Comments Add Comment

कसले पाउला नेविसंघको नेतृत्व ?

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ भंग भएको दुई महिना बितिसकेको छ । विधानअनुसार ६ महिनाभित्र तदर्थ समिति गठन गरी नयाँ महाधिवेशन गरिसक्नुपर्छ ।

नेविसंघको ११ औं महाधिवेशनबाट नैनसिंह महरको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । तर, यो कार्यसमितिले १२ औं महाधिवेशन गराउन सकेन र नेतृत्व हस्तान्तरण पनि भएन । विधानअनुसार भदौ २ गते नै हुनुपर्ने महाधिवेशन हुन नसकेपछि पार्टीले पटक पटक गरी पाँच महिना म्याद थपिदिएर कार्यकाल माघ २ गतेसम्म लम्बायो । त्यसपछि पनि महाधिवेशन हुन नसकेपछि अहिले नेविसंघ नेतृत्वविहीन छ ।

यद्यपि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेविसंघका इञ्चार्ज डा. प्रकाशसरण महत दुई-चार दिनभित्रै नेविसंघको नेतृत्व टुंगो लाग्ने बताउँछन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि नेविसंघको तदर्थ समिति बनाउन छलफल भइरहेको बताउँछन् । ‘विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ’, उनले भने ।

नेविसंघको विधानअनुसार अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीहरुलाई नेतृत्वमा ल्याउन सक्छ, तर तदर्थ समितिमा भने उमेर हद लाग्ने छैन ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागु हुने कि नहुने भन्ने विषयमा लामो समयसम्म विवाद भयो । यही विवादका कारण १२ औं महाधिवेशन निर्धारित मितिमा हुन सकेन । अन्ततः नेपाली कांग्रेसले नेविसंघको विधानमा १२ औं महाधिवेशनदेखि उमेर हद लागु गर्ने भनेर लेखिदियो ।

राजीव भर्सेज ऋषिकेश

नेतृत्वमा दावी गर्दै नेविसंघका केही नेताहरु प्रचार, देश दौडाहादेखि नेताहरुसँग लिबिइङमा सक्रिय छन् । लबिइङमा सबैभन्दा सक्रिय सल्यानका ऋषिकेशजंग शाह र इटहरीका राजीव ढुंगाना छन् । उनीहरु दुवै शेरबहादुर देउवा पक्षका हुन् । ऋषिकेश र राजीव दुवै प्रदीप पौडेल नेतृत्वको कमिटीमा उपाध्यक्ष बनेका थिए । त्यसपछि उनी राजनीतिमा खासै सक्रिय देखिएनन् । तर, ऋषिकेश रञ्जित कर्ण नेतृत्वको कमिटीमा सदस्य पनि बने ।

११ औं महाधिवेशनमा जीतजंग बस्नेत, राजीव ढुंगाना, नैनसिंह महर र ऋषिकेशजंग शाह आकांक्षी थिए । एउटै गुटका भए पनि बस्नेत र ढुंगाना एकातिर थिए भने महर र शाह अर्कोतिर । अन्तमा ऋषिकेशको समर्थनमा महर अध्यक्ष चुनिए । त्यसैले पनि देउवा गुटकै भए पनि ढुंगाना र शाहबीच खासै सुमधुर सम्बन्ध छैन ।

सक्रियतालाई हेर्दा ऋषिकेश राजीवभन्दा अगाडि छन् । शाहले यसअघि बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा पुगेर शक्तिप्रदर्शनसहित नेविसंघको नेतृत्वमा दाबी गरेका थिए ।

मिडियाबाजी गर्न रुचाउने ऋषिकेशले विपक्षी विद्यार्थीहरुलाई एउटै मोर्चामा ल्याएर सरकारविरुद्ध दबावमुलक गतिविधि पनि गर्दै आएका छन् । उनकै पहलमा विप्लव र वैद्य समूहका विद्यार्थी संगठनहरुलाई समेत समेटेर विपक्षी मोर्चा बनाइएको छ । सोही मोर्चाको आयोजनामा राष्ट्रियसभा गृहमा गत शुक्रबार अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरियो । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, सीपी मैनाली, मोहन वैद्यसमेतका नेताहरु सहभागी भए ।

ठगी मुद्दामा पक्राउसमेत परेको विगतले ऋषिकेशका लागि नेतृत्वको यात्रा सहज नहुने जानकारहरु बताउँछन् । तर, ऋषिकेश भन्छन्, ‘ठगी मुद्दामा मलाई फसाइएको थियो र त्यसको सफाई मैले अदालतबाट पाइसकेको छु । त्यसैले मेरो सकृयता, योगदान र नेविसंघलाई हाँक्न सक्ने क्षमतालाई हेर्ने हो भने नेतृत्वमा मेरो विकल्प अरु हुन सक्दैन ।’

कोइराला समूहविरुद्धको अस्त्र

ऋषिकेशको जस्तो प्रचारमुखी स्वभाव राजीवको छैन । राजनीतिमा मिडियाबाजी भन्दा पनि कुटनीति निर्णायक हुन्छ भन्ने बुझेका राजीवले पार्टीमा आन्तरिक लबिङ जारी राखेका छन् । कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र विजयकुमार गच्छदारको समेत समर्थन आफूलाई रहेको राजीव बताउँछन् । त्यसैले उनलाई नेतृत्वको बलियो दावेदार मानिएको छ ।

पूर्वमा देउवा समूहको पकड पश्चिमको तुलनामा कमजोर छ । पूर्वमा कोइराला, पौडेल-सिटौला समूह हावी छन् । त्यसैले पूर्वमा प्रभाव बढाउन इटहरी घर भएका राजीवलाई देउवाले नेविसंघको नेतृत्वमा अघि सार्न सक्ने जानकारहरु बताउँछन् । ‘कोइराला समूहको विरासतमा देउवा समूहको अस्त्र बन्न सक्छन् राजीव,’ कांग्रेसका एक नेताले भने, ‘देउवाले उनलाई अघि सारेमा विजय गच्छदारले पनि नकार्न सक्दैनन् ।’

सरोज थापा

भद्र र शालिन व्यक्तित्वका छन् राजीव । तर आफ्नो प्रदेशको राजनीतिमा सक्रिय भए पनि काठमाडौं उपत्यकासहित अन्य जिल्लाका विद्यार्थी कार्यकर्ताबीच खासै घुलमिल नहुनु उनको कमजोर पक्ष हो ।

सरोज थापाको पनि दाबी

आकांक्षीहरुको सूचीमा सरोज थापा पनि छन् । उनी नेविसंघको गढ मानिने त्रिचन्द्र क्याम्पसको स्ववियु पूर्वसभापति हुँदै नैनसिंह महर नेतृत्वको कार्यसमितिमा महामन्त्री निर्वाचित भएका थिए । उनी निरन्तर क्रियाशील र कार्यकर्ता पंक्तिमा परिचित अनुहार हुन् ।

तर, अर्का महामन्त्री कुन्दन काफ्लेले विरोधी खेमाबाट नेविसंघमा सशक्त भूमिका खेल्दा थापा भने तुलनात्मक कमजोर देखिए । पछि उनले अध्यक्ष महरको कार्यशैलीमा असन्तुष्टि जनाउँदै पदबाट राजिनामासमेत दिए ।

महाधिवेशन गराउन अध्यक्ष महर असक्षम भन्दै राजीनामा दिएकाले सोही कार्यसमितिको महामन्त्री पदमा रहेका थापालाई अहिले नेतृत्वमा दाबी गर्न नसुहाउने उनका विरोधीहरु बताउँछन् ।

सिटौला पक्षले भने नेविसंघ तदर्थ समितिको नेतृत्वमा दाबी गरेको छैन । किनभने उनीहरुलाई थाहा छ, नेतृत्वमा देउवा पक्षको बाहेक अर्को व्यक्ति आउँदैन । त्यसैले सिटौला पक्ष निकट मानिने नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी भन्छन्, ‘तदर्थ समितिमा हाम्रो दाबी छैन ।’

क-कसले गरे नेतृत्व हस्तान्तरण ?

२०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला नेविसंघको स्थापना भएको थियो । विपिन कोइराला नेविसंघको पहिलो अध्यक्ष बने ।

२०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछिका अध्यक्षले समयमा अधिवेशन गर्न सकेका छैनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट अध्यक्ष जिते पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न भने सकेनन् ।

नेविसंघको ४९ वर्षे इतिहासमा हालसम्म जम्मा १८ जनाले नेतृत्व सम्हाल्ने मौका पाए । नेविसंघका पूर्वकेन्द्रीय सदस्य लीलाबल्लभ दाहाल -काका) निर्वाचित केन्द्रीय समिति र नेतृत्वको असक्षमताले यस्तो बिडम्बनापूर्ण अवस्था आएको बताउँछन् । उनले भने, ‘तत्काल तदर्थ समिति गठन गरी नेविसंघमा प्राण भर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment