Comments Add Comment

मार्सी धान जोगाउन गाउँपालिकाले डीपीआर बनाउँदै

Photo Credit : फाइल फाेटाे/मार्सी धानको चामल

११ वैशाख, खलङ्गा ।  विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ ।

जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो ।

गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न आधार तयार गर्ने छ । मार्सीसहित पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमूना गाउँपालिका बनाउने योजनाअन्तर्गत डिपिआरको तयारी भइरहेको हो, प्रशासकीय अधिकृत बुढ्थापा स्पष्ट पारे ।

मार्सी धानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयवासीसमेत जुटेका छन् । यसका लागि सिँचाइकुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानले जोड दिएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा जुम्लामा कूल छ हजार ९० हेक्टर क्षेत्रफलमा लगाइएको यो धानवालीबाट दुई हजार ९०० मेट्रिक टन उत्पादन भएको थियो ।

बीमाले उत्साह    

कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् ।

मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती शुरू भएको थियो ।

मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । बीमा कार्यक्रमपछि किसानले यसको खेती गर्न उत्साहित भएका छन् । अहिले जुम्लाका अधिकांश किसानले मार्सी धानको ब्याड राखिसकेका छन् ।

जिल्लामा धानखेतीका लागि बीमा अभियान शुरू गरिएको यो पहिलोपटक हो । जिल्लाका सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धानखेती हुने गरेको छ । किसानकै आग्रहमा मार्सी धानको बीमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहले किसानलाई मार्सीको बीमा गर्दा राम्रो हुने बताए । उनका अनुसार रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ता नभएपछि किसानले ढुक्क भएर मार्सी उत्पादनमा जोड दिनसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment