Comments Add Comment

मुन्धुम ट्रेल पदमार्ग : पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्य

१२ वैशाख, भोजपुर । मध्यपहाडी लोकमार्गमा भर्खरै पहिचान गरिएको मुन्धुम  ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । सँगसँगै स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।

पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले यसै वर्ष मात्रै घोषणा गरेको नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको छ ।

यो नयाँ गन्तव्यको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो । भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिने पर्यटक क्षेत्रका अभियानता एवं केन्द्रका अध्यक्ष रमेशकुमार राई बताउँछन् ।

करिब १ सय किलोमिटर दुरीको यो पदमार्ग पूरा गर्न २ साताजति लाग्ने बताइन्छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको केन्द्रका अध्यक्ष राईले अनलाइनखबरलाई बताए ।

हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुससमेत नहुने गरी हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमश्रृंखला र तराईको भूभाग अवलोकन गर्न सकिने भर्खरै मात्र सो क्षेत्रको फाम ट्रिपमा सहभागी गायक श्याम सामसोङ राईले बताए ।

ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दर्जनाै‌ँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।

सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए । मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा दिक्तेल र भोजपुरबाट हवाइमार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरुलाई आवागमनमा थप सहज बन्ने निश्चित छ ।

यो पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि केन्द्र सरकारले ५० लाख, पर्यटन बोर्डले २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले १० लाख गरी यो वर्ष ८० लाख बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा सो क्षेत्रमा सूचना पार्टी, विभिन्न संकेत चिन्ह राख्नेजस्ता कामहरु शुरु गरिएका छन् । त्यस्तै हाँसपोखरी नागीमा पाहुना घर बन्दैछ ।

यसको अधिकतम प्रचार प्रसारका लागि र पर्यटकहरुलाई आकर्षित गर्न पहाडी उच्च भागमा हुने साहसिक प्रतियोगिता अल्ट्रा म्याराथुन, स्काई रेस, माउण्टेन साइक्लिङ, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्यारा ग्लाइडिङ गर्ने गरी ५ करोड ८५ लाखको बजेट प्रस्तावसँगै गुरुयोजना बनाइएको छ ।

नेपाल टुरिजम बोर्डका सिनियर डाइरेक्टर हिक्मतसिंह ऐेर यस क्षेत्रको पर्यटकीय विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्नलाई स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउँछन् । ‘यहाँ रहेका सानाभन्दा साना कुरालाई कलात्मक कुरालाई पुँजीकृत गर्न सक्नुपर्छ, पर्यटकलाई लोभ्याउने खालका योजनाहरु बनाउन आवश्यक छ,’ उनको भनाइ छ ।

पदमार्गको झण्डै आधा हिस्सा ओगटेको टेम्केमैयुङ गाउँपालिका प्रमुख धु्रवराज राई मुन्धुम ट्रेल पदमार्गको विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको र सबै सरकारी गैरसरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताउँछन् ।

भोजपुरका संघीय सांसद सुदन किरातीले पर्यटकीय क्षेत्रको हामीले सोचेजस्तो आर्थिक सम्वृद्धिको मेरुदण्ड भएकाले जिल्लामा अन्य पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र पहिचान भएका गन्तव्यलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने गरी योजना बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

केही दिनअघि पदमार्ग आसपासका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतको उपस्थितिमा मुन्धुम ट्रेल विकास तथा प्रवद्र्धन सम्मेलन गरिएको थियो । सम्मेलनमा सहभागी अधिकांशले भोजपुरले पाएको यो सम्पत्तिलाई ‘सुनको अण्डा पार्ने कुखुरा’ को रुपमा विकास गर्न सबैजना लाग्ने प्रतिवद्धता जनाएका छन् ।


तस्वीर सौजन्य: श्याम सामसोङ राई र रमेश राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment