Comments Add Comment

टुनामुना गरी चोरी गर्ने दश महिनापछि पक्राउ

६ वैशाख, विराटनगर । शिवजीको प्रसाद भन्दै टुनामुना गरी चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार १७ गते मोरङ लेटाङ नगरपालिका ५ कि सुनिता लिम्बुको घरमा पुगेर शिवजीको प्रसाद भन्दै रातो टीका लगाएर बेहोस बनाई चोरी गर्ने दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो ।

पानी परेको बेला ओत लाग्न भनी पुगेर चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने २५ वर्षीय हजरा खातुन, सोही स्थान बस्ने २९ वर्षीय महमद अलीलाई विराटनगर महानगरपालिकाको बरगाछीबाट पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

तत्कालीन समयमा ओत लाग्न पुगेका उनीहरुले मोवाइल मागेर आफन्तलाई फोन गर्दै आफूसँग भएको पाँच लाख राखि दिन भनेका थिए ।

फोन गरिसकेपछि घर धनी सुनिता लिम्बु र उनका श्रीमान प्रेम लिम्बुलाई शिवजीको प्रसाद हो फलिफाप हुन्छ भन्दै रातो टीका लगाइदिएका थिए ।

रातो टीका लगाएपछि उनीहरु अर्धचेत भएका थिए । सोही समयमा सुनिता लिम्बुले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला र नगद ५ हजार रुपैयाँसमेत गरी २ लाख रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरी लगेका थिए । घटनामा संलग्न व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा लामो समयको प्रयास पछि बुधबार पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको हो ।

चेक चोरेर नक्कली हस्ताक्षर

प्रहरीले लेटाङबाटै चेक चोरेर कीर्ते हस्ताक्षर गरी चोरी गर्ने एक व्यक्तीलाई पक्राउ गरेको छ । गत फागुन ५ गते राती लेटाङ नगरपालिका ३ कमलपुर स्थित हर्क राई घरमा रहेको को १६ प १४५० नम्बरको कालो स्कुटीको डिकी भित्र राखेको ४५ हजार नगद र एनएमबी बैकको चेकबुक चोरी गर्ने लेटाङ नगरपालिका ३ का २८ वर्षीय अशोक राईलाई पनि पक्राउ गरेको छ ।

नगद र चेक चोरी गरेका राईले चेकको दुरूपयोग गरी बैंकको बिभिन्न शाखाबाट २ लाख ३२ हजार रकम निकालेको प्रहरीले बताएको छ । पक्राउ परेका तीन जनालाई नै जिल्ला अदालत मोरङमा मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment