Comments Add Comment

भूकम्पको केन्दविन्दुमा नयाँ पदमार्गको विकास

४ दिनमा पूरा हुन्छ इपिसेन्टर ट्रेल

१ वैशाख, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु बारपाकलाई आधार बनाएर पदयात्रा मार्गको विकास गरेको छ । इपिसेन्टर ट्रेल नाम दिइएको सो पदयात्रा मार्ग चार दिनको हुनेछ । बारपाकबाट सुरु हुने यो पदयात्रा मार्ग धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा आएर सकिन्छ ।

काठमाडौं वा गोरखा बजारबाट जाने पदयात्री पहिलो दिन बारपाकमा बास बस्नेछन् । दोस्रो दिन गैर आवासीय नेपालीले नमुना गाउँ बनाएको लाप्राकमा बास बस्नेछन् । तेस्रो दिन गुम्दा गाउँ हुँदै माछाखोलामा बास बसेर चौथो दिन घर फर्किन सक्ने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

भूकम्पको केन्द्रविन्दुबाट सुरु भई त्यस वरपरका गाउँहरुको पदयात्रा भएकाले यसलाई इपिसेन्टर ट्रेल (पदमार्ग) नाम दिइएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको भीरकोट अर्थात जुङगाङ डाँडा हो । त्यस डाँडालाई केन्द्र बनाएर पदयात्रा मार्गको परिकल्पना गरिएको हो ।

पदयात्राका क्रममा हिमाली क्षेत्रको जनजीवन, कला, संस्कृति र प्राकृतिक दृश्यहरुको अवलोकन गर्न सकिनेछ । गुम्दा वरपर फराकिला खर्कहरु रहेका छन्, जहाँ स्थानीयले भेँडा चराउने गर्छन् । यो ठाउँलाई गाउँपालिकाले धार्चे पाटनको रुपमा प्रचार प्रसार गरेको छ । ‘खप्तड जान नसक्नेहरु यहाँ आउन सक्छन् भन्ने हाम्रो अनुमान छ’ अध्यक्ष गुरुङले भने ‘यो ठाउँलाई हाइ अल्टिच्युड मेडिटेसन सेन्टरको रुपमा पनि विकास गर्ने योजना छ ।’

धार्चे गाउँपालिकाको माछाखोला नजिकै एउटा चिंगार डाँडा भन्ने ठाउँ छ, जहाँ स्थानीयले पूजाआजा गर्छन् । यसलाई गाउँपालिकाले धार्चेको शिवलिंगको रुपमा प्रचार प्रसार गरेको छ । धार्चे गाउँपालिकामा मकै रोप्नुअघि मकै विवाह गर्ने प्रचलन रहेको छ, यो प्रचलन पनि पर्यटकीय महत्वको हुन सक्ने अध्यक्ष गुरुङले बताए ।

पहरोमा खोपिएको वुद्धको मूर्ति, नेपालको एकमात्र क्यान्टिलिभर पुल पनि धार्चे गाउँपालिकामा नै रहेको छ ।

काठमाडौैंमा वृत्तचित्र र तस्वीर प्रदर्शनी

पर्यटकीय क्षेत्रको प्रचार गर्ने उद्देश्यले धार्चे गाउँपालिकाले आइतबार काठमाडौंमा वृत्तचित्र र तस्वीर प्रदर्शनी गरेको छ ।

वृत्तचित्रमा गाउँपालिकाभित्रका गाउँको पर्यटकीय क्षेत्र, जनजीवन, साँस्कृतिक सम्पदा आदि देखाइएको छ ।

वृत्तचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाको २ लाख ५० हजार र गणेश हिमाल एशोसिएशनले २ लाख ५० हजार रुपैयाँको लागतमा वृत्तचित्र निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment