Comments Add Comment

जेठा जिम्न्यास्टिक खेलाडीको दुःख : रिक्सा नचलाए चुलो बल्दैन !

८ वैशाख, नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्न्यास्टिकमा सहभागी सबैभन्दा जेठा खेलाडी हुन् इस्लाम अली ।

मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैगर्दा उनलाई कतिबेला खेल सकेर रिक्सा चलाउन जाने भन्ने हतारो हुन्छ । किनकी रिक्सा नकुदाए घरमा चुल्हो बल्दैन ।

प्रदेश ५ को प्रतिनिधित्व गरेका ३३ वर्षीय अलीले पदक त जित्न सकेनन् । तर, उनको १५ वर्षे खेल करिअर र जिम्यास्टिक खेल प्रतिको लगावले जोकसैलाई प्रभावित तुल्याउँछ ।

त्यो भन्दा बढि प्रभावित तुल्याउँछ उनको संघर्षले । बाँकेको नेपालगञ्जस्थित जुडो हलमा उनी आफ्नै रिक्सा लिएर प्रतिस्पर्धा गर्न पुग्छन् । रिक्सा थपक्क राख्यो, खेल खेल्यो । खेल सकिएपछि फेरि यात्रु ओसार्न निस्कियो । आजभोलि इस्लाम अलीको दिनचर्या यसरी नै बित्ने गरेको छ ।

आइतबार बिहान प्रतिस्पर्धा गर्दैगर्दा अलीले हतािरँदै भने, ‘अब रिक्सा चलाउनु जानुछ । ४–५ घण्टा रिक्सा नचलाए घरमा भात पक्दैन ।’

अलीले जिम्न्यास्टिक खेल्न थालेको १५ वर्ष भयो । उनले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै राष्ट्रिय स्तरका खेल खेल्न थालेका हुन् ।

तर खेलकुदले उनको पेट पाल्ने स्थिति भएन । खेलकुदको भोकले पेटको भोक शान्त पार्न सकेन । उनी भन्छन्, ‘परिवार पाल्न निकै कठिन भए पनि मैले खेल खेल्न भने छोडेको छैन । मेरो सानैदेखिको रुची हो । आफ्नो खेललाई निरन्तर अघि लान्छु ।’

उनले आफ्नै रिक्सा किनेर चलाउन थालेको चार वर्ष पुगेछ । यसैलाई मुख्य पेशा बनाएका छन् ।

दिनभरी रिक्सा, बेलुका ट्रेनिङ

अली दिनभर रिक्सा चलाउँछन् । तर दैनिक ट्रेनिङ पनि गर्न भ्याउँछन् । भन्छन्, ‘म बिहान ८–९ बजे नै रिक्सा लिएर निस्किन्छु । साँझ चारदेखि ६ बजेसम्म रिक्सा थन्क्याएर ट्रेनिङ गर्छु । पुनः राति ८–९ बजेसम्म रिक्सा नै कुदाउछु । शरीर पूरै थाकेको हुन्छ । ।’

उनले रिक्सा कुदाएर दैनिक ७÷८ सयसम्म कमाउने गरेको गरेका छन् । परिवारमा आमा, बाबा, श्रीमती, भाइ, दिदीबहिनी, र चार छोराछोरी छन् ।

‘अभ्यास त मेरो राम्रो छ । तर गर्ने के ? खेल सामग्री नै हुँदैन । यो आठौं राष्ट्रिय खेलकुद भएर पो यतिका खेल सामग्री देख्न पाहिएको छ, नत्र त उही ताल हो,’ उनी थप्छन्, ‘हामीसँग म्याट पनि हुँदैन । सधैं भुँईमै अभ्यास गर्ने हो । जमिन र म्याटमा अलिक फरक हुँदोरहेछ ।’

१५ वर्षे खेल जीवनमा उनले न कुनै सेवा सुविधा पाए न आर्थिक सहयोग नै । उनले पाउने भनेको आठौं राष्ट्रिय प्रतियोगितामा दैनिक भत्ता बापत १४ सय रुयैयाँ मात्रै हो । जिम्यास्टिकको अन्य कुनै राष्ट्रिय प्रतियोगिता नहुँदा उनी मात्रै हैन अन्य खेलाडी पनि निराश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment