Comments Add Comment

ऐश्वर्य र अभिषेकः दाम्पत्य सुखको रहस्य

बलिउडका लोभलाग्दो जोडी हुन्, ऐश्वर्य राय र अभिषेक बच्चन । उनीहरुले विवाह गरेको १२ बर्ष पुरा भयो । यतिबेला  ऐश-अभि एक छोरीका मातापिता पनि बनिसकेका छन् । छोरीको नाम, आरध्य ।

त्यसो त ऐश्वर्यको प्रेम जीवनबारे बलिउडमा अनेक किस्सा छन् । अभिनेता सलमान खानसँगको उनको रोमान्सको प्रसंग अझैपनि बेलाबखत आलो बन्छ । सलमानको प्रेमकथा खुलाउँदा होस् वा सलमान-विवेक ओवराय टक्करको प्रसंग आउँदा, बिचमा ऐश्वर्य जोडिन्छन् नै ।

विश्व सुन्दरीको ताज जितिसकेकी ऐश्वर्यको सौन्दर्यको बखान सर्वत्र हुनेगर्छ । उनको आकर्षणले यसैपनि जो-कोहिलाई मोहित बनाउँछ । अभिषेक बच्चन किन अपवाद हुन्थे ।

हुन त अभिषेकले ऐश्वर्यलाई दुलही बनाउनुअघि उनको अन्य प्रेम-प्रसंगले पनि बेलाबखत माहौल तताउने गथ्र्यो । अभिषेकले ऐश्वर्यअघि केही अभिनेत्रीसँगै रोमान्स गरे । करिष्मा कपूरसँग त उनको विवाह हुने पक्कापक्की नै भइसकेको थियो । इंगेजमेन्ट भइसकेको अवस्थामा पुगेका दुवै पछि अलग भए ।

अर्थात ऐश्वर्य र अभिषेक दुबैको विगत करिब मिल्दो छ । दुबैले प्रेम-जीवनमा निकै उतारचढाव भोगिसकेका छन् ।

ठ्याक्कै १२ बर्षअघि ऐश्वर्य र अभिषेक एक भए । उनीहरुले आफ्नो छुटै पारिवारिक संसारको रचना गरे । अहिले उनीहरु त्यही संसारमा रमाइरहेका छन् ।

यसैबीच उनीहरुले आफ्नो विवाहको १२ औं बर्षगाँठ मनाएका छन् । अभिषेकले पत्नी ऐश्वर्यलाई विशेष रुपले सुखद दाम्पत्यको खुसी साटेका छन् । ऐश्वर्यको फोटो इन्स्टामा शेयर गर्दै अभिषेकले लेखेका छन्, ‘हनी और मुन ।’

फोटोमा ऐश्वर्यले नीलो रंगको पहिरनमा मुनलाइटमा बसिरहेको देखिन्छ । यसैगरी ऐश्वर्यले पनि एक सुन्दर फोटो शेयर गर्दै रोमाञ्चक क्याप्सन लेखेकी छिन् । क्याप्सनमा उनले छोरी आराध्यलाई पनि जोडेकी छिन् । यतिबेला दुबै माल्दिभ्समा छन्, दाम्पत्य सुख मनाउनका लागि ।

दाम्पत्य सुखको राज

विवाहको सुरुवाती दिनमा उनीहरुबीच खटपट आएको खबर बाहिर आएको थियो । त्यसैगरी ऐश्वर्य र सासु जया बच्चनबीच पनि मनमुटाव हुने गरेको चर्चा चल्थ्यो । यद्यपी आजका दिनसम्म ऐश्वर्य र अभिषेकबीच उत्तिकै प्रेमिल सम्बन्ध छ ।

उनीहरु एकअर्कालाई प्रेम त गर्ने नै भए, सहयोग पनि । दुबैले आ-आफ्नो करियरका लागि एकअर्कालाई सहयोग गर्दै आएका छन् । प्रेम, समझदारी र सहयोगको भावनाले नै उनीहरुको दाम्पत्य जीवनमा माधूर्य छाएको छ ।

केही समयअघि अभिषेक बच्चन आफ्नी बहिनी श्वेता बच्चनसँग कफि विथ करणको टक शोमा पाहुना बनेका थिए । त्यही बखत उनले ऐश्वर्यको बारेमा एक प्रसंग सुनाएका थिए, जो उनलाई एकदम रुचीकर लाग्थ्यो । शोका क्रममा करणले उनलाई सोधेका थिए कि, ‘ऐश्वर्यको कुन बानी मनपर्छ ?’

जवाफमा अभिषेकले भनेका थिए, ‘मलाई यो कुरा मनपर्छ कि ऐश्वर्य पनि मलाई प्रेम गर्छिन् ।’

ऐश्वर्य र अभिषेकको भेट

ऐश्वर्य र अभिषेकको पहिलो भेट सन् २००० मा भएको थियो, फिल्म ‘ढाई अक्षर प्रेम के’ सेटमा । त्यसबेला ऐश्वर्य सलमान खानसँग डेट गरिरहेकी थिइन् । यता अभिषेक र करिष्मा कपूरको लभ अफेयर चलिरहेको थियो । केही कारणले करिष्मासँग अभिषेकको सम्बन्ध टुट्यो । यता ऐश्वर्य र सलमानको पनि सम्बन्ध दीगो रहेन ।

ऐश्वर्यले सन् २००५ मा अभिषेकसँग फिल्म ‘बन्टी और बबली’को सेटमा ‘कजरारे’ डान्स गरे । यो गीत एकदम हिट भयो । त्यसपछि नै दुबै एकसाथ फिल्ममा देखापरेका । दुबैले लगातार तीन वटा फिल्ममा अभियनय गरे ।

सन् २००६ मा उनीहरुको मित्रता अरु झांगियो । ऐश्वर्यको मुश्कान र स्वभावले अभिषेक पग्लिए । पछि ‘गुरु’ फिल्मको प्रीमियरका लागि टोरन्टो पुगेका बखत अभिषेकले ऐश्वर्यलाई खुलेर प्रेम प्रस्ताव राखे । ऐश्वर्यले अभिषेकको प्रस्ताव सहर्ष स्विकार गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment