्चा जस्तै भएर यी कामहरु गर्छन् ।

सञ्चिता भन्छिन्, ‘आफुलाई भुलेर म कहिले कहिं बच्चा जस्तै हुन्छु । उनीहरुसँग यति धेरै संगत गरेको छु कि, कार्टुनमा रमाउन सक्छु । चकलेटको स्वाद लिन सक्छु । बच्चाहरुलाई बर्थ डे सेलिब्रेसन गरेको असाध्यै मन पर्छ । त्यसमा उनीहरु उन्मुक्त रमाउन सक्छन् । त्यसैले म केक काटिदिन्छु ।’

बच्चाका लागि उनी अभिभावक वा आमा भन्दा पनि साथी जस्तै छिन् । यद्यपी बच्चाले गर्ने कतिपय काममा भने उनको ममतापूर्ण हस्तक्षेप हुनेगर्छ ।

बालबच्चा कहिले काहीँ विद्यालय जान मान्दैनन् । सञ्चिता जोर-जबरजस्ती गर्दिनन् । छोराछोरी कहिले काहीँ जंक फूड खाने इच्छा गर्छिन् । सञ्चिता नाई-नास्ती गर्दिनन् । उनलाई थाहा छ, बच्चालाई आवश्यक्ता भन्दा बढी हस्तक्षेप वा निगरानी ठिक हुन्न ।

बच्चालाई गाली वा हस्तक्षेपको भाषा होइन, प्रेमको भाषा मनपर्छ । सञ्चिताले अक्सर बच्चालाई प्रेमपूर्वक नै सबै कुरामा अभ्यस्त गराउने गरेकी छिन् ।

सञ्चिताले अनलाइनखबरसँग भनेकी थिइन्, ‘बच्चालाई कुनै दिन स्कुल जाने मुड चल्दैन, कहिले जंक फूड खान मन लाग्छ, जो स्वभाविक हो । जबरस्ती स्कुल जानैपर्छ भन्नु, जंकफूड खानै नदिनु मलाई उचित लाग्दैन । बरु, उनीहरुलाई स्कुल जानुको फाइदा र बेफाइदा, जंक फूड खानु र नखानुको असर बताइदिन्छु ।’

बच्चालाई अर्ती दिने, उपदेश दिने, भाषण गरेर सुनाउने होइन । उनीहरुको आनीबानी सुधार्नका लागि आफु नै उदाहरण बन्नुपर्छ भन्ने लाग्छ सञ्चितालाई । सञ्चिता बिहान उठेर मनतातो पानी पिउँछिन् । छोराछोरीले उनको सिको गर्छन् । सञ्चिता बाथरुम जाने, सरसफाई गर्ने, ब्रस गर्ने गर्छिन् । ब्रेकफास्ट खान्छिन् । यी सबै कुरा बच्चाहरुले पच्छ्याइरहेका हुन्छन् ।

कुञ्जना एक आमाको रुपमा

कुञ्जना घिमिरे एक सामाजिक अभियान्ता हुन् । त्यो भन्दा पनि उनी कलाकार हुन् । हास्य कलाकार सीताराम कट्टेलसँग दाम्पत्य जीवन विताइरहेकी उनी एक छोरीकी आमा पनि हुन् । छोरीको नाम हो, सुबिहानी ।

सुन्तलीले एकाबिहानै जन्माएकी भएर छोरीको नाम सुबिहानी राखेको बताइन्छ ।

आमा हुनुको खास अनुभव छ कुञ्जनलाई पनि । यद्यपी आफ्नै कोखमा हुर्काएर, प्रसव पीडा सहेर जन्माएकी छोरीलाई उनले धेरै समय दिन सकिरहेकी छ्रैनन् । एकातिर कलाकारिता, अर्कोतिर सामाजिक काम । दुबैतिरको धपेडीले गर्दा छोरीसँग रमाउने, खेल्ने समय मिलेन ।

अनलाइनखबरसँग कुरा गर्दै कुञ्जना उर्फ सुन्तलीले सुनाएकी थिइन्, ‘छोरीले हरेक दिन नयाँ शब्द बोलिरहेकी हुन्छिन्, हरेक दिन नयाँ हाउभाउ सिकिरहेकी हुन्छिन् । तर, छोरीको यो परिवर्तनलाई हामीले हेर्न पाइरहेको छैनौ । उनले हामीलाई खोज्दा हुन्, हामी पनि उनलाई छातीमा अंगाल्न चाहन्छौ, काखमा खेलाउन चाहन्छौ ।’

अहिले छोरी हुर्किइन् । जतिसुकै व्यस्त भएपनि उनले छोरीलाई आमाको अभाव महसुष हुन दिएकी छ्रैनन् । छोरीको अनुहारमा सधै खुसी ल्याउन उनी हरसंभव प्रयासमा हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment