Comments Add Comment

भारतको चुनावमा ‘ह्वाट्स एप’ को त्रास !

२ वैशाख, काठमाडौं । भारतमा ‘ह्वाट्स एप’ का प्रयोगकर्ताहरु अन्य देशमा भन्दा बढी छन् । भारतको लोकसभा चुनावलाई कतिपयले ‘ह्वाट्स एप चुनाव’ को संज्ञासमेत दिएका छन् ।

इन्टरनेटको पहुँच र स्मार्ट फोन प्रयोगकर्ताको संख्या तीव्ररुपमा बढेसँगै भारतमा प्राइभेट म्यासेजिङ सेवा ह्वाट्स एपको लोकप्रियता भारतमा ह्वात्तै बढेको छ । त्यसैले चुनावमा यसले ठूलो फरक पार्न सक्ने पूर्वानुमान गरिएको छ ।

एक आँकडा अनुसार भारतमा सन् २०१० मा लन्च भएको यो एपका प्रयोगकर्ता २० करोड नाघेका छन् । यस हिसाबले भारत ह्वाट्स एपको ठूलो बजार हो । त्यसैले रानीतिक दलहरु ह्वाट्स एपलाई आफ्नो चुनाव प्रचार रणनीतिको एउटा अंग बनाउन बाध्य भएका छन् । यद्यपि, ह्वाट्स एपमा अत्यधिक आउने फेक न्युजहरुका कारण मानिसहरुले यसलाई हत्पत्ति विश्वास भने गरिहाल्दैनन् ।

सन् २०१४ को चुनावमा पनि भारतका राजनीतिक दलहरुले सामाजिक सञ्जालको भरपुर उपयोग गरेका थिए । भारतीय जनता पार्टीले त यसका लागि ९ लाख स्वयम्सेवक नै खटाएको थियो । यसपालि प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टीले आफ्नो ‘डिजिटल साथी’ नामको एप लञ्च गरेको छ र ठूलो संख्यामा स्वयम्सेवकहरु पनि परिचालन गरेको छ ।

कतिपयय विश्लेषकले चाहिँ ह्वाट्स एपले चुनावमा नकारात्मक असर गर्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन् । हालैको राज्य तहको चुनावका क्रममा ह्वाट्स एपमा फेक न्यूजहरुको बिगबिगी थियो र त्यसैका आधारमा केही ठाउँमा हिंसासमेत भड्केको थियो ।

ह्वाट्स एपमा प्रचार गरिएका गलत सूचना र सन्देशहरुले पछिल्लो केही महिनायता ३० भन्दा बढीको मृत्यु भएको थियो । त्यसैले ह्वाट्स एपले गलत र भ्रामक सूचनाहरु सम्प्रेषण नगर्न भारतमा सचेतना अभियान नै चलाइरहेको छ । साथै म्यासेज पठाउन र सेयर गर्न सकिने व्यक्तिको संख्या पनि सीमित बनाइएको छ ।

तीन महिनाभित्र ६ पटक गलतखालका सन्देश सम्प्रेषण गर्ने प्रयोगकर्तालाई ह्वाट्स एपले ब्यान्ड गरिदिन्छ । तर, यी कदमहरुले पनि समस्या समाधान भएको छैन । तपाईंले एकपटकमा एउटा सन्देश अझै पनि २५६ व्यक्तिलाई पठाउन र ५ फरवार्ड गर्न सक्नुहुन्छ । यसबाट केही सेकेन्डमै कुनै सन्देश १ हजार २ सय ८० व्यक्तिमा फैलिन सक्छ । आम मानिसहरुले सन्देशको आधिकारिकता हेर्दैनन् । र, जे लेखिएको छ, त्यसलाई विश्वास गरेर आफू पनि सेयर गर्छन् । यसरी कुनै गलत सन्देश मिनेटमै भाइरल हुन पुग्छ । यसैलाई लिएर कतिपय मिडियाले सामाजिक सञ्जालमा फैलिएका समाचारहरुको फ्याक्ट चेक गर्न थालेका छन् ।

ह्वाट्स एपलाई आफ्नो मिसनमा प्रयोग गर्न हिन्दूवादी भारतीय जनता पार्टी बढी सफल देखिँदै आएको छ । हालै पाकिस्तानसँग भारतको द्वन्द्वका क्रममा सरकार र सेनाको ‘पराक्रम’ लाई भाजपाले प्रमुख चुनावी एजेन्डा बनाएको छ । पाकिस्तानी भूमिमा आफ्नो सेनाले बम बर्षा गरेको भनेर भाजपाका नेताहरु भोट मागिरहेका छन् र कांग्रेसलाई पाकिस्तान निकट पार्टीका रुपमा चित्रण गरिरहेका छन् । ह्वाट्स एपमा यस किसिमका सन्देश र भिडियोहरु खुबै सेयर गराइएको छ ।

फेक न्यूजहरुको सन्दर्भमा चुनौति भनेको यसको मूल स्रोत पत्ता लगाएर कारवाही गर्नु हो । राजनीतिज्ञहरुले ह्वाट्स एप आफैंले गलत सन्देशहरु प्रवाह हुनबाट रोक्नुपर्ने बताएका छन् । तर, कम्पनीका लागि यो सजिलो काम होइन । उसले हरेक समाचारहरुको विश्वसनीयता परीक्षण गर्दै हिँड्न सम्भव नरहेको बताइसकेको छ ।

भारतीय राजनीतिज्ञहरुले चुनावको समयमा एपको दुरुपयोग गर्ने गरेको आरोप लगाएको छ । जे भए पनि यस चुनावमा ह्वाट्स एपले पार्न सक्ने प्रभावका विषयमा सबै सहमत छन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment