Comments Add Comment

आमाको अनुभूतिः मैले यसरी हुर्काएँ छोरी

म एक आमा हुँ । प्रसव वेदना र आमा हुनुको खुसी दुबै अनुभव मसँग छ । म कसैकी आमा हुँ । आफूलाई कसैले ‘आमा’ भनेको सुन्दा बेग्लै अनुभूत हुन्छ, मलाई । खासमा मलाई ‘आमा’ शब्द नै मनपर्छ । अहिले हामीकहाँ यो शब्द नै हराए जस्तो लाग्छ । आमा भनेको त ‘बज्यै’, ‘हजुरआमा’ भन्ने पो बुझ्न थालिएको छ ।

आफूले गर्भमा हुर्काएको, आफ्नो कोखमा जन्माएको, आफ्नो दूध चुसाएको र काखमा खेलाएको बच्चाले मायालु आवाजमा ‘आमा’ भनेको कति मीठो सुनिन्छ ?

छोरी समृद्धिलाई मैले सानैदेखि ‘आमा’ भनेर सम्बोधन गर्न लगाएँ । मलाई ‘तिमी’ भनेको पनि मनपर्छ । छोरी भन्छिन्, ‘आमा मलाई तिमीले यस्तो नदिने ? फलानो ठाउँमा घुमाउन नलाने ?’ छोरी कहिले काहीँ रिसाउँछे । उनी रिसाएको बेला चाहि ‘आमा’ भन्दिनन् । ‘बाबा, यो सरिता लामिछानेलाई सम्झाउनु त’ भन्दै घुर्क्याउँछे ।

गर्भास्थामा सक्रिय

छोरी जन्मनुअघि म कलाकारितामै व्यस्त थिएँ । वास्तवमा भन्ने हो भने, त्यसबेला मेरो करियर उत्कर्षमा थियो । नेपाल टेलिभिजनबाट प्रसारित फिल्मी कार्यक्रम ‘पर्दा’ सञ्चालन गर्थें । त्यही समय मेरो गर्भ रह्यो । पेट ठूलो देखिन थाल्यो । टिभीमा पेट लुकाएर छायांकन गरिन्थ्यो ।

गर्भावस्थामा पनि मैले कामबाट विश्राम लिइन । यस्तो अवस्थामा सक्रिय रहनुपर्छ, सकारात्मक रहनुपर्छ, स्वस्थ्य रहनुपर्छ भन्ने बुझेकी थिएँ । त्यही अनुसार गर्भावस्थामा म आफैमाथि यी कुराहरुको अभ्यास गरिरहेकी थिएँ । कतिसम्म भने, बच्चा जन्माउनु अघिल्लो दिनसम्म म काममै व्यस्त थिएँ ।

सुत्ने, आरम गर्ने, अमिलो, पिरो खाने भन्ने लागेन । के खाने, के नखाने भन्ने कुरा मलाई थाहा थियो । त्यसैले मलाई कसैले यो खानु, त्यो नखानु भनेर रोकटोक गर्नु परेन । गर्भमा हुर्कने बच्चा कसरी स्वस्थ्य एवं राम्रो हुन्छ भन्ने कुरामै ध्यान दिएँ ।

सधै पोषिलो, सादा खानेकुरा खाएँ । जथाभावी खाने गरिएन ।

त्यसो त गर्भावस्थामा खानपान वा शारीरिक स्वास्थ्यलाई मात्र ध्यान दिएर पनि पुग्दैन । मन पनि शुद्ध, सकारात्मक हुनुपर्छ । मन खुसी एवं प्रफुल्ल हुनुपर्छ । छोरी गर्भमा रहेको अवस्थामा पनि म कहिल्यै दुःखी, उदास, चिन्तित भइन । सधै रमाएर बसें, खुसी भएँ ।

बिहान घरमा गायत्री मन्त्रको अडियो बज्थ्यो । गायत्री मन्त्रको धुनले पनि मन एकचित्त र शान्त हुने ।

छोरीका लागि ४ वर्ष

आमा बन्नुअघिसम्म म धेरै व्यस्त थिएँ । मैले अभिनय गरेको टेलिफिल्म पनि हिट थियो । तर, छोरी जन्मिएपछि मैले आफ्नो काम र करियरलाई एकातिर पन्छाएँ । छोरीका लागि घरमै बसें । छोरीसँग हरक्षण समय बिताएँ ।

खासमा साना बच्चाले आफ्नो आमाको ममता खोज्छ । आमाको काख खोज्छ । यस्तो अवस्थामा उनीहरुलाई टाढा राख्नु हुँदैन । ती अबोध बच्चाको भाषा बुझ्ने भनेकै आमाले हो । उनीहरु खुलेर केही व्यक्त गर्न सक्दैनन् । यस्तो अवस्थामा आमाले नै हरक्षण बच्चालाई साथ दिनुपर्छ ।

मैले चार बर्ष बच्चासँग निरन्तर समय बिताएँ । उनीसँगै सुतें, उनीसँगै खेलें, उनीसँगै खाएँ, उनीसँगै रमाएँ । म पनि बच्चाका लागि बच्चा जस्तै भइदिएँ ।

वास्तवमा बच्चालाई हुर्काइरहँदा म पनि बच्चा जस्तै भएकी थिएँ । मलाई त्यसबेला आफ्नो बालापनको खुब याद आउथ्यो ।

हाम्रो समयमा त घरबाहिर खेलिन्थ्यो । दौतरी पनि प्रशस्तै हुन्थे । अहिलेका बच्चाहरु घरभित्रै थुनिएका छन् । उनीहरुसँग खेल्ने अरु साथी पनि छैनन् । यस्तो अवस्थामा आमाबुवा नै उनीहरुको साथी बन्नुपर्छ ।

म छोरीको लागि आमा भन्दा बढी साथी हुँ । उनीसँग खेल्ने, कार्टुन हेर्ने, कथा सुनाउने गर्छु । कहिले मःमः बनाएर ख्वाउँछु । कहिले गायत्री मन्त्र सुनाउँछु ।

अर्गानिक खानपान

हाम्रो समय नै त्यस्तै थियो, जंकफूड नपाइने । खानेकुरा प्राय अर्गानिक हुने । तर, अहिले खानेकुरा भनेकै जंकफूड भएको छ । फलफूल, सागसब्जी, अन्न चामल धेरैजसो विषाक्त छ । अहिलेका बच्चाहरु यस्तै अशुद्ध खानेकुरा खान बाध्य छन् ।

हामी पनि यस्तै बाध्यतामा छौ । तर, हामीले सकेसम्म जंकफूडबाट बच्चालाई टाढै राखेका छौं । अर्गानिक उत्पादन नै ख्वाउने गरेका छौं ।

पारिवारिक संस्कार

संस्कार भनेको आत्माअनुशासन रहेछ । आफूले आफैलाई सभ्य, सु-संस्कृत र अनुशासित बनाउने । त्यही कारण बच्चालाई पारिवारिक संस्कारमा अभ्यस्त गराउनुपर्छ भन्ने मलाई लाग्छ ।

मैले छोरीलाई सानै उमेरदेखि पारिवारिक संस्कारमा अभ्यस्त गराएँ । उनलाई बिहान उठेपछि पूजाआजा गर्न, मन्त्र जप गर्न सिकाइएको छ । उनी गायत्री मन्त्र भट्याउँछिन् । महामृत्युञ्जय मन्त्र कष्ठस्थ गरेकी छिन् । मैले नछुने भएको बेला धूपावाती गर्ने पनि छोरी नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment