Comments Add Comment

बुटवलमा धान धितो राखेर ऋण कार्यक्रम प्रभावकारी

२ वैशाख, बुटवल । बुटवल उप–महानगरपालिकाले सुरु गरेको धान धितो राखी कृषकहरुलाई ऋण लगानी कार्यक्रम प्रभावकारी बनेको छ ।

बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसानहरु अहिले यो कार्यक्रम सुरु भएपछि खुशी भएका छन् ।

सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारे सिम्रिक कृषि सहकारी संस्था र उपमहानगरपालिकाबीच गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा एक सय ३५ जना किसानले प्रत्यक्ष फाइदा लिएका छन् ।

आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकहरुका सबै धान बिक्री वा कुटानी गरी साँवा ब्याज र सेवा शुल्क असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम शुरु भएको हो ।

मेमलारका दुवौली, पोखराबारी, मोतिपुर, सौराहा, सौरहीया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतिगञ्जलागायत टोलका किसानहरुले न्यूनतम चार क्वीन्टलदेखि तीन सय क्वीन्टलसम्म धान धितो राखेको ऋण लिइरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रममा पाँच हजार क्वीन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । किसानहरुले आफ्नै र खेतीयोग्य जमिनसमेत लिजमा लिएर धान खेती गर्दै आएको अध्यक्ष गाहाले बताए । धान उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका धेरै किसानहरुलाई अहिले आर्थिक रुपमा समेत सबल हुने गरि सहयोग मिलेको किसानहरुले बताएका छन् ।

किसानहरुले धान रोपेको र काटेको खेतालाको ज्यालाका लागि पनि ऋण लिने गरेका छन् । पहिले धान उठाउँदा उठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका पोखराबारीका किसान विष्णु गाहाले ३५ क्वीन्टल धान धितो राखेर ५५ हजार अनुदान लिएका छन् ।

त्यस्तै दुबौलीका शोभाकान्त अर्यालले २५ क्वीन्टल धान धितो राखेर ४० हजार, पोखराबारीकै ओमनारायण थारुले ३० क्वीन्टल धान धितो राखेर ५० हजार तथा दुबौलीका माधव चौधरीले २० क्वीन्टल धानको २५ हजार र दुबौलीका अर्का किसान विष्णु अर्यालले ४० क्वीन्टल धान धितो राखेर २५ हजार ऋण लिएको सहकारीका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

बुटवल उपमहानगरपालिकाले ग्रिन हाउसमा तरकारी खेतीका लागिसमेत किसानहरुलाई प्रोत्साहन गरिरहेको छ । एक हजार देखि एक हजार दुई सय रुपैयाँ सम्मको लगानीमा शुरु भएका ग्रीन हाउसहरुबाट ३२ हजार देखि एक लाख पचास हजार रुपैयाँ सम्मको आम्दानी भएको छ ।

खेतीयोग्य जमिन रहेका क्षेत्रहरुमा जनप्रतिनिधिले प्राविधिकलाई खेतमा लगेर अनुसन्धान गर्दै खेतीको सिफारिस गरिएको छ । तरकारी खेतीका लागि बुटवल १५ र १६ मा १० वटा ग्रिन हाउस सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा थप १६ वटा ग्रिन हाउस निर्माणका लागि निबेदन आह्वान गरी सूचना प्रकाशन भएको शर्माको भनाइ छ ।

च्याउको माग बढेसंगै यसको गुणस्तरीय वीउसमेत बुटवलमै उत्पादन हुन थालेको छ । यस्ता बीउ उत्पादकहरुलाई बुटवल उपमहानगरपालिकाले उद्योग स्तरीकरण शिर्षकमा अनुदानसमेत उपलव्ध गराउँदै आएको छ । जसअनुसार लुम्बिनी च्याउ फर्म बुटवल–१२ र ढकाल एग्रोभेट सेन्टरको बुटवल ७ लाई च्याउ वीउ उत्पादन फर्महरुको स्तरीकरणको लागि भन्दै क्रमशः तीन लाख र दुई लाख रुपैयाँ अनुदान प्रदान गरिएको उपसचिव शर्माले जानकारी दिए ।

उपमहानगर भित्र रहेका २० वटा सिंचाइ बोरहरु मध्ये ४ वटा बोर संचालनमा रहेका छन । डीमान्ड चार्ज तिर्न नसक्दा बन्द भएका र मर्मत गर्न नसकेका यस्ता सिंचाईका बोरहरुलाई मर्मतका लागि उपभोक्ता समितिहरुसंगको लागत साझेदारीमा अनुदान दिइने भएको छ ।

कम्तीमा २ कटठा वा सो भन्दा बढी जग्गामा तरकारी खेती गरेका २१ वटा कृषकलाई फिल्ड भेरिफिकेसनको कार्य पश्चात प्रोत्साहन रकम दिने निर्णय भएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

यस्तै जग्गा भाडामा लिई कृषि ब्यवसाय संचालन गर्ने १३ जना किसानहरुलाइ प्रोत्साहन अनुदान दिने निर्णय भएको छ । सेमलार र मोतिपुरका खेतीयोग्य जमिनलाई थप प्लटिङ हुन नदिई र अहिलेका त्यहाका बस्तीलाई समेत व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा स्थानीय किसानहरुबीच छलफलसमेत चलिरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

किसानहरु आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यवसायिक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment