Comments Add Comment

काठमाडौंका जनप्रतिनिधि योजना माग्दै घरदैलोमा

८ वैशाख, काठमाडौँ । नेताहरु चुनावको बेलामात्र घरदैलो गर्छन् भन्ने जनगुनासो सम्बोधन गर्न काठमाडौँ क्षेत्र नम्बर ९ का जनप्रतिनिधिले आफ्नो क्षेत्रका जनताको घरदैलोमै पुगेर गुनासो सुनुवाई थालेका छन् ।

‘जनतासँग जनप्रतिनिधिको साक्षात्कार कार्यक्रमसहित ‘योजना संकलन अभियान’मा जुटेका छन् । ‘हामी दिनहुँ जनतासँगै हुन्छौँ । तर, व्यवस्थित योजना नभएकाले जनता र जनप्रतिनिधि दुबै अलमलमा परेका छौँ,’काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले भने ‘जनतासँग छलफल गरेर विकासका योजना बनाउँन हामी जनताको घर–दैलोमा पुगेका हौं ।’

श्रेष्ठले तीनै तहका सरकारले गर्ने काम एक–आपसमा नबाझिउन् र तीनओटै सरकारले गर्ने कामको प्रभावकारिता देखियोस भनेर यस्तो अभियान सञ्चालन गरेको बताए ।

क्षेत्र नम्बर ९ कै प्रदेश सांसद डा. अजय क्रान्ति शाक्यले पनि यो अभियान सुरुवात मात्र भएको भन्दै यसले सिंहदरबारको अधिकार जनताको घर–घरसम्म भन्ने नारालाई सार्थक बनाउन सहयोग पुग्ने बताए ।

शाक्यले यो अभियानसँगै योजना बैङ्क बनाएर अघि बढ्ने जानकारी दिए । ‘योजना बैङ्क बनाएपछि योजनाको प्राथमिकता हेरेर हामी कामलाई अघि बढाउँछौँ,’उनले भने ।

संघीय सांसद, श्रेष्ठ र प्रदेश सांसद शाक्यसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि यो अभियानमा भेटिए । अभियानको सुरुवात काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ बाट सुरु गरेको मेयर शाक्यले जानकारी दिए ।

वैशाख ३ गतेदेखि सुरु यो अभियानमा संघीय सांसद श्रेष्ठ, प्रदेश सांसद शाक्य, मेयर शाक्य र सम्बन्धित वडाका वडाध्यक्षहरु र सदस्यहरु सहभागी हुने गरेका छन् । पहिलो चरणमा महानगरपालिकाका २२,२१ र १२ र १४ मा दैनिक साँझ र विहान यो अभियान सञ्चालन हुने शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment