+
+

भारतको चुनावले चीनलाई कस्तो असर पार्ला ?

‘मोदीले जिते सम्बन्ध राम्रो, कांग्रेसले जिते पनि राम्रै’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १४:२४

२ वैशाख, काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनको चर्चा छिमेकी देशहरुमा हुनु स्वाभाविकै हो । लोकसभा चुनावपछि हुन सक्ने सम्भावित सत्ता परिवर्तन वा यथास्थितिले आफ्नो देशमा कस्तो प्रभाव पार्ला भन्नेबारे नेपाल, पाकिस्तान लगायतका छिमेकी देशमा चर्चा परिचर्चा भइरहेकै छ । चीन पनि यसमा अछुतो छैन ।

भारतमा फेरि पनि बीजेपीले नै सरकार बनायो र नरेन्द्र मोदी नै दोस्रोपटक प्रधानमन्त्री बने भने नेपालको राजनीतिमा त्यसले कस्तो तात्विक फरक पार्ला भन्ने कोणबाट सामान्य बहसहरु भइरहेका छन् ।

विशेष गरी नेपालका दक्षिणपन्थीहरु बीजेपीले नै जितोस् भन्ने भित्रभित्रै चाहन्छन् । तर, वामपन्थीहरु भने बीजेपी र नरेन्द्र मोदीप्रति खासै सकारात्मक देखिँदैनन् । तर, चीनमा चाहिँ मोदीको हारमा भन्दा जीतका बढी विश्वास देखिएको छ ।

नेपालको सत्तारुढ दल नेकपाका नेताहरुले भारतको चुनावबारे कुनै प्रतिक्रिया दिएका छैनन् । त्यसैगरी मधेसकेन्द्रित दलका नेताहरुले पनि भारतको चुनावबारे खासै मुख खोलेको अवस्था छैन ।

उता चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्समा भारतको चुनावबारे एक सामाग्री प्रकाशित भएको छ, जसमा मोदीले पुनः चुनाव जितेमा भारत र चीनबीचको सम्बन्ध राम्रो हुने चिनियाँ विज्ञलाई उधृत गर्दै बताइएको छ ।

भारतको चुनाव र चीनमा पर्न सक्ने प्रभावबारे ग्लोबल टाइम्सले यस्तो लेखेको छ–

‘भारतीय चुनावले चीनसँगको सम्बन्धमा असर गर्दैन’

दक्षिण एशियासम्बन्धी अध्ययनका लागि चिनियाँ संघका शोधकर्ता चियान फेङ भन्छन्, यदि मोदीले जिते भने भारत–चीन सम्बन्ध सकारात्मक दिशातर्फ बढ्नेछ र भारतको चीन नीतिले निरन्तरता पाउने छ ।

चियानका अनुसार, तर यदि मोदी असफल हुन्छन् र प्रतिपक्षी कांग्रेसले जित्छ भने पनि भारतको हाल चीनसँगको राम्रो सम्बन्धमा असर पर्ने छैन । ‘चीनसँग राम्रो सम्बन्ध बनाइराख्नु भारतको हितमा छ । यसो गर्नाले भारत–पाकिस्तान सम्बन्धलाई पनि फाइदा पुग्ने छ ।’

गत वर्षको अप्रिल २७ र २८ मा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीले हबेई प्रान्त, वुहानमा एउटा अनौपचारिक बैठकमा भाग लिएका थिए । सिन्ह्वाका अनुसार दुवै नेताले चीन र भारत तथा सम्पूर्ण विश्वका लागि नै महत्वपूर्ण रणनैतिक तथा दीर्घकालीन महत्वका विषयहरूमा साझा धारणा निर्माण गरेका थिए ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मिरमा भएको आत्मघाती बिष्फोटमा परी ४० भारतीय प्रहरीको मृत्यु भएपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा निकै तनाव देखा परेको थियो । पाकिस्तानले सन् २००२ मा प्रतिबन्ध लागइसकेको जैस ए मोहम्मद समूहले उक्त आक्रमणको जिम्मेवारी लियो ।

भारतको चुनावी अजेण्डामा पाकिस्तानको मुद्दाले पनि ठूलो महत्व पाएको छ । मोदीको पार्टी पाकिस्तानको मुद्दालाई लिएर भारतीयहरूमा राष्ट्रवादको भावना जगाउन खोज्दैछन् ।

भारत–चीन सम्बन्धलाई हेर्ने हो भने भारतीय प्रबुद्ध समुदाय र साधारण नागरिकहरूलाई दुई कुराले पिरोलेको छ, पहिलो हो– चीनको पाकिस्तानसँगको सम्बन्ध, दोस्रो हो– भारतको चीनसितको व्यापार घाटा ।

भारतीय च्यानल न्यूज १८ सँगको अन्तरवार्ताका क्रममा मोदीले भनेका छन्, ‘हो भारत र चीनका केही मतभेदहरू छन, तर, हाम्रो ध्येय भनेको यी मतभेदहरूले विवादको रूप नलिउन् भन्ने नै हो ।’

‘र, यदि यस्ता घटना घट्छन् भने हामी उच्चस्तरीय वार्ता गर्छौँ । यो निरन्तरको प्रक्रिया हो, ’ मोदीले भनेका छन् ।

भारतले जैस ए मोहम्मदका नेता मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादीहरूको सूचीमा राखियोस् भन्ने प्रस्ताव गरेको छ । तर, चीनले सो प्रस्तावलाई सुक्ष्म अध्ययनका लागि ‘टेक्निकल होल्ड’ मा राखेको छ । केही भारतीयले यसै घटनालाई लिएर चिनियाँ सामान बहिस्कार गर्ने भन्दै आएका छन् ।

भारत–चीन सम्बन्धका विज्ञ डा. प्रशान्तकुमार सिंह भन्छन्,‘भारतमा मानिसहरूलाई थाहा छ कि दुई देशबीचको सम्बन्ध जटिल छ । त्यसैले सहकार्यलाई मतभेदको बन्दी बनाउनु हुँदैन ।’

चीनका लागि भारतीय राजदूत विक्रम मिस्त्रीले ग्लोबल टाइम्सलाई गत महिना भनेका थिए, ‘मलाई लाग्छ कि परराष्ट्र मामिलामा राष्ट्रिय हित कहाँ छ भनेर भारतभित्र नै बृहत् सहमति छ । त्यसैले मलाई लाग्दैन कि चुनावको नतिजाले भारतको विदेश नीतिलाई वा भारतको चीनसँगको सम्बन्धलाई खासै असर गर्ला ।’

चियान फेङ भन्छन्, ‘कुनै उम्मेदवारले चीनका विरुद्ध बोली हाले भने पनि त्यो केवल भोटका लागि मात्र हुनेछ । जितेपछि उनीहरू आफ्नो बोलीमा टिकिरहन सक्ने छैनन् ।’

देशको जिम्मेवारी लिएर बेसका नेताहरू राष्ट्रिय हित बारे सोच्छन् । त्यसैले उनीहरू तर्कहीन कुराहरूमा ध्यान दिँदैनन् ।’

स्रोत : ग्लोबल टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?