Comments Add Comment

अभिभावक बनेका नेता : मुख्यमन्त्रीले चामल दिए, लालबाबु फर्केरै आएनन्

५ वैशाख, विराटनगर । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानले पुन चर्चा पाएको छ । गत वर्ष प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताले देशका विभिन्न ठाउँका बालबालिकाको अभिभावकत्व लिएको घोषणा गरेका थिए ।

मोरङमा विद्यार्थीको अभिभावकत्व लिएका मुख्यमन्त्री शेरधन राई र संघीय सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले अभिभावकत्व लिएका विद्यार्थीबारे चासो नदिएको पाइएको छ ।

ती विद्यार्थीको शैक्षिक अवस्था, कुनै समस्याबारे उनीहरुले बेवास्ता गरेको सम्बन्धित विद्यालयहरुले जनाएका छन् । गत वर्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहितका विभिन्न व्यक्तिहरुले मोरङका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।

मुख्यमन्त्रीको चामल उपहार

गत वर्ष वैशाख १० गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोरङको रतुवामाई नगरपालिका ६ मा पुगेर तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।

त्यतिबेला उच्च शिक्षासम्म अध्यापन गराउने बचन दिएका मुख्यमन्त्री राईले यसवर्ष बालवालिकाको परिवारका लागि खाद्यान्य लत्ताकपडा सहयोग गरे ।

नर्सरीमा भर्ना भएका रेजिना खातुन, विनोद मुर्मु र सुदर्शन मुर्मुको अभिभावकत्व ग्रहण गरेका मुख्यमन्त्री राईले केही महिनाअघि बालबालिकाका अभिभावका लागि ८ बोरा चालम, ६ पोका तेल, १० किलो नुन, कपडा र बालबालिकाका लागि शैक्षिक सामाग्री सहयोग गरेका थिए । सो सामाग्री अभिभावकलाई हस्तान्तरण गरिएको सरस्वती माध्यमिक विद्यालयका प्राध्यानाध्यपक यज्ञनाथ भट्टराईले बताए ।

मुख्यमन्त्री राईले ती विद्यार्थीबारे विद्यालयमा चासो नदिएको प्रधानाध्यापक भट्टराई बताउँछन् ।

लालबाबु पण्डित दोहोर्‍याएर स्कुल पुगेनन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले आफ्नै निर्वाचन क्षेत्र मोरङको बुढीगंगा गाउँपालिका– ६ मा रहेको विपी आधारभूत विद्यालयका निरज ठाकुर र एलिसा सरदारको अभिभावकत्व ग्रहण गरेका थिए ।

उनले ती विद्यार्थीलाई दुई जोर विद्यालय पोशाक र शैक्षिक सामाग्री दिएका थिए । त्यसपछि उनी एक पटक पनि विद्यालय पुगेका छैनन् ।

पटक पटक मोरङ आएका पण्डित सार्बजनिक कार्यक्रममा बुढीगंगा पुगे पनि विद्यार्थीको अवस्था बुझ्न विपी आधारभूत विद्यालय पुगेनन् । पण्डितले अभिभावकत्व ग्रहण गरेका निरज कक्षा ५ सम्म अध्यापन हुने बिपी आधारभूत माबिबाट पास भएर लक्ष्मी माबि डंग्राहमा भर्ना भएका छन् । एलिसा कक्षा ५ मा पुगिन् । तर पोशाक वितरण गरेपछि पण्डितले त्यसयता विद्यार्थीको बारेमा चासो नदेखाएको विद्यालयका प्राध्यानाध्यापक महेशराम खाँले बताए ।

उनका अनुसार निरजको पढाइ राम्रो छ । विपन्न परिवारका उनी विपी विद्यालयमा कक्षा प्रथम हुन्थे । राम्रो क्षमता भएको विद्यार्थी भएकाले अवसर पाए केही गर्न सक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment