Comments Add Comment

सुडानी सरकारका पूर्वसदस्य पक्राउ, प्रेसमाथिको प्रतिवन्ध हट्यो

२ वैशाख, काठमाडौं । सुडानको संक्रमणकालीन मिलिटरी काउन्सिलले अपदस्थ सरकारका सदस्यहरुलाई गिरफ्तार गरेको छ ।

सुडानमा सैन्य ‘कु’ पछि राजनीतिक घटनाक्रम फेरबदल भइरहेका बेला पूर्ववर्ती सरकारका सदस्य गिरफ्तारीमा परेका हुन् । नियन्त्रणमा लिइएकाहरुलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन । यद्यपि, उनीहरु सुरक्षित स्थानमा रहेको काउन्सिलले जनाएको छ ।

सुडानका रक्षामन्त्री समेत रहेका आवाद इब्न अउफले सैनिकहरुलाई हातमा लिएर ३ दशकदेखि सुडानको राष्ट्रपतिमा सत्तासीन ओमर अली बसिरलाई पक्राउ गरी गत बिहीबार शासन हत्याएका थिए ।

तर, त्यसको १ दिनपछि नै उनी आफ्नो कदमबाट पछि हटेका थिए । सुडानमा जारी राजनीतिक अस्थिरताले नयाँ मोड लिइरहेका बेला संक्रमणकालीन मिलिटरी काउन्सिलले पूर्ववर्ती सरकारका सदस्यहरुलाई नियन्त्रणमा लिएको हो । काउन्सिलले प्रदर्शनकारीमाथि भने नरम नीति लिएको छ । उनीहरुलाई कुनै बल प्रयोग नगर्ने काउन्सिलले प्रष्ट पारेको छ ।

राष्ट्रपति बसिरको बहिर्गमन माग गर्दै आन्दोलित सुडानीहरुले सैन्य ‘कू’प्रति आपत्ति जनाउँदै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । गैरसैनिकलाई सत्ता सुम्पनुपर्ने मुख्य माग प्रदर्शनकारीहरुको छ ।

मिलिटरी काउन्सिलका एक प्रवक्ताले जारी प्रदर्शनको सम्मान गर्दै त्यसमा बल प्रयोग नगर्ने बताएका छन् । उनले गैरसैनिक सरकार निर्माणको चासो सम्बोधन गर्ने उल्लेख गर्दै नयाँ प्रधानमन्त्री छान्न विपक्षीहरुलाई आग्रह गरे ।

‘गैरसैनिक सरकार र विपक्षी दलहरुले गर्ने जुनसुकै सहमति कार्यान्वयन गर्न परिषद् तयार छ’, काउन्सिलका प्रवक्ता मेजर जनरल शाम्स अद्दिन शान्तोले पत्रकार सम्मेलनमा भने ।

आन्दोलनले जनजीवन कष्टकर बनेकाले सडक अवरोध हटाउन प्रवक्ता शान्तोले प्रदर्शनकारीहरुलाई आग्रह गरेका छन् । तर, प्रदर्शनकारीहरु भने आफ्नो अडानमा टसको मस भएका छैनन् । उनीहरुले रक्षामन्त्रालय बाहिर गैरसैनिक सरकारको माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

मिलिटरी परिषदले केही नयाँ निर्णयसमेत गरेको छ । सेना, प्रहरी र गुप्तचर निकायमा नयाँ प्रमुख नियुक्त भएका छन् भने सञ्चार माध्यममाथि लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । देशका विभिन्न निकायमा भएका भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्ने निर्णय पनि परिषदले गरेको छ । काउन्सिलले कूटनीतिक निकायको समीक्षा गरेको छ र अमेरिकासँगै स्विट्जरल्ल्यान्डका राजदूत बर्खास्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment