Comments Add Comment

चेन्नइ ६ विकेटले विजयी, प्लेअफमा पुग्ने पहिलो टिम बन्यो

Photo Credit : IPL

११ बैशाख, काठमाडौं । सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स पुनः आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । यसका साथै महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई १६ अंकसहित प्लेअफमा पुग्ने पहिलो टिम पनि बनेको छ ।

चेन्नईले १७६ रनको लक्ष्य १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा शेन वाटसनले ९६ र सुरेश रैनाले ३८ रन योगदान गरेका थिए । वाटशनले ५३ बलमा नौ चौका र ६ छक्का प्रहार गरे । वाटशनले रैनासँग दोस्रो विकेटका लागि ७७ रन र तेस्रो विकेटका लागि अम्बाती रायडुसँग ८० रनको साझेदारी गरे । रायडु २१ रनमा आउट भए । वाटशन म्यान अफ द म्याच बने ।

हैदरावादको तर्फबाट भुवनेश्वर कुमार, सन्दीप शर्मा र राशिद खानले एक-एक विकेट लिए ।

यसअघि पीएम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा १७५ रनको योगफल तयार पारेको थियो । उसका लागि मनिष पाण्डेले अभिजित ८० रन बनाएका थिए । यसैगरी डेभिड वार्नरले ५७ रन बनाए । उनीहरुबीच दोस्रो विकेटका लागि ११५ रनको साझेदारी भएको थियो ।

पाण्डेले ४९ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए । उनले विजय शंकरसँग तेस्रो विकेटका लागि ४७ रन जोडे । विजय २६ रनमा आउट भए । हैदरावादले अन्तिम पाँच ओभरमा राम्रो ब्याटिङ गर्न सकेन । यस अवधिमा उसले जम्मा ४१ रन मात्र जोड्न सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment