Comments Add Comment

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सार्वजनिक मुद्दा

८ वैशाख, बुटवल । बुटवलको जितगढीमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कलो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ ।

उनीमाथि फौजदारी संहिता अन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले बताए ।

प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गरेकाले आइन्दा यस्तो नगरोस् भन्ने उद्देश्यले सार्वजनिक मुद्दा चलाइएको डीएसपी मल्लले बताए । शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएका थिए ।

मञ्चबाट सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अर्घाखाँची घर भएका घिमिरे केही वर्षदेखि बुटवल ११ मजुवामा बस्दै आएका छन् । ३० वर्षिय घिमिरे गत संसदीय चुनावमा नेकपा महासचिव विष्णु पौडेलले जितेको क्षेत्र रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए । उनी विगतमा अखिल क्रान्तिकारीमा आवद्ध थिए ।

हाल भने स्वतन्त्र भएको बताएका छन् । आफूलाई कालो झण्डा देखाएपछि प्रधानमन्त्री ओलीले कसैले अह्राएर आएको होला बिचरा भनी टिप्पणी गरेका थिए । तर घिमिरेले भने आफ्नो स्वविवेकले कालो झण्डा देखाएको प्रहरीलाई बताएका छन् ।

घिमिरेलाई सार्वजनिक मुद्दा चलाइएकोप्रति सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । नेपाली कांग्रेस निकट युवा मुक्तिप्रसाद पौडेलले घिमिरेलाई मुद्दा चलाइएकोमा निन्दा गर्दै प्रधानमन्त्री ओली बुटवलमा आउंदा आफूले पनि कालो झण्डा देखाएर गिरफ्तारी दिने घोषणा गरेका छन् ।

लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोधस्वरुप कालो झण्डा देखाउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै युवा नेता पौडेलले प्रधानमन्त्री ओलीले विकासका नाममा समाजमा राजनीतिकरण गरेको उल्ल्ेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment