Comments Add Comment

नेकपाको सात दशकः ४ सिटदेखि दुई तिहाइसम्म, प्रतिवन्धदेखि पुनः प्रतिवन्धसम्म

९ वैशाख, काठमाडौं । विश्वभरका कम्युनिस्टहरुले २२ अप्रिललाई लेनिन दिवसका रुपमा मनाइरहेका बेला नेपालका कम्युनिस्टले भने पार्टी स्थापना दिवसका रुपमा समेत मनाउँदैछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७० औं स्थापना दिवस विशेष रुपमा मनाउँदैछ ।

आजभन्दा ७० वर्षअघि २२ अपि्रल सन् १९४९ अर्थात विक्रम संवत २००६ साल वैशाखमा भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसबेला नेपालमा राणा शासन रहेकाले केही सीमित युवाले भारतमा पार्टी स्थापना गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल थिए भने सदस्यहरुमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलाश जोशी थिए । यद्यपी मोतिदेवी श्रेष्ठलाई पनि नेकपाको संस्थापक सदस्य मानिदै आएको छ । तत्कालीन नेकपा एमालेले मोतिदेवीलाई संस्थापक मान्दै उनको नाममा स्मृति प्रतिष्ठान समेत बनाएको थियो ।

पुष्पलालकै अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र १५ सेप्टेम्बर १९४९ मा जारी भएको थियो । कम्युनिस्ट पार्टी स्थापनालगत्तै यसले राणा शासन विरोधी २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएको थियो । त्यतिबेलासम्म मनमोहन अधिकारी, विष्णुवहादुर मानन्धरहरु पनि कम्युनिस्ट क्रान्तिमा सहभागी भइसकेका थिए ।

कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनले २०१० सालमा मनमोहन अधिकारीलाई महासचिव निर्वाचित गरेको थियो । त्यसको केही समयपछि तत्कालीन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको थियो । नेकपाले शान्तिपूर्ण तरिकाले समाजवाद स्थापना गर्ने र राजाको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आफ्नो समाजवादी सिद्धान्तको प्रचार गर्ने प्रतिवद्धता जनाएपछि २०१३ सालमा प्रतिवन्ध हटाइएको थियो ।

प्रतिवन्ध हटाइएको दुई वर्ष नपुग्दै मुलुकमा सम्पन्न भएको पहिलो आम निर्वाचन २०१५ सालमा भाग लिएको नेकपाले देशभरमा जम्मा ४ सिट जितेको थियो । जबकी सो चुनावमा नेपाली कांग्रेस एक्लैले ७४ सिट जितेर दुई तिहाइ बहुमतको सरकार बनाएको थियो । कांग्रेसको २ तिहाइ बहुमतको सरकारलाई २ वर्ष टिक्न नदिई राजा महेन्द्रले सैनिक ‘कू’ गरेपछि अन्य दलसँगै नेकपा पनि प्रतिवन्धित भयो ।

यो पनि पढ्नुहोस सरकारमा कम्युनिष्ट, वाम कार्यदल भन्छ : सत्तामा दलाल पुँजीपति !

केशरजंग रायमाझी समूहले दरवारको कदमको समर्थन गरेपछि नेपालमा कम्युनिस्ट पार्टीको बिभाजनको औपचारिक शुरुवात भएको थियो । तत्कालीन नेताहरु पुष्पलाल, मनमोहन, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, विष्णुबहादुर मानन्धर लगायतले राजाको कदमको विरोध गर्दै पार्टी पुनर्गठन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको औपचारिक रुपमा पुनः विभाजन भने २०२५ सालमा शुरु भएको थियो । कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भएका बेला २०२८ सालमा झापाली क्रान्तिकारीहरुले सामन्त विरुद्ध थालेको सशस्त्र विद्रोह केही वर्षमै बिभिन्न धार हुँदै नेकपा माले बनेको थियो । सीपी मैनाली, केपी ओली लगायतका नेताहरुले थालेको सो क्रान्तिमा धेरै नेता मिसिने क्रममा २०३५ सालमा माले बनेको थियो ।

अर्कोतिर मोहनविक्रम सिंहको नेतृत्वमा प्रचण्डहरु मिसिएर चौम बन्यो भने पुष्पलाल मनमोहनहरुको मार्क्सवादी पार्टी बन्यो । २०४६ सालमा तत्कालीन नेकपा माले र मार्क्सवादी सहितका कम्युनिस्ट घटक मिलेर वाममोर्चा बनाई पञ्चायतविरुद्ध कांग्रेससँग मिलेर जनआन्दोलन गरेका थिए । मसाल र चौमले भने वाममोर्चा बाहिरै रहेर आन्दोलन गरेका थिए ।

२०४७ मा तत्कालीन माले र मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्यो । मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनेर अघि बढेको नेकपा एमालेले दोस्रो संसदीय निर्वाचनमा ६९ सिटसहित सशक्त प्रमुख प्रतिपक्षी दल बन्न सफल भयो भने तत्कालीन माओवादी (एकताकेन्द्र) आबद्ध संयुक्त जनमोर्चा ९ सिटसहित संसदमा तेस्रो ठूलो दल बन्यो ।

२०५१ सालमा माओवादी र एकताकेन्द्र बिभाजन भएपछि जनमोर्चा संसदीय चुनावमा एक सिट पनि जित्न नसकी पराजित भयो भने नेकपा एमाले ८८ सिटसहित संसदको सबैभन्दा ठूलो दल बनेर ९ महिना सरकार चलायो । त्यही नौ महिने सरकारको पालामा आफ्नो गाउँ आफैं बनाउँ, बृद्धभत्ता लगायतका कार्यक्रम ल्याएर एमाले जनतामा स्थापितमात्र भएन अहिले पनि नेकपाले गर्व गर्ने कार्यक्रम तीनै मानिन्छन् ।

फुटेको माओवादीले २०५१ फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध थाल्यो भने चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले २०५४ सालमा बामदेव गौतमको नेतृत्वमा बिभाजित भयो । यसबीचमा नेपालमा करिब दुई दर्जन साना ठूला कम्युनिस्ट पार्टीहरु अस्तित्वमा आएका थिए । नेकपा मसाल, नेपाल मजदूर किसान पार्टी र नेकपा संयुक्तले संसदमा केही सिटका साथ प्रतिनिधित्व जनाएका थिए ।

माओवादी जनयुद्धको प्रभाव देशभर बिस्तार भई राज्यलाई चुनौति बढेर संकटकाल लागु भएका बेला २०५८ सालमा नेकपा एमाले र माले पुनः एकीकरण भएका थिए । तर तत्कालीन मालेका धेरै युवा नेता कार्यकर्ता माओवादी जनयुद्धमा समाहित भएका थिए । बिभिन्न आरोह अवरोहका बीच २०६२/६३ को जनआन्दोलनमा तत्कालीन एमाले र माओवादीबीच सहकार्य भयो ।

दश वर्षे जनयुद्धको शान्तिपूर्ण अवतरणपछि तत्कालीन नेकपा माओवादी २०६४ सालको पहिलो संविधासनभा निर्वाचनमा आइपुग्दा सबैभन्दा ठूलो दल बन्न सफल भयो भने एमाले तेस्रो बन्न पुग्यो । यसबीचमा तत्कालीन एकताकेन्द्र र माओवादीबीच एकीकरण भयो । सानातिना कम्यृुनिस्ट घटक र व्यक्तिहरु एमाले र माओवादीतिर धु्रविकृत हुने क्रम चलिरहेका बेला २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पराजित भएर तेस्रो स्थानमा पुग्यो ।

यो पनि पढ्नुहोस नेपालका कम्युनिष्टको नालीबेली

बिभिन्न अभ्यासहरु गरेका कम्युनिस्ट पार्टीहरुले देशमा स्थिर सरकार र जनताको चाहना पूरा गर्न दुई ठूला घटक एमाले र माओवादी मिल्नैपर्ने महसुस गरी २०७४ असोजमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ७ बुँदे सम्झौतासहित चुनावमा गठबन्धन र त्यसपछि पार्टी एकताको सम्झौता भयो । सोही सम्झौताको जगमा टेकेर चुनावमा गएको वाम गठबन्धनले करिब दुई तिहाई बहुमतसमेत प्राप्त गर्‍यो ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भएको थियो । ७० वर्षपछि नेपालमा ९० प्रतिशत कम्युनिस्ट कार्यकर्ताहरु पुनः नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमुनि एकीकृत भए । अझै पनि नेपाल मजदुर किसान पार्टी, नेकपा मसाल, नेकपा माले, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा लगायतका सानातिना कम्युनिस्ट घटकहरु एकीकृत कम्युनिस्ट आन्दोलनबाट बाहिरै छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले साना समूहमा छरिएर होइन, एकीकृत पार्टीमा सामेल भएर समाजवादको आकांक्षा पूरा गर्ने अभियानमा अघि बढ्न आह्वान गरेका छन् । पछिल्लो समय नेकपाकै सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । नेकपाले आजै स्थापना दिवसकै अवसरमा पार्टी एकीकरणका बाँकी निर्णय सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment