Comments Add Comment

सर्वतः गर्मीको सर्वोत्तम पेय

चर्को घाम, तातो हावा, हपहपी गर्मी । पसिनाले निथ्रुक्क भिजेको बेला तपाईंलाई तिर्खा लाग्छ नै । यस्तो बेला तपाईंलाई लेकको चिसो पानी घटघट पिउन मन लाग्दो हो । जमिनको मुल फुटेर निस्किएको चिसो पानीले आँतलाई कम्ता सितल बनाउँछ ?

तर, यस्तो पानी कहाँ पाउनु ? बोत्तलबन्द पानीले जो बजार पिटेको बेला । हुन त तिर्खा मेट्ने अनेक विकल्प छन्, शहरमा । तपाईं ‘चिसो-चिसो कुल-कुल’ कोकाकोला, फ्यान्टा वा यस्तै अरु पेय घुट्क्याउन सक्नुहुन्छ । तर, यी पेयले तिर्खा नमेट्ने मात्र होइन, स्वास्थ्यलाई फाइदा पनि गर्दैन । बजारमा उपलब्ध यस्ता कृतिम पेय पिउनुभन्दा आफ्नै घरमा, आफ्नै हातले बनाएको सर्वत पिउन बढी लाभदायक हुन्छ ।

सर्वत बनाउन न समय लाग्छ, न श्रम । न पैसा खर्च हुन्छ, न स्वास्थ्यलाई बेफाइदा । गर्मीमा यो भन्दा सर्वोत्तम विकल्प अरु के हुनसक्छ ?

के हो सर्वत

चिकित्सकहरु भन्छन्, गर्मी याममा शरीरलाई ८० प्रतिशत पानीको आवश्यक्ता हुन्छ । गर्मीमा पसिना बढी बग्ने हुँदा पनि शरीरमा पानीको अभाव हुन्छ । तर, शरीरलाई आवश्यक पानीको मात्रा अन्य कृतिम पेयले मेट्न थालियो भने त्यसले अरु नकारात्मक असर गर्न सक्छ । किनभने यस्ता पेयलाई स्वादिलो बनाउने, लामो समय भण्डारण गर्न र आकर्षक देखाउनका लागि हानिकारक रसायनको प्रयोग गरिएको हुने विभिन्न अध्ययनहरुले देखाइसकेको छ ।

यसर्थ आफ्नो हातले बनाएको सर्वत नै हाम्रो लागि भरपर्दो पेय हो ।

सर्वत वास्तवमा घरेलु पेय हो, जसमा आवश्यक्ता अनुसार गुलियो र अन्य स्वाद मिश्रण गर्न सकिन्छ । हाम्रा पितापूर्खाले सख्खरको सर्वत खाने प्रचलन नै चलाएको छ । परम्परागत हिसाबले सख्खर, चिनी, घिउ, दही मिसाएर सर्वत बनाइन्छ ।

यद्यपी अहिले मह, कागति, पुदिना अदि मिश्रण गरेर पनि सर्वत बनाउन सकिन्छ । सर्वतमा स्वाद अनुसार नुन र मरिच पनि मिसाउन सकिन्छ ।

त्यसो त तपाईंसँग जे उपलब्ध छ, त्यसबाट मात्र पनि सर्वत बनाउन सक्नुहुन्छ । जस्तो कागती पानी । पुदिना र पानी । यसमा गुलियोको लागि मह वा सख्खर लगाउन सकिन्छ ।

त्यसैगरी कुनै रसिलो मौसमी फलको पनि सर्वत बनाउन सकिन्छ । जस्तो खरबुजा । यसमा म्याग्नेसियम, सोडियम, फस्फोरस, क्याल्सियम, भिटामिन बि जस्ता पोषक तत्व पाइन्छ ।

सर्वत बनाउने भाँडा

अहिले हामी पानीलाई चिस्याउन पि|mजमा राख्ने गर्छौं । जबकी पि|mजको पानी पिउन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । अर्कोतिर सर्वत बनाउनका लागि आवश्यक पानी चिसो हुनुपर्छ । चिसो पानीकै सर्वत बनाएर पिउँदा बढी स्वाद हुने हो । अतः पानीलाई प्राकृतिक रुपमा चिसो बनाउनका लागि माटो, तामा र पित्तलको भाँडो/गाग्रीमा पानी राख्ने गरिन्छ । माटो तथा तामा र पित्तल जस्ता धातुको भाँडामा राखिएको पानी यसैपनि स्वास्थ्यवर्द्धक हुन्छ ।

सर्वत खाने बेला

हाम्रा पितापूर्खाले मौसम एवं समय अनुसार कस्तो खानपान खाने, कसरी खाने भन्ने संस्कारको विकास गरे । यसलाई उनीहरुले धर्मसँग जोडिदिए, जसले गर्दा यस्ता संस्कारलाई पुस्तौ-पुस्ताले अंगाल्दै जानेछ ।

अतः यो मध्य गर्मीमा सर्वत र सातु खाने प्रचलन छ । खासगरी वैशाख शुक्ल तृतीयाको दिन सर्वत पिउने गरिन्छ । यसरी पिउने सर्वत माटो, तामा वा पित्तलको भाँडोमा राख्ने गरिन्छ ।

यस दिन सर्वत आफुले मात्र पिउने होइन, अरुलाई पनि पिउन दिने गरिन्छ । कतिपयले बाटोमा हिँड्नेहरुलाई पनि सर्वत दिने गर्छन् । यसरी तिर्खाएका व्यक्तिलाई सर्वत पिउन दिएपछि धर्म हुन्छ भन्ने विश्वास छ । यसदिन सर्वतसँगै जौको सातु पनि खाने प्रचलन छ ।

धार्मिक आस्था

वैशाख अक्षय तृतीयाका दिन जौको सातु र सर्वत दान गर्ने धार्मिक परम्परा पनि छ । यसदिन सख्खर र महको सर्वत तथा जौको सातु दान गर्नाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । धार्मिक विश्वास के छ भने, यस दिन गरिएका सबै सत्कर्म अर्थात राम्रो कामबाट अक्षय पुण्य प्राप्त हुन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नहुने भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment