काठमाडौं । सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । विगतमा ठेकेदारमार्फत् संकलन हुँदै आएको थियो ।
तर कतिपय ठेकेदारले रकम जम्मा नगरेपछि आफैंले दस्तुर संकलन थालेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।
सडक दस्तुर विद्युतीय भुक्तानी प्रणाली (क्युआर कोड) मार्फत् सिधै बोर्डको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको केसीले बताए ।
कोभिड महामारीपछि रोकिएको सडक दस्तुर संकलनको काम भैरहवा–भूमही सडकखण्डबाट पुन: सुरु गरिएको छ । केहीदिनमै नारायणगढ–मुग्लिन, वीरगञ्ज–पथलैया र धरान–विराटनगर सडकखण्डमा पनि सुरु हुने गर्ने तयारी छ ।
पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्ड, अरनिको राजमार्गको धुलिखेल–तातोपानी खण्ड, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया र अत्तरिया–गड्डाचौकी खण्डमा पनि दस्तुर संकलन गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
पहिला ठेकेदारलाई दस्तुर संकलन गर्न दिँदा आफूखुसी रकम उठाउने गरेको र यातायात व्यवसायीलाई दु:ख दिने गरेको गुनासो थियो । त्यसैले विद्युतीय टोल गेट बनाएर आफैंले दस्तुर संकलन थालिएको बोर्डका कार्यकारी निर्देशक केसीले बताए ।
गाडी भाडा पनि बढाउन यातायात व्यवसायीको माग
यातायात व्यवसायीहरुले भने सडक दस्तुर तिर्नुपरेपछि भाडा पनि बढाउनुपर्ने माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दस्तुर रकम तिर्नुपरेपछि गाडी भाडा पनि बढाउनुपर्ने बताए ।
शर्तसहित सडक दस्तुर तिर्न तयार भएको बताउँदै स्वाँरले भने, ‘सडक दस्तुर भाडादरमा समायोजन गर्नुपर्छ नत्र खर्च उठ्दैन ।’
सडक बोर्डका अधिकारीहरु भने सडक दस्तुरमार्फत् सडकमर्मत सम्भार गर्दा खाल्डाखुल्डी नहुने भन्दै यातायात व्यवसायीलाई मार नपर्ने बताउँछन् ।
कुन खण्डमा कति लाग्छ दस्तुर ?
सरकारी सवारी साधनबाहेक सार्वजनिक र निजी सवारी साधनहरुबाट दस्तुर संकलन गरिने छ ।
नारायणगढ–मुग्लिङ खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टलाई ५५ रुपैयाँ तोकिएको छ । कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई २५ रुपैयाँ दस्तुर तोकिएको छ । तीनपांग्रे सवारीसाधन र मोटरसाइकललाई दस्तुर नि:शुल्क गरिएको छ ।
भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टको ३० रुपैयाँ तोकिएको छ । कार, जिप, पिकअप भ्यान र ट्याक्टरको २० रुपैयाँ तथा तीनपांग्रे तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।
त्यसैगरी वीरगञ्ज–पथलैया खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टलाई ५० रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई २० रुपैयाँ तोकिएको छ । तीनपांग्रे र मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यसैगरी धरान–विराटनगर खण्डमा बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मेसिनरी इक्विपमेन्टलाई ७५ रुपैयाँ दस्तुर तोकिएको छ । कार, जिप, पिकअप भ्यान र ट्याक्टरलाई २५ रुपैयाँ तोकिएको छ । तीनपांग्रे र मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ ।
नागढुंगा सुरुङमार्ग प्रयोगकर्तालाई कति लाग्छ दस्तुर ?

नागढुंगा सुरुङमार्ग भएर काठमाडौं प्रवेश गर्ने प्रत्येक कार र भ्यानलाई ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।
काठमाडौं प्रवेश गर्ने मिनिबस र मिनीट्रकलाई ११५ रुपैयाँ र फर्कंदा ८० रुपैयाँ दस्तुर तोकिएको छ ।
बस तथा ट्रकले काठमाडौं छिर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
अन्य भारी सवारी साधनहरुलाई भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।
संकलित रकम सम्बन्धित सडक मर्मतसम्भारमा खर्च हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4